कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढोरपाटनका नगरप्रमुख तीन दिनदेखि सम्पर्कविहीन

प्रकाश बराल

बागलुङ — स्थानीयको करोडौं रकम हिनामिनाको आरोप लागेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली सम्पर्कविहीन भएका छन् ।

शुक्रबारदेखि नै नेपाली सम्पर्कमा नआएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताए । उनी करोडौं रकम हिनामिना गरेर भागेको हुनसक्ने आशंकामा प्रशासनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य नाकामा निगरानी बढाउन आग्रह गरेको छ ।

नेपाली अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थामा तरलता नभएको भन्दै वैशाख ९ गते सूचना टाँसेर बन्द गरिएको थियो । सयौं मानिस उनको कार्यालयमा दैनिक भुक्तानी माग्न जाने गरेका थिए । नेपाली आफैंले ७० करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको बताएका थिए । प्रशासनका अधिकारीले भने उनले एक अर्बभन्दा बढी रकम हिनामिना पारेको आशंका गरेका छन् । आफ्नो जायजेथा बेचेर भए पनि तिर्ने प्रतिबद्धता व्यक्त गरेका नेपालीको परिवार नै सम्पर्क विहीन भएको स्थानीयहरूले बताएका छन् ।

जिल्लाका सहकारी सम्बद्ध पदाधिकारीले पहल गरेपछि नेपालीले घर बेचेर भए पनि बचत फिर्ता गर्ने बताएका थिए । एक महिनादेखि उक्त सहकरीका बचतकर्ताले बढीमा ५ हजार मात्रै फिर्ता पाएका थिए । उक्त सहकारीले १८ प्रतिशत व्याज दिने भनेपछि सयौं गैरशेयर सदस्यले करोडौं बचत गरेका थिए ।

केही दिनदेखि भने नेपालीले प्रहरीलाई खबर गरेर मानसिक तनाब बढेकाले उपचारका लागि विदेश जाने तयारी गरेको जानकारी दिएका थिए । त्यसपछि उनले मोबाइल बन्द गरेर हिँडेकोले प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले खोजीका लागि गृहमन्त्रालयमा समेत पत्राचार गरेको बताइन् । जेठ १ गते बागलुङ आएका नेपाली बुर्तिवाङ फर्केपछि सम्पर्कमा नरहेको बताइएको छ । नेपालीका चालकसमेत सम्पर्कमा नभएकोले सपरिवार भागेको हुनसक्ने स्थानीयले समेत आशंका गरेका छन् ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले आफ्नो कार्यकक्षमा कार्यवाहक दिएको पत्र प्राप्त भएको बताए । ‘मलाई उहाँले केही पनि भन्नुभएन, अचानक पत्र आयो,’ कायतले भने, ‘कार्यालयमै हुँदा पनि महिना दिनदेखि भेटघाट भएको थिएन ।’

गत साता कायतले तीन वर्षअघिको हिसाब सार्वजनिक गर्न विज्ञप्ति मार्फत नगरप्रमुखलाई आग्रह गरेका थिए । २०७७ भदौ १७ गते गएको पहिरोले ढोरपाटनमा १ सय २६ घर बगाएको थियो । घटनामा २२ को मृत्यु र १५ जना बेपत्ता भएका थिए । उक्त घटनापछि देश विदेशबाट नगद र जिन्सी सहयोग आएकोमा झण्डै ३ करोड नगदको हिसाब सार्वजनिक नभएपछि उपप्रमुखले प्रमुखलाई हिसाब सार्वजनिक गर्न माग गरेका थिए ।

प्रकाशित : जेष्ठ ७, २०८० १४:३९
प्रतिक्रिया
पठाउनुहोस्

नीति तथा कार्यक्रम साझा दस्तावेज हुन सकेन : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले अध्यक्ष तथा विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम साझा दस्तावेज हुन नसकेको बताएका छन् । प्रतिनिधिसभामा आइतबार नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै अध्यक्ष ओलीले देशले सामाना गरिरहेको समस्या प्रस्तुत गर्न नसकेका कारण नीति तथा कार्यक्रम साझा दस्तावेज हुन नसक्ने बताए ।

'नीति तथा कार्यक्रमले देशमा उपलब्ध अवसरको बारेमा चर्चा गरेको छैन । अथाहा स्रोत साधानको प्रोफाइल तयार गरी स्रोत साधनको पूर्ण कार्यान्वयन गर्ने उद्देश्य छैन,' ओलीले भने, 'समयमै कार्यान्वयन हुने र नयाँ पुस्ताको आवाजलाई आत्मसाथ गर्न सकेको छैन ।'

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भन्ने गरेको क्रमभंगता नीति तथा कार्यक्रमले पूरा नगर्ने बताए ।

'क्रमभंगता अब बोलीमा सीमित रह्यो । यो नीति तथा कार्यक्रम पश्चगामी छ । र त्यसले पश्चगमनमा लैजाने निश्चित छ,' ओलीले भने, 'सरकार सबै मोर्चामा असफल भएको छ । पराजित भएको छ । सबै बाचा, प्रतिबद्धताहरु असफल भएका छन् । झुठा सावित भएका छन् ।'

यस्तै ओलीले आर्थिक वृद्धिदर ८ प्रतिशत लक्ष्य राखे पनि २ प्रतिशत पनि नपुग्ने अवस्था भएको टिप्पणी गरेका थिए । यस क्रममा नेता ओलीले अहिले काम भइरहेको तरिकाबाट यसले आर्थिक वृद्धि नहुने पनि ठोकुवा गरे ।

आफ्नो कार्यक्रममा पूर्वका जिल्लामा गर्न खोजिएको अवसरलाई उदाहरणको रुपमा प्रस्तुत गर्दै ओलीले भने, 'सरकारले सुरक्षा दिन सकेन । यसलाई शान्ति सुरक्षा बहाली भएको कसरी मान्ने ?'

संसद्‍मा ओलीले प्रधानमन्त्री दाहालले गरेको गठबन्धन परिवर्तनको पनि आलोचना गरेका थिए ।

'चुनाव हुँदा एउटा प्रतिबद्धता गर्ने, मत परिणामपछि सरकारको नेतृत्व लिन अर्कै संकल्प लिने, २ महिना पनि नपुग्दै कोर्स परिवर्तन गर्ने पटकपटक पोजिसन र गठबन्धन फेर्नुलाई गतिशीलता ठान्ने प्रधानमन्त्रीको 'गतिशील' नीतिले देशलाई चरम अस्थिरतामा पुर्‍याउँदै छ,' ओलीले भने, 'मन्त्री र प्रधानमन्त्रीले दिने गरेको अभिव्यक्ति र अर्थमन्त्रीले सदनमा प्रस्तुत गरेको विषय र राष्ट्रपतिले बचन गर्नु भएको नीति तथा कार्यक्रम फरक फरक भएपछि राष्ट्र र जनताले के भन्ने ?'

प्रकाशित : जेष्ठ ७, २०८० १४:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×