कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मुग्लिङ-पोखरा सडक विस्तारका लागि बजार क्षेत्रका भौतिक संरचना भत्काइँदै

सम्झना रसाइली

तनहुँ — गण्डकी प्रदेशको ‘लाइफलाइन’को रूपमा रहेको मुग्लिङ–पोखरा सडक विस्तार कार्यले गति लिन थालेको छ । पूर्वी खण्ड अन्तर्गत सडक सीमाभित्र पर्ने बजार क्षेत्रका भौतिक संरचना भत्काउन थालिएको हो ।

मुग्लिङ-पोखरा सडक विस्तारका लागि बजार क्षेत्रका भौतिक संरचना भत्काइँदै

पृथ्वीराजमार्गको मुग्लिङ–पोखरा सडक खण्डलाई आँबुखैरेनी–जामुने पूर्वी खण्ड र जामुने–पोखरालाई पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरी सडक विस्तार कार्य भइरहेको छ । पूर्वी खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा २०७८ वैशाख २ मा र पश्चिम खण्ड निर्माणको ठेक्का अर्को चिनियाँ कम्पनी यनहुई काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड रुपैयामा २०७८ जेठ ३ मा लिएका हुन् ।

सोही खण्डको डुम्रे क्षेत्रमा २०७९ माघ ४ गते बसेको बैठकको निर्णय अनुसार सडक सीमाभित्र पर्ने भौतिक संरचना भत्काउने कार्य भइरहेको पूर्वी खण्डका इन्जिनियार विष्णु पाण्डेले बताए । उनका अनुसार पछिल्लो समय भौतिक संरचना भत्काउने कामलाई तीव्रता दिइएको छ ।

‘डुम्रे क्षेत्रमा मात्रै १४० वटा भौतिक संरचना भत्काइदै छ’, उनले भने, ‘यसका लागि करिव १४ करोड रुपैयाँको मुआब्जा अनुमान गरिएको छ । जसमध्ये पहिलो किस्ता अन्तरगतर ६० प्रतिशत दिइसकिएको र बाँकी काम सम्पन्न भएपछि दिने सहमति भएको छ ।’

यस्तै, दमौली बजार क्षेत्रमा पनि भत्काउनुपर्ने भौतिक संरचनाको प्रारम्भिक सर्भे भएको इन्जिनियार पाण्डेले बताए । ‘सेन्टर लाइनबाट २३ मिटरको हिसाबले प्रारम्भिक सर्भे गरेका छौं’, उनले भने, ‘तर, सेन्टर लाइनबाट २५ मिटरको हिसावले सर्भे गरी भौतिक संरचना हटाउन पाए भविष्यका लागि सहज हुने थियो । त्यसैले यस कार्यका लागि प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख लगायत सरोकारवाला निकायहरुसँग छलफल भइरहेको छ ।’

सडक विस्तारका क्रममा पूर्वीखण्डमा करिब ५०५ वटा भौतिक संरचना भत्किने अनुमान गरिएको छ । सडक चौडा बनाउने कार्य अन्तर्गत योजनाले दमौली प्रवेश गर्ने बिन्दुमा रहेको सहिदगेट मंगलबार भत्काएको छ । उक्त सहिदगेटको निर्माण नेकपा (माओवादी) केन्द्रले गरेको थियो । सहिदगेटमा तनहुँमा विभिन्न समयमा सहादत प्राप्त गरेका सहिदको विवरण समेटिएका थिए ।

प्रकाशित : जेष्ठ १७, २०८० १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?