भाँगोसँग चामल साटेर छाकको जोहो

जिल्लाका विकट गाउँठाउँमा अझै पनि भाँगो, आलु, मकै, जौसँग चामल विनिमय
प्रकाश बराल

बागलुङ — बडिगाड गाउँपालिका–८ रणसिंकिटेनीकी ५० वर्षीया भीमकली श्रीषको बारीमा धान फल्दैन । २ हजार ५ सय मिटरसम्मको उचाइमा रहेको गाउँमा मकै, जौ र भाँगो मात्रै उत्पादन हुन्छ । चामलको भात खानुपरे ४५ किमि पर मध्यपहाडी राजमार्गको ग्वालीचौरस्थित खौलार बजार पुग्नुपर्छ । यहाँ अझै सडकको सहज पहुँच छैन ।

भाँगोसँग चामल साटेर छाकको जोहो

यसले स्थानीय सहजै बजार जान सक्दैनन् । चामल किन्न पैसा पनि छैन । त्यसैले बारीमा फलेको भाँगोबाट चामल साटेर भात खाने गरेको श्रीषले बताइन् ।

बारीमा उब्जेको मकै पशु चौपायालाई पनि चाहिन्छ । श्रीष परिवारले कहिले मकैको आँटो र जौको ढिँडो खाएर जीवन निर्वाह गर्छन् । भात खानुपरे भाँगोसँग चामल साटेर ल्याएको उनले बताइन् । उनका पति पृथलालले १ पाथी भाँगोसँग तीन पाथी चामल साटेर ल्याएपछि मात्रै घरमा भात पाक्ने बताए । उनीहरूका ३ छोराछोरी छन् । ‘अघिल्लो महिना खौलारका मुकुन्द खरेलसँग चामल साटेर ल्याएपछि भात खायौं,’ श्रीषले भने, ‘नत्र आँटो र ढिँडोकै भर हो ।’ चाडपर्व र पाहुना आएको बेला चाहिने भन्दै उनीहरूले केही चामल साँचेर राख्ने गरेका छन् । बजारका व्यापारीले चटनी खान भाँगोको माग गर्छन् । बागलुङ बजारमा पनि महँगो मूल्यमा भाँगो बिक्री हुने गरेको छ ।

स्थानीय भीमबहादुर विकले जौबाट चामल साटे । एकमुरी जौबाट तीनमुरी सोना मनसुली चामल ल्याएर खाएको उनले बताए । ‘जौ मात्र खाएर भएन, त्यसैले चामल ल्याउनुपर्‍यो,’ उनले भने, ‘कोदोबाट मकै पनि साट्ने गरेका छौं ।’ आफ्नो घरमा नफलेको अन्न अर्को घरमा साटेर खाने यहाँ परम्परादेखि नै चलेको उनले बताए । वडाध्यक्ष जंगबहादुर बलालले भाँगोबाट चामल साट्ने गरेको बताए । जौ र मकैले मात्र खान नपुगेपछि भाँगोबाट चामल साट्नुपरेको उनले बताए । बलालका नाति नातिनीका लागि पनि चामल चाहिने भएकाले गाउँपालिका केन्द्रसमेत रहेको खौलार बजारबाट चामल ल्याउने गरेको बताए । ‘हामीले आँटो, ढिँडो जे पनि खान्छौं, साना नानीलाई जाउलो पकाउन पनि चामल चाहिन्छ,’ उनले भने, ‘घरकै मकै, जौ र भाँगोसँग चामल साटेर ल्याउने हो ।’ पाहुना आउँदा पनि चामलको आवश्यकता परेको उनले बताए ।

पैसाको पहुँच नहुँदै चलेको वस्तु विनिमय प्रणाली अझै कतिपय गाउँमा भेटिने गरेको धौलागिरि बहुमुखी क्याम्पस प्रमुख प्रा. रामप्रसाद उपाध्यायले बताए । ‘पञ्चायत घरमा खाद्यान्न संकलन गरेर नपुग्नेलाई वितरण गर्ने र वस्तुको विनिमय प्रणालीबाट हाम्रो समाज आएको हो,’ उनले भने, ‘पैसाले विस्थापित भएका पुराना चलनले कोही पनि भोको नराख्ने पद्धति छ ।’ छिटफुट रूपमा रहेका वस्तु विनिमय प्रणाली सडकको पहुँच विस्तारपछि लोप हुन लागेको उनले बताए ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले आर्थिक रूपमा विपन्न बस्तीमा राज्यले अनुदान दिएर परम्परागत उत्पादनलाई साथ दिनुपर्ने बताए । ‘यति विकट क्षेत्रमा बसेर आवादी बनाउनेलाई राज्यले अनुदान दिएर राख्नुपर्छ,’ थापाले भने, ‘पेट पाल्नकै लागि उनीहरूले गाउँ छाडे भने यो सिंगो बस्ती जंगल मात्रै बन्ने छ ।’ वस्तु विनिमय प्रणालीले समाजमा सद्भाव ल्याउने उनले बताए ।

प्रकाशित : चैत्र ११, २०७९ २२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?