खुल्दैछ रत्न मन्दिरको ढोका


पोखरा — शाहकालीन हिउँदे दरबारका रुपमा परिचित पोखराको रत्न मन्दिर यही गणतन्त्र दिवसबाट सर्वसाधारणका लागि खुला गरिँदै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जेठ १५ बाट रत्न मन्दिर खुला गर्ने निर्णय गरेसँगै नेपाल ट्रस्ट र पोखरा महानगरपालिकाले तयारी थालेका छन् ।


राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नलाई उपहारस्वरुप वि. सं २०१३ मा फेवा ताल किनारमा यो दरबार बनाएका थिए। राजपरिवारले यसलाई पोखरा आउँदा आराम गृहको रुपमा प्रयोग गर्दै आएको थियो । राजा महेन्द्रदेखि वीरेन्द्र र ज्ञानेन्द्रले राजधानीको व्यस्तताबाट उम्किएर मन बहलाउने गन्तव्यको रुपमा रत्न मन्दिरलाई बनाए । ०६२/६३ को जनआन्दोलनपछि भने यो दरबार बेबारिसे बन्दै आएको थियो ।
लोकतन्त्रपछिको अन्तरिम संसद्ले पूर्वराजा वीरेन्द्रका नाममा रहेको सम्पत्ति राष्ट्रियकरण गरी ट्रस्ट बनाउने निर्णय गरे अनुसार ०६४ असोज २१ को मन्त्रिपरिषद्ले सरकार मातहत ल्यायो । त्यतिबेला नेपाल ट्रस्ट रक्षा मन्त्रालयको मातहत थियो । नारायणहिटी दरबार सर्वसाधारणका लागि उहिल्यै खुला भइसक्दा समेत ऐतिहासिक महत्त्वको रत्न मन्दिर, यसको परिसर र हिमागृह पर्यटकीय दृष्टिकोणले सदुपयोग हुन सकेको थिएन ।
पोखराका पर्यटन व्यवसायी, नागरिक समाज, स्थानीयले गणतन्त्र घोषणापछि नै रत्न मन्दिर र हिमा गृह सर्वसाधारणका लागि खोल्नुपर्ने आवाज उठाइरहेका थिए । पोखराका पर्यटन व्यवसायीले यहाँ आउने प्रधानमन्त्री, रक्षामन्त्री, पर्यटन मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्रीदेखि सांसद, महानगर प्रमुख लगायतलाई पटकपटक ज्ञापनपत्र बुझाएर रत्न मन्दिर खुला गर्न माग गर्थे । उनीहरुले पनि आफ्नै कार्यकालमा यी सम्पदा खुला गर्ने प्रतिबद्धता छुटाउँदैन्थे । गण्डकी प्रदेश सरकारले यी सम्पदालाई आफ्नो मातहतमा ल्याउन कसरत गरेको थियो । रत्न मन्दिर र हिमागृह परिसर लगायत नेपाल ट्रस्टको स्वामित्वमा पोखरामा रहेका भवन तथा जग्गा संरक्षण तथा सञ्चालन सम्बन्धी अवधारणासहितको अध्ययन प्रतिवेदन प्रदेश सरकारले ०७६ मा तयार गरेको थियो । रत्न मन्दिर व्यवसायिक प्रयोजनमा भाडामा लगाउने प्रस्ताव आएपछि भने नागरिक समाजले विरोध जनायो ।
नेपाल ट्रस्ट रक्षाबाट पर्यटन मन्त्रालयमातहत आएपछि रत्न मन्दिर खोल्ने बाटो केही सहज भयो । हालका पर्यटन मन्त्री सुदन किरातीले गत वैशाखमा पोखरा आउँदा रत्न मन्दिरको भ्रमण गरी यसलाई गणतन्त्र दिवसबाट खुला गर्ने घोषणा गरेका थिए । पोखरा महानगरपालिका समेतको सहयोगमा हाल रत्न मन्दिरमा मर्मतसम्भार, रंगरोगनको कार्य चलिरहेको छ । नेपाल ट्रस्टले सर्वसाधारणका लागि खुला गर्न सञ्चालन कार्यविधि बनाएको छ ।
