सुक्यो मौलिक सामानको व्यापार

प्रकाश बराल

बागलुङ — चैते दसैंको मेलामा आउँदा वर्षभरिका लागि चाहिने नाङ्ला, डाला र ठेका किनेर घर लैजाने तित्याङका टीकाराम शर्माले यो पटक केही किनेनन् । घरमा प्लास्टिकका सामान पुगेका छन् ।

परम्परागत रूपमा बनाइने सामानको लागत मूल्यभन्दा प्लास्टिकका सामान सस्तो पाउने भएपछि उपभोक्ताले पनि तिनै सामान खोज्न थाले ।

बागलुङ नगरपालिका–१४ का प्रेमबहादुर चुँदारा (विक) ले पनि यो पटक ठेकी बेचेर कमाइ गर्न नसकेको गुनासो पोखे । बडिगाड गाउँपालिका–४ का चन्द्रबहादुर रेश्मीले पनि अघिल्ला वर्षको तुलनामा बाँस र निगालोका सामान नबिकेको बताए । कुनै बेला उनीहरूले आफ्ना उत्पादन चैते दसैंमा बागलुङ बजारमा र माघेसंक्रान्तिमा रिडी मेलामा बेचेर मनग्य कमाइ गरेकामा अहिले नोक्सानी व्यहोरेको बताए ।

माघेसक्रान्तिमा रिडीको बजार, चैते दसैंमा बागलुङ कालिका र मंसिरमा बरेङको सत्यवतीमा लाग्ने मेलामा पुग्दा ती उद्यमीका सामान बेचेर लाखौं कमाइ हुन्थ्यो । आजकल उनीहरूको व्यवसाय चार गुणा घटेको छ । ‘आजकल वर्षमा १ लाख पनि कमाइ हुँदैन’ रेश्मीले भने, ‘गाडीमा राखेर सामान ल्यायो, बजारमा सस्तो खोज्छन् । मिहिनेतको मूल्य पाइन छाडेछ । बजारमा सबै सामान प्लास्टिकका आएको र सस्तो पाउने भएपछि हातको सीप बिक्न छाडेछ ।’

बडिगाड–४ को जलजला र ८ को रणसिंकिटेनीमा पाइने निगालोबाट मान्द्रो, डाला, डोका बनाएर बजारमा बेचिन्छ । उनीहरूले बुनेका सामान चिटिक्कका हुन्छन् । ‘हामीले वर्षभरि यही काम गरेका छौं, तर बजारमा नबिकेपछि फिर्ता लान सकिँदैन, व्यापारीलाई आधा मूल्यमा छाडेर जान्छौं’ रेश्मीले भने, ‘त्यो पनि भुक्तानी पाउन मुस्किल पर्छ ।’

ठेका बनाउने चुँदाराको पीडा झन् बढी छ । आजकल प्लास्टिकका भाँडामा दही जमाउने र मथ्ने गर्दा दारका ठेका बिक्री हुन छाडेका छन् । सामान नबिकेपछि उनको पेसामा तगारो लागेको छ । ‘बजारमा पाइने प्लास्टिक र सिलवरका ठेकाले सीप लोप हुन लाग्यो’ उनले भने, ‘अब हामी चुँदारालाई अरू काम सिक्नुपर्ने भएको छ ।’ ५० वर्षसम्म सिकेको सीप छाडेर अन्यत्र जान नसकेको उनले गुनासो गरे ।

अमलाचौरमा मात्रै २०/२५ जनाले ठेका बनाउने काम गर्दै आएका छन् । दशकअघि वर्षमा ४ लाख रुपैयाँसम्म कमाएका चुँदाराले अहिले एक लाख पनि नभेटेको बताए । कमाइ नभएपछि छोराले ठेका बनाउने सीप नसिकेको उनले बताए । चैते दसैंको मेला ठेका बेच्ने मुख्य बजार हो । काम सकेर फुर्सदको बेला भएकाले चैते दसैंमा टाढाटाढाबाट आउने भक्तजन र पर्यटकले ठेका किन्ने चलन थियो । उनले गिटीदारका ठेका बनाउँथे ।

अर्का उद्यमी टीकाराम चुँदाराले ठूला ठेका नबिकेपछि साना बनाएको बताए । ‘ठूला प्रयोग नभएपछि साना लगेर घरमा सजाउने गर्छन् कि भनेर ल्याएको छु’ उनले भने, ‘केही बिक्री भए, तर सोचेजस्तो कमाइ भएन ।’ दारको काठबाट बनेका ठेका भने २० वर्षसम्म पनि उपयोग गर्न सकिने जानकार बताउँछन् । ‘मैले २० वर्षसम्म एउटै ठेकामा दही जमाएर खाएको छु’ बागलुङ–१ का ८४ वर्षीय दुर्गाबहादुर आचार्यले भने, ‘अमलाचौरका चुँदाराले बनाएको ठेका असली हुन्छन् ।’

प्रकाशित : चैत्र १७, २०७९ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्

प्राकृतिक चिकित्सालयका थेरापी उपकरण अलपत्र

घनश्याम खड्का

म्याग्दी — बेनी नगरपालिका–४ तातोपानीमा प्राकृतिक चिकित्सालय खोल्न ल्याइएका तातोपानी थेरापी उपकरण वर्ष दिनदेखि अलपत्र छन् । 

