बेमौसमी हिमपात : पर्छ, जम्दैन

जमिनको तापक्रम फागुनदेखि नै बढ्छ, मंसिरदेखि माघसम्म परेको हिउँ मज्जाले जम्थ्यो तर यसपल्ट जम्नै सकेन 
आश गुरुङ

लमजुङ — हिमाली क्षेत्रमा पुस, माघमा पर्ने हिउँ कहिलेकाहीं फागुन दोस्रो सातासम्मै पनि लम्बिन्छ । चैत लाग्दासम्म प्रायः पर्दैन । मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ माथिल्लो पिसाङका ७९ वर्षीय याङ्डुङले यस वर्ष हिउँ पर्ने महिनामा हिमपात नै देख्न पाएनन् । तर चैतमा हिउँ परेको देखे । ‘पहिले हिउँ पर्दा जम्थ्यो । तर यो पटक जमेन’ उनले भने ।

बेमौसमी हिमपात : पर्छ, जम्दैन

उनका अनुसार मौसमभरि नपरेको हिउँ बेमौसममा पर्‍यो । लगातार ३–४ दिन हिउँ पर्दा पनि जमेन । छिनभरमै हिउँ पर्ने र छिनभरमै घाम लाग्ने गरेको बताउँदै भने, ‘घामले मात्रै होइन, जमिनमा झरेपछि एकैछिनमा हिउँ पग्लिने गरेको छ ।’ मनाङ ङिस्याङ गाउँपालिका–८ मनाङका कर्म गुरुङका अनुसार गत असोज २०, २१ मा हिउँ परेपछि मनाङमा एकैचोटि फागुन अन्तिमतिर हिउँ पर्‍यो । मंसिर अन्तिमतिर प्रायः हिउँ परिहाल्ने मनाङमा यस वर्ष मध्य फागुनसम्म हिउँ परेन । हिमपात छल्न मनाङी कात्तिक अन्तिमतिरै काठमाडौं, पोखरा लाग्थे । फागुनतिर फर्किन्थे । ‘पहिले पहिले पनि कहिलेकाहीं चैतमा हिउँ पर्थ्यो । वैशाख–जेठमै पनि कहिलेकाहीं हिउँ पर्ने हो । अहिलेझैं हिउँ पर्नेबित्तिकै पग्लिन्थेन । एक दिन हिउँ पर्दा ४–५ दिन जम्थ्यो । अहिले ४–५ दिन हिउँ पर्दा एक दिन पनि जमेन । जमिन तातेर होला ।’

पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार यसपल्ट मनाङमा हिउँ परेको जस्तै भएन । ‘फागुन अन्तिम साता र हिजोअस्ति ३/४ दिन हिउँ परेको हो । खासै जमेन,’ उनले भने । उनका अनुसार साँझबिहान मनाङ चिसो छ । दिनमा भने केही न्यानो छ । यसअघिका वर्षहरूमा जुनसुकै बेला हिउँ परे पनि जम्ने गर्थ्यो । यसपल्ट भने सबै पग्लिएको उनले बताए । ‘डाँडाकाँडातिर हिउँ केही मात्रामा छ । गएका वर्षमा झैं हिमालमा पनि हिउँ पर्न सकेन,’ उनले भने । औद्योगिकीकरण बढ्दै गएपछि कार्बन उत्सर्जन बढ्दै जाँदा तापक्रम बढ्दै गएको उनले बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार यसपल्ट बेमौसमी हिमपात भयो । तापक्रम बढ्दै जाँदाको समय हिमपात भएपछि हिउँ सबै पग्लिए । ‘जमिनको तापक्रम फागुनदेखि नै बढ्न थाल्छ । मंसिर, पुस र माघमा परेको हिउँ मज्जाले जम्छ र हिमनदी बन्छ,’ उनले भने, ‘यसपल्ट हिउँ जम्नै सकेन ।’ यसवर्ष मनाङमा मानबस्ती रहेको मनाङ सदरमुकाम चामेको २ हजार ६ सय मिटर उचाइसम्म हिमपात भयो । त्यसपछि तल्लो भेगमा भने खासै नभएको मनाङका प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले बताइन् । गएका वर्षमा मनाङको सबैभन्दा तल्लो गाउँ ताल गाउँ (१,७०० मि.) सम्म हुने गर्थ्यो ।

कृषि ज्ञान केन्द्र मनाङका प्रमुख राजेश्वर सिलवालले हिमालमा हिउँ जम्न नपाए पनि बालीनालीका लागि अहिलेको हिमपात राम्रो भएको बताए । अहिलेको हिउँ पग्लिएर जमिनमा गएको उनले बताए । ‘जमिन चिसो भएको बेला परेको हिउँजस्तो त खासै नहोला,’ उनले भने, ‘त्यतिबेला धेरै मुनिसम्म चिसो पुग्छ । अहिले जमिन मज्जैसँग भिज्यो । भित्रैसम्म भने नपुग्न सक्छ ।’ लगाउने बेलाको आलुबाली र लगाइसकिएको गहुँका लागि सिँचाइ भएको उनले बताए ।

वातावरणविद् जुद्धबहादुर गुरुङ मौसमी चक्रका कारण अहिले बेमौसमी हिमपात हुने गरेको छ । बंगालको खाडीबाट आउने पूर्वीय वायु र अरबियन मुलुकबाट आउने पश्चिमी वायुले नेपालको मौसमी चक्र निर्धारण गर्छ । प्रकृति, वायु र तापक्रमले जलवायु परिवर्तनमा सहयोग पुग्छ । ‘विश्वमा तापमान बढ्दै जानु र जलचक्र समअनुकूल नहुँदा मौसम र वातावरण एकनास हुन सक्दैन,’ उनले भने, ‘समयमा हिमपात नहुनु पनि यसैका कारण हो । हिउँ परिरहे पनि जमिन तातिएको हुन्छ, टिक्न सक्दैन ।’

प्रकाशित : चैत्र १२, २०७९ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?