जसअन्तर्गत नेपाली पर्यटकले प्रवेश शुल्क वापत एक सय, सार्क मुलुकका पर्यटकले २ सय र अन्य विदेशी पर्यटकले ५ सय रुपैयाँ बुझाउनुपर्ने छ । विद्यार्थी र अपांगता भएका व्यक्ति ५० प्रतिशत छुटमा प्रवेश गर्न पाउने छन् । नेपाल ट्रस्टकै कर्मचारीको व्यवस्थापनमा रत्न मन्दिर सञ्चालन हुने छ ।
ट्रस्टकी बोर्ड सदस्य याङ्जोम शेर्पाले लामो समयदेखि रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने तयारी भए पनि सरकार फेरबदल भइरहँदा प्रयासले मूर्तरुप नपाउने गरेको सुनाइन् । ‘पोखरावासीको पटकपटकको अनुरोध र पर्यटन मन्त्रीको चासोले पनि अहिले खुल्न सम्भव हुँदै छ,’ उनले भनिन्, ‘अहिले ढोका खोलौं, विस्तारै व्यवस्थित बनाउँदै लैजाने योजनामा छौं ।’
फेवा तालतिर फर्किएको रत्न मन्दिर परिसर ४ खण्डमा १ सय ७६ रोपनीमा फैलिएको छ । मुल गेट र प्रवेश खण्ड, रत्न मन्दिर र बगैंचा चौर सहितको मुख्य खण्ड, हेलिप्याड, भेटघाट टहरो र एडीसी भवनसहितको फराकिलो चौर खण्ड, नेपाली सेनाको ब्यारेक सहितको जंगल र सिमसार खण्ड रहेका छन् । हाल यही चार खण्ड सर्वसाधारणका लागि खुला हुनेछ । रत्न मन्दिरको मुख्य दरबारभित्र भने प्रवेश खुला गरिने छैन ।
राजतन्त्रको अन्त्यसँगै सुरुमा यसलाई नेपाली सेनाको पृतना बनाउने योजना अघि सारिएको थियो । अतिथि गृह, निजी क्षेत्रलाई भाडामा दिने, जैविक विविधता पार्क, ताल संग्रहालय, पर्यटक सूचना केन्द्र बनाउनेदेखि विदेशी संस्थालाई भाडामा दिने, अन्तर्राष्ट्रिय अध्ययन केन्द्र बनाउनेसम्मका पहल पनि भए । पाँचतारे होटल, अर्गानिक गार्डेन, क्लब र टुरिस्ट मार्केटलगायतका विकल्प पनि अघि सारियो । तर, सबै व्यापारिक प्रकृतिका भएकाले स्थानीयले विरोध गरे । वन मन्त्रालयले जर्मनीको नेचुरल हिस्ट्री म्युजियमसँग मिलेर ‘इन्टरनेसनल सेन्टर फर हिमालयन बायोडाइभर्सिटी सेन्टर’ खोल्ने योजना पनि अघि सारेको थियो ।
रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन् । पुरानै अवस्थामा रहेको यसको सरसफाइलगायत रेखदेखमा १३ कर्मचारी खटिएका छन् । प्रशासनिक भवन, फेवातालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवन पनि छ । बंगला शैलीको रत्न मन्दिरमा बेतका खाटलगायत घरायसी र सजावटका सामान छन् । राजा महेन्द्रले भारतबाट ल्याएका पलङलगायत बेतबाट बनाइएका फर्निचरहरू अहिले पनि त्यहीँ छन् ।
