गोरखामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

हरिराम उप्रेती

गोरखा — मध्यपहाडी लोकमार्गअन्तर्गत भीमसेन थापा गाउँपालिका–१ निवेलमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । 

बिहीबार राति ११ बजेतिर घ्याम्पेसालबाट निवेलतर्फ जाँदै गरेको भे ६ प ७४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वेदनाथ भण्डारीले बताए ।

दुर्घटनामा सप्तरी कृष्ण सवरत गाउँपालिका घर भई हाल मध्यपहाडी लोकमार्गको सडक निर्माणको ठेक्का पाएका सूर्य कन्स्ट्रक्सनको एक्स्काभेटर चालक २३ वर्षीय लक्ष्मीकान्त चौधरीको मृत्यु भएको उनले जानकारी दिए । चौधरीको शव शुक्रबार पोस्टर्माटमका लागि गोरखा अस्पताल ल्याइएको छ ।

प्रकाशित : चैत्र १७, २०७९ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्

एमालेले चाहेमा केही दिनमै गठबन्धन भत्किन्छ : उपाध्यक्ष पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने दाबी गरेका छन् ।  शुक्रबार प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले आफ्नो पार्टी अहिले गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने धन्दामा नरहेको भन्दै एमालेले गठबन्धन भत्काउने महसुस गरे केही हप्ताको मात्रै खेल रहेको बताएका हुन् । 

‘अहिले म तिथिमितितिर जान्नँ । मैले यति भनेँ कि हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने त्यो काममा लागेका छैनौँ, एमाले लाग्यो भने त्यो केही दिनको विषय हो । यसरी वा त्यसरी जे होस् कुनै पनि गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउने धन्दामा हामी लागेका छैनौँ । यदि एमालेले त्यो आवश्यक्ता महसुस गर्‍यो भने केही हप्ताको काम हुन्छ,’ उनले भने ।

उपाध्यक्ष पौडेलले पार्टीका नेता भीम रावलले एक पछि अर्को गल्ती गर्दै गइरहेको आरोपसमेत लगाए । पार्टीको अनुशासनमा नबस्ने र पार्टी सदस्यको कर्तव्य निर्वाह नगरेको उनको भनाइ थियो । उपाध्यक्ष पौडेलले नेता रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको बताए ।

‘हाम्रो भीम रावलजीले पार्टीको अनुशासनको दृष्टिकोणले पार्टीको एउटा जिम्मेवार सदस्यले निर्वाह गर्ने कर्तव्यको दृष्टिकोणले उहाँ विगतमा लामो समयसम्म पार्टीको नेतृत्वदायी कमिटीमा रहेर काम गरेको पदाधिकारीको हैसियतले उहाँले पार्टी सदस्यको कर्तव्य निर्वाह गर्नुभएको छैन । पार्टीको निर्णय मान्नुभएको छैन, उहाँले पार्टीको अनुशासन उल्लंघन गर्नुभएको छ । उहाँले पार्टीलाई कमजोर पार्ने, गतिविधि उहाँबाट भइरहेका छन् । उहाँले एकपछि अर्को गल्ती गर्नुभएको छ,’ उनले भने ।

उपाध्यक्ष पौडेलले आउने निर्वाचनमा नेकपा एमालेको एकल सरकार निर्माण गर्ने तयारीमा आफू लागेको बताए । उनले वर्तमान संसदले ५ वर्षको समय पूरा गर्ने लक्षण नदेखेको बताए ।

प्रकाशित : चैत्र १७, २०७९ ११:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×