नेपालमा पहिलो पटक प्राकृतिक तातोपानीसँग जोडेर तातोपानी कुण्ड व्यवस्थापन समितिले साउना स्नान, थेरापी र योगासहितको तातोपानी सामुदायीक प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी गरेको थियो । यसका लागि मसाज थेरापी, हाइड्रो थेरापी, होमियोथेरापी, फिजियोथेरापी, नेच्युरोप्याथिक थेरापी र अकुपञ्चरका उपकरण ल्याइएको थियो ।

‘प्राकृतिक तातोपानीमा आधारित प्राकृतिक अस्पताल खोल्न विभिन्न उपकरण ल्याई सेटअप गर्ने क्रममा थियौं । कानुनी प्रक्रियामा अल्झन आएपछि रोकिएको अवस्था छ । उपकरणहरू प्लास्टिकले छोपेर राखेका छौं’ तातोपानी कुण्ड व्यवस्थापन समितिका सदस्य कुमार केसीले भने, ‘लाखौं मूल्यका यी उपकरण चलाउन प्राकृतिक चिकित्सक पनि ल्याएका थियौं ।’

संस्था दर्ता ऐनअन्तर्गत दर्ता भएको तातोपानी कुण्ड व्यवस्थापन समितिमार्फत प्राकृतिक सामुदायिक चिकित्सालय सञ्चालन तयारी भइरहँदा समिति भ्याटमा दर्ता हुन र समितिको विधानको उद्देश्यमा प्राकृतिक/प्रविधि चिकित्सालय सञ्चालन गर्नेसम्बन्धी बुँदा थप्न बेनी नगरपालिकाले सुझाएपछि अभियान प्रभावित भएको थिायो ।

‘भ्याटसमेतमा अल्झेको सबै कानुनी अल्झन सकिएको छ । अब छिट्टै थन्किएका तातोपानी थेरापीका सामग्री उपयोगमा आई प्राकृतिक चिकित्सालय सञ्चालन आउने छ’ कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले भने, ‘अब समितिको अधिवेशन गरी विधान र प्रबन्ध पत्र संशोधनपछि यही आवमा चिकित्सालय सञ्चालन गर्ने योजनामा छौं ।’

समितिले परम्परागत प्राकृतिक तातोपानी पोखरीमा डुबुल्की लगाउँदै आएको उपचार विधिमा योगा थेरापी, मसाज थेरापी, हाईड्रो थेरापी, होमियोथेरापी, फिजियोथेरापी, नेच्युरोप्याथिक थेरापी र अकुपञ्चर विधिबाट पनि उपचार ल्याएका सवै थारापीका उपकरण थन्क्याएर राखिएको छ । यहाँका तातोपानीका पोखरीहरूमा एलोपेथिक औषधीय उपचारबाट सञ्चो हुन नसकेका बिरामी प्राकृतिक चिकित्सा मानिएको डुबेर उपचार गराउँदा लाभ पुगेको धेरै अनुभव छ ।

प्राकृतिक चिकित्सालय खोल्न आव ०७७/०७८ मा संघिय सरकारको ५० लाख र थेरापीका उपकरण खरिद गर्न गण्डकी प्रदेशले ५० लाख बजेट खर्च भइसकेको छ । ‘समितिले चिकित्सालय सञ्चालन गर्न स्वीकृत दिनुअघि प्रक्रियागत त्रुटि सच्याउन भनेका हौं’ बेनी नगरपालिकाका मेयर सुरत केसीले भने, ‘प्रक्रियागत रूपमा आए नगरपालिकाले चिकित्सालय सञ्चालन गर्न अनुमति दिन्छ । राम्रो कामको सुरुआत गर्दा विधि प्रक्रिया पनि राम्रो होस् भन्ने चाहना मात्र हो ।’

प्राकृतिक अस्पतालमा आवश्यक सबै थेरापीका उपकरण थन्क्याएर राखिएको छ । थेरापी लगायतका उपचार कक्षमा उपकरण सेट गर्दागर्दै रोकिएको अवस्थामा छ । समितिले तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालयका लागि नियुक्त गरेको प्राकृतिक चिकित्सक डा.आयुशा अधिकारीलाई फिर्ता गरी फिजियो थेरापिस्ट, मसाज थेरापिस्ट र नर्सिङ स्टापको विज्ञापन पनि रद्द गरेको थियो ।

‘चिकित्सालयमा आवश्यक थेरापीहरूका उपकरण आई केही सेटअप पनि भइसकेको छ । सबै प्रक्रिया पूरा गरी सकेसम्म छिटो प्राकृतिक अस्पतालबाट सेवा सुरु गर्ने योजनामा छौं,’ सचिव खड्काले सुनाए ।

यहाँका तातोपानीका पोखरीहरूमा एलोपेथिक औषधीय उपचारबाट सञ्चो हुन नसकेका बिरामी प्राकृतिक चिकित्सा मानिएको डुबेर उपचार गराउँदा लाभ पुगेको धेरै अनुभव छन् । बिरामीको तातोपानीमा डुबेर निको भएको वचन विज्ञापनकै आधारमा बर्सेनि सयौं बिरामी यहाँ आउने गरेका छन ।

प्रकाशित : चैत्र १७, २०७९ ०७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×