कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सातामै दर्जनौं वनमा डढेलो, छैन नियन्त्रण संयन्त्र

वनमा लागेको आगो तीन घण्टासम्म दन्किएर बस्तीमै आउन लाग्दासम्म पनि भएन नियन्त्रण
अगन्धर तिवारी

पर्वत — लामो समयको खडेरीका कारण पतकर तथा जंगलका बुट्यान सुक्दै जाँदा करिब दुई सातायता पर्वतका तीन दर्जन बढी सामुदायिक वन तथा पाखापखेरामा आगलागी भएको छ । आगलागी समयमै नियन्त्रण हुन नसक्दा मानवीय क्षति नभए पनि करोडौं मूल्य बराबरका वनपैदावार नास हुनुका साथै वन्यजन्तु मरेका छन् । 

सातामै दर्जनौं वनमा डढेलो, छैन नियन्त्रण संयन्त्र

गत चैत तेस्रो सातादेखि विभिन्न सामुदायिक वन तथा निजी पाखाहरूमा सल्केको आगो शुक्रबारसम्म तीन दर्जनबढी स्थानका जंगलका बोटबिरुवा नाश गर्नेगरि फैलिएको छ । वनमा लागेको डढेलो समयमै नियन्त्रण गर्न नसक्दा कैयौं बोटबिरुवा र वन्यजन्तु नष्ट हुनुका साथै पर्यावरणमा समेत गम्भीर असर परेको छ । डिभिजन वन कार्यालयमा आएको तथ्याङ्क अनुसार चैत २५ देखि मसान्तसम्म पर्वतका डेढ दर्जन हाराहारी सामुदायिक वनमा डढेलो लागेको छ । कतिपय स्थानबाट डढेलोको वास्तविक तथ्याङ्क आउन बाँकी रहेको डिभिजन वन अधिकृत विष्णु अधिकारी बताउँछन् ।

पर्वतका प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार चैत २५ देखि शुरु भएको आगलागी दैनिकजसो घटिरहेका छन् । ‘हामीलाई चैत २५ साँझदेखि आगलागीबारेका खबर आउन थालेका हुन्,’ न्यौपानेले भने, ‘कुनै दिन खाली छैन । हामीसँग भएको संयन्त्र प्रयोग गरेर सम्भव हुने जति नियन्त्रणमा ल्याएका छौं ।’ हावाहुरी र आगलागीसंगै भएको खण्डमा नियन्त्रणमा लिन निकै कठीन हुने उनले बताए । प्रहरीका अनुसार पर्वतमा पहिलोपटक कुश्मा नगरपालिका–१ पाङबाट आगलागी सुरु भएको हो ।

शान्तिसुरक्षाको जिम्मा लिएको प्रहरीलाई जिल्लाको सुदूर दक्षिणमा लागेको आगो नियन्त्रणमा तत्कालै पुग्न कठिन हुने न्यौपाने बताउँछन् । ‘धेरैजसो वनसँग यस्तो संयन्त्र हुनुपर्ने हो । अहिले वनरक्षक भनेर नियुक्त गरिएका कर्मचारीसँग त्यो ज्ञान र सीप हुन्छ । उनीहरू त्यसकै लागि नियुक्त भएका हुन्छन्,’ न्यौपाने भन्छन्, ‘तर, आगलागीका घटना नियन्त्रण गर्न वनका त्यस्ता संयन्त्र कता छन् हामीलाई पत्तो छैन ।’ वनको डलेलो नियन्त्रणमा वन कार्यालय उदासिन भएकोतर्फ उनले संकेत गरे । प्रहरीका अनुसार हालसम्म पर्वतका सबैजसो पालिकामा आगलागीका घटना भएका छन् । ती सबै स्थानका आगलागी कही सुरक्षाकर्मीले त कहीं स्थानीयले नियन्त्रणमा लिएका छन् । ‘वनमा लागेको आगो तीन घण्टासम्म दन्किएर बस्तीमै आउन लाग्दा पनि नियन्त्रणमा कसैले चासो दिएनन्,’ फलेवास–४ का ओम गौंडेलले भने, ‘हामी सबै गाउँले मिलेर बस्तीतर्फको नियन्त्रणमा लियौं । पछि प्रहरी आएपछि केही राहत भयो । प्रहरीले जंगलको आगो नियन्त्रणमा लिनुभयो ।’ वन कार्यालयले भने आगलागी नियन्त्रणमा कुनै चासो नदेखाएको उनीसहित स्थानीयको गुनासो छ ।

आगलागी नियन्त्रणमा भरपर्दो साधनका रूपमा दमकलाई लिइन्छ । तर, पर्वतमा कुश्मा नगरपालिकासँग मात्र एउटा दमकल छ । तर, त्यो पनि बजारक्षेत्रमा मात्रै सीमित छ । ‘हामीले आवश्यक परेको ठाउँमा दमकल पठाउने गरेका छौं,’ कुश्माका नगरप्रमुख रामचन्द्र जोशीले भने, ‘जंगलमा लागेको आगो नियन्त्रणका लागि सबै ठाउँमा दमकल पुग्न सम्भव हुने कुरा भएन ।’ आगो लाग्नुको कारणबारे स्थानीयवासी नै जानकार हुने भएकाले आगलागी हुन नदिन स्थानीय नागरिक नै सक्रिय हुनुपर्ने प्रहरी बताउँछ ।

विभिन्न ठाउँमा एकै पटक आगलागी भएको अवस्थामा सीमित स्रोतसाधनको पहुँचमा रहने सुरक्षाकर्मीले मात्रै आगो नियन्त्रणमा लिन सम्भव नहुने प्रनाउ न्यौपानेले बताए । खबर आएपछि भने सुरक्षाकर्मी समयको कुनै पर्वाह नगरी नियन्त्रणका लागि पुग्ने गरेको उनले बताए । कति क्षेत्रफलमा आगलागी भयो र त्यसले कति क्षति भयो भन्ने विवरणहरू संकलनको काम चलिरहेको डिभिजन वन अधिकृत अधिकारी बताउँछन् । आगलागीमा संलग्न जो कोहीलाई पनि वन ऐन, २०७६ अनुसार कारबाही हुने उनले बताए । तर, वन कार्यालयले हालसम्म आगलागीमा संलग्न भएको आरोपमा कसैलाई पक्राउ गरी कारबाही अघि बढाउन सकेको छैन ।

प्रकाशित : वैशाख १०, २०८० ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×