पूर्वी नवलपरासीमा महेन्द्रराजमार्ग अवरुद्ध

पूर्वी नवलपरासी — महेन्द्रराजमार्गअन्तर्गत पूर्वी नवलपरासीको अरुणखोला चोरमारा खण्डमा राजमार्ग अवरुद्ध भएको छ । सिमसिम झरीले डाइभर्सन सडकमा गाडी फसेका कारण आज बिहान साढे ५ बजेबाट राजमार्ग अवरुद्ध भएको प्रहरीले जनायो ।

बर्दघाट तर्फबाट नारायणगढतर्फ जाँदै गरेको मालवाहक गाडी फसेका कारण राजमार्ग अवरुद्ध भएको हो । राजमार्गदेखि उत्तरतर्फ बनाइएको कच्ची सडकमा पानीले लेदा बग्दा गाडी फसेको हो ।
अवरुद्ध भएको स्थान महेन्द्रराजमार्गको कावासोती बजारबाट १७ किलोमिटर पश्चिमतर्फ जंगलको बिचमा पर्दछ । चोरमारा र अरुणखोलाको बिचमा रहेको गडारखोला पुलदेखि उत्तर तर्फको डाइभर्सन सडकको हिलोमा गाडी फसेको ईलाका प्रहरी कार्यालय दुम्कीवासले जनाएको छ ।
बुटवल नारायणगढ सडक फराकिलो पार्ने क्रममा निर्माण गरिएका डाइभर्सन सडकमा सानो पानी पर्नासाथ हिलाम्मे हुने समस्या छ । काम थालेको साढे ४ वर्षको अवधिमा २८ प्रतिशतमात्र काम सम्पन्न भएका कारण राजमार्गमा खाल्डा र धुलैधुलोका कारण सवारी आवतजावतमा समस्या भइरहेको छ । सामान्य झरीमा समेत राजमार्ग अवरुद्ध हुने गरेको छ ।
प्रकाशित : जेष्ठ १०, २०८० १०:२०