भिमसेन थापा गाउँपालिकाका सबै नागरिकको दुर्घटना बिमा

हरिराम उप्रेती

गोरखा — गोरखाको भिमसेन थापा गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको दुर्घटना बिमा गराएको छ । राष्ट्रिय जनगणनाको अन्तिम प्रतिवेदनलाई आधार बनाएर १६ हजार ९ सय ८६ जना  पालिकावासीको दुर्घटना बिमा गरिएको गाउँपालिका अध्यक्ष लोक प्रसाद वञ्जराले बताए ।

भिमसेन थापा गाउँपालिकाका सबै नागरिकको दुर्घटना बिमा

राष्ट्रिय बिमा कम्पनी र गाउँपालिकाको समझदारी अनुसार प्रतिव्यक्ति ५० हजारसम्मको दुर्घटना बिमा गरिएको हो ।

जसअन्तर्गत सबै प्रकारका दुर्घटनाबाट सिर्जित मृत्यु, स्थायी पूर्ण अशक्तता, आंशिक अशक्तता, अङ्गभङ्ग, औषधि उपचार बिमितले पाउने छन् ।

बिमितको नेपालभर दुर्घटनामा परी मृत्यु भए सम्बन्धित परिवारले ५० हजार दाबी भुक्तानी पाउने छन् भने दुर्घटनामा घाइते भएकाहरुले बिमा नीति अनुसार उपचार रकम भुक्तानी दाबी गर्नसक्ने गाउँपालिकाले जनाएको छ ।

सम्झौता अनुसार सामूहिक दुर्घटना बिमालेखमा उल्लेख भए बमोजिमका जोखिमहरुको रक्षावरण गर्ने र बिमालेखमा मूल्य अभिवृद्धि कर नलाग्ने उल्लेख छ ।

सोमबारबाट कार्यान्वयनमा आएको बिमाको अवधि २०८१ जेठ १५सम्म रहने गाउँपालिका अध्यक्ष वञ्जराले जानकारी दिए ।

‘यो कार्यक्रमलाई त्यसपछिका वर्षमा पनि निरन्तरता दिँदै जान्छौँ,’ उनले भने । विपद् व्यवस्थापन कोषमा छुट्टाइएकोमध्ये केही रकम बिमाका लागि खर्च गरिएको पनि उनले बताएका छन् । १२ लाख १६ हजार रकमबाट पालिकावासीको सामूहिक दुर्घटना बिमा गरिएको हो । कार्यविधि बनाएर सबै पालिकावासीको सामूहिक दुर्घटना बिमा गरिएको अध्यक्ष वञ्जराले बताए ।

प्रकाशित : जेष्ठ १६, २०८० १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?