पहिलोको तुलनामा बुस्टर खोप आधा मात्रै

कान्तिपुर संवाददाता

बागलुङ — कोरोनाविरुद्धको पहिलो र दोस्रो खोपको तुलनामा बुस्टर डोज लगाउनेको संख्या आधा घटेको छ । पहिलो पटकको खोप अभियानमा बागलुङमा ८८ प्रतिशतले लगाएका थिए । दोश्रो डोज ८३ प्रतिशत र बुस्टर लगाउने ४८ प्रतिशत मात्रै भएका हुन् ।

स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु थापाका अनुसार पहिलो डोज २ लाख १६ हजार र दोस्रो डोज २ लाख १२ हजारले लगाएकोमा बुस्टर लगाउने बेलामा १ लाख ५ हजारले मात्रै लगाएका हुन् ।

१५ वर्षमाथिका नागरिकको तुलनामा विद्यार्थीले बढी खोप लगाएका हुन् । ५ देखि १२ वर्षभित्रकाले ९४ प्रतिशत खोप लगाए पनि बुस्टर लगाउन पाएका छैनन् । ताराखोलामा पहिलो र दोस्रो डोज खोप शतप्रतिशतले लगाएका छन् भने काठेखोलामा ६४ प्रतिशतले मात्रै लगाएका छन् । काठेखोलामा बुस्टर समेत ४३ प्रतिशतले लगाएका छन । पालिका तहका स्वास्थ्य शाखाले माग नगरेकोले केन्द्रबाट थप खोप मगाउन नसकिएको थापाको टिप्पणी छ । ‘खोपकै कारण जनजीवनमा सहजीकरण भएको छ, त्यसैले सबैले लगाउनुपर्छ,’ जिल्ला खोप समन्वय समितिकी संयोजक रोशनीकुमारी श्रेष्ठले भनिन्, ‘खोपप्रति भ्रम सिर्जना हुनबाट रोक्नुपर्छ ।’

प्रकाशित : चैत्र १४, २०७९ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्

चैते धान रोपाइँको चटारो

कान्तिपुर संवाददाता

पाँचथर — पाँचथरका किसानलाई यतिखेर चैते धान रोप्ने चटारो छ । यो बेला रोपिने धान असार अन्तिममा पाक्छ । फागुन पहिलो साता राखिएको धानको बीउ यो बेला तयार भइसक्छ ।

चैत लाग्दैदेखि रोपाइँको चटारो सुरु भएर महिनाभरि नै जारी रहन्छ । मध्यवर्षामा पाक्ने यो धानले साउने संक्रान्ति, तीज, दसैं, तिहार, छठ र उँधौलीसम्मका सबै चाडपर्व धान्ने भएकाले स्थानीयको जनजीवनमा यसको धेरै महत्त्व भएको फिदिम–४ का जितबहादुर यवा बताउँछन् ।

यो धानको उत्पादन असारे धानको तुलनामा धेरै हुन्छ । महिला, पुरुष खेतीमा बरोबर खटिएका हुन्छन् । रोपाइँका लागि पुरुष मल छर्न, जोत्न, हिलोआली गर्न, दाँते लगाएर गरा सम्याउन र फ्याउरी लगाएर हिलो माटो मिलाउनमा व्यस्त हुन्छन् । बीउ काढ्न र गरासम्म बीउका मुठा पुर्‍याउन अनि तयार पारिएको खेतमा धान रोप्न स्थानीय महिला तल्लीन हुन्छन् । घरदेखि खेतसम्मको जिम्मेवारीले परिवारका महिला सदस्यलाई बोल्नेसमेत फुर्सद हुँदैन ।

प्रकाशित : चैत्र १४, २०७९ ०९:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×