उतिबेला पोखरामा होटल थिएनन् । दरबारले विदेशी पाहुनासमेत यहीँ राख्थ्यो । तालघरमा तत्कालीन राजाहरूले विदेशी पाहुनासँग भेट गर्थे । नेपालका लागि विभिन्न देशका राजदूतहरूले ओहोदाको प्रमाणपत्र चढाउने कार्यक्रम पनि यहीँ हुन्थ्यो । बेलायती महारानी, चीनका राष्ट्रपतिलगायत बसेको रत्न मन्दिरमा बस्ने नेपालका एक मात्र प्रधानमन्त्रीचाहिँ बीपी कोइराला थिए । उनी राजा महेन्द्रको पालामा विशिष्ट पाहुना बनेर यहाँ आएका थिए । यसबारे बीपीले आफ्नो आत्मवृत्तान्तमा पनि लेखेका छन् ।
राजा महेन्द्र भ्रमण क्रममा पोखरा आएका बेला ताल किनारमा बसेपछि ठाउँ मन परेर यहाँ रत्न मन्दिर बनाएका थिए । स्थानीयसँग जग्गा किनेर विसं ०१३ मा निर्माण सुरु भएर ०१५ मा रत्न मन्दिरको निर्माण सम्पन भएको हो । ०५८ मा राजा वीरेन्द्रको वंशनाश भएपछि यो दरबारमा चहलपहल कम हुँदै गयो । दरबार हत्याकाण्डको रात तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र यहीँ बसेका थिए । राजा भएपछि केही समय यहाँ बसेका उनी दोस्रो जनआन्दोलन ०६२/०६३ का बेला पनि तीन महिना पहिलेदेखि यहीँ बसेका थिए । १९ माघ ०६१ को कदमपछि उनले राजा वीरेन्द्र र दरबारका नाममा रहेका अधिकांश दरबार, सम्पत्ति आफ्नो नाममा हक सारेका थिए । तर, रत्न मन्दिर भने वीरेन्द्रकै नाममा रहेकाले नेपाल सरकारको स्वामित्वमा आउन सकेको हो ।
रत्न मन्दिरभन्दा ५ सय मिटर पूर्वमा छ, हिमा गृह । यो पनि नेपाल ट्रस्टको स्वामित्वमा छ । राजा महेन्द्रका माइला भाइ हिमालय वीरविक्रमका नाममा हिमा गृह बनेको थियो । ०३८ पुस ९ मा अधिराजकुमार हिमालयले पत्नी प्रिन्सेप शाहलाई उक्त घर उपहार दिएका थिए । ०४६ कात्तिक १० मा प्रिन्सेपबाट राजा वीरेन्द्रका नाममा हक कायम गरिएको थियो । फेवाताल किनारमै अवस्थित हिमा गृहको क्षेत्रफल १० रोपनी ४ आना छ । हिमा गृहलाई भने हाल खुला गरिएको छैन ।
रत्न मन्दिर पोखराकै सम्पत्ति भएकोले यसको संरक्षणमा महानगरको चासो रहेको महानगर प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार अहिले प्रारम्भिक रुपमा तत्कालीन राजपरिवारले प्रयोग गरेका भवन, बगैंचा, विभिन्न सामग्रीबारे सूचना राखिने छन् । मर्मतसम्भारको क्रममा रहेकोले मुख्य दरबारको भुइँताल मात्रै खुला हुने छ । पर्यटन मन्त्री किरातीको उपस्थितिमा समारोहको आयोजना गरी रत्न मन्दिर खुला भएको घोषणा गरिने छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले समग्र पर्यटन व्यवसायी र पोखरावासीको लामो समयदेखिको माग सम्बोधन भएको बताउँछन् । ‘रत्न मन्दिर कस्तो होला भन्ने चासो आम सर्वसाधारणमा छ,’ उनी भन्छन्, ‘आन्तरिक र विदेशी पर्यटकका लागि समेत अर्को गन्तव्य थपिएकोले थप एक दिन पर्यटकको बसाइँ लम्बिन्छ ।’
प्रकाशित : जेष्ठ १४, २०८० २०:३१