मर्स्याङ्दी दोहनको अनुगमन

शाहघाटबाट संकलित सामग्री घाटगद्दी गरिएको स्थल र प्राविधिक निरीक्षण गरी विवरण उपलब्ध गराउन नगरपालिकालाई पत्राचार
हरिराम उप्रेती

गोरखा — तनहुँ–गोरखा सीमा क्षेत्रको मर्स्याङ्दी नदीमा मनमौजी दोहनले तीव्रता पाएको चौतर्फी गुनासोपछि अनुगमनमा पुगेको टोलीले थुप्रै बेथिति भेट्टाएको छ । स्वीकृत प्रारम्भिक वातावरणीय अध्ययन (आईईई) बेवास्ता गर्दै मर्स्याङ्दीमा चरम दोहन भइरहेको सार्वजनिक भएपछि बुधबार र बिहीबार अनुगमन भएको हो ।


गोरखा नगरपालिकाले ठेक्का लगाएको ३ वटा घाटको जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा नेतृत्वको टोलीले बुधबार र बिहीबार पालुङटार नगर क्षेत्रस्थित मर्स्याङ्दी नदीको उत्खनन स्थल अनुगमन गरेका थिए ।

गोरखा–१४ को शाहघाटमा उत्खनन गरिएको नदीजन्य सामग्रीको उत्खननकर्ताले घाटगद्दी गरेको ठाउँसम्म देखाउन नसकेको जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेलले बताए । ‘उत्खनन गर्ने क्षेत्रको सीमांकन गर्नुपर्छ, चारकिल्ला तोक्नुपर्छ, त्यहाँ दुवै कुरा छैनन्,’ उनले भने, ‘घाटगद्दी कहाँ गरेको छ भनेर पनि देखाइएन ।’ कति परिणाममा नदीजन्य सामग्री संकलन भयो भन्नेसम्मको विवरण अनुगमन समितिले पाएन । घाटगद्दी गरेको ठाउँमा नदीजन्य सामग्रीको परिणाम यकिन गरेपछि मात्र उक्त सामग्री प्रयोग गर्न मिल्ने ठेक्का सम्झौतामा छ । तर उत्खननको जिम्मा पाएको सुजन छिम्केश्वरी कन्स्ट्रक्सनले अनुगमन टोलीलाई घाटगद्दी स्थल देखाएन । उक्त स्थलमा सूचना पार्टीसमेत ढुंगाले च्यापेर राखेको पाइएको उनले बताए । उक्त कन्स्ट्रक्सनले शाहघाटमा एक सातादेखि अनियन्त्रित तवरले उत्खनन गरिरहेको छ ।

शाहघाटमा नदीको बहावलाई नै असर गर्ने तवरले एक्स्काभेटरको प्रयोगबाट नदीजन्य सामग्री संकलन भएको पनि पाइएको पोखरेलले बताए । ‘पारदर्शी हिसाबले काम भएको देखेनौं,’ उनले भने । शाहघाटमा संकलित एक लाख ४३ हजार ४६ घनफिट नदीजन्य सामग्री मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड) लाई उपलब्ध गराउने गरी उत्खननको जिम्मा सुजन छिम्केश्वरीले पाएको हो । ठेक्का लगाएको गोरखा नगरपालिकाले दैनिक रूपमा अनुगमन निरीक्षणका लागि प्राविधिक नखटाउँदा अनियन्त्रित दोहनले प्रश्रय पाएको छ । दुई मिटरभन्दा गहिरो खन्न नपाइने उल्लेख भए पनि शाहघाटमा नदी बहाव क्षेत्रमै तीन मिटरसम्म खनेर नदीजन्य सामग्रीको उत्खनन हुँदै आएको छ ।

बुधबार अनुगमन टोलीले मर्स्याङ्दी नदीकै भैंसेटार र नारमीघाटको पनि अनुगमन गरेको थियो । नारीमघाटमा २ वटा ट्र्याक्टरको प्रयोगबाट नदीजन्य सामग्री उत्खनन भएको पाइएको पोखरेलले बताए । ‘नारमी घाटको नदी छेउको टारमा बस्ती छ, अब काम सुरु हुन्छ भन्नुहुन्थ्यो, त्यहाँ कसरी आईईई भयो, कुना कोट्याएपछि बस्तीलाई असर पर्छ,’ उनले भने । भैंसेटारमा पनि दुईवटा जेसीभीको सहायताले उत्खनन भएको पाइएको अनुगमन टोलीले जनाएको छ । ‘ठेक्का लगाउने गोरखा नगरपालिकाको प्रतिनिधि पनि हुनुहुन्थ्यो, शाहघाटको उत्खनन यो हुँदैन भनेर आएका छौं,’ उनले भने, ‘ठेक्काको सर्त के छ, पालिकासँग ठेक्का सम्झौता मागेका छौं ।’

अनुगमनका क्रममा केही कुरा सम्झौताविपरीत पाइएको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले बताए । ‘आईईईमा भनेभन्दा बढी खनेजस्तो देखिन्छ, प्राविधिकलाई नापजाँच गर्न भनेका छौं, घाटगद्दी कहाँ गरिएको छ भनेर ठेकेदारलाई पनि पत्र लेखेका छौं,’ उनले भने, ‘विवरण आएपछि फेरि अनुगमनमा जान्छौं, सम्झौताअनुरूप नदेखिए कारबाही हुन्छ ।’ बस्ती र नदीको स्वरूपलाई ध्यान दिएर सम्झौताअनुरूप नदीजन्य सामग्री संकलन गर्न अनुगमन टोलीले ठेकेदारलाई निर्देशन दिएका छन् ।

चाइना कम्युनिकेसन कम्पनीलाई पालुङटार नगरपालिका र आँबुखैरेनी गाउँपालिकाले ४/४ वटा घाट तथा गोरखा नगरपालिकाले एउटा घाटबाट नदीजन्य सामग्री संकलनका लागि अनुमति दिएको छ । पालुङटार नगरपालिकाले मर्स्याङ्दी नदीस्थित मझुवा, अवन्डा, चनौटे र खोलाघाटको नदीजन्य सामग्री संकलनको जिम्मा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीलाई दिएको छ ।

अनुगमन टोलीले बिहीबार अवन्डा घाटको क्षेत्रको स्थलगत अनुगमन गरेको थियो । नदीको बहाव क्षेत्रमै मेसिनरी सामग्रीको उत्खनन गरी नदीजन्य सामग्री संकलन गरिएपछि स्थानीयले विरोध जनाएसँगै एक साताअघि अवन्डाघाटमा उत्खनन रोकिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ठेक्का लगाएको वडा ३ को कुडुले घाटमा पनि बहाव क्षेत्रबाटै बालुवा उत्खनन भइरहँदासम्म नियमनकारी निकायले बेवास्ता गर्दै आएको छ ।

प्रकाशित : चैत्र ११, २०७९ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्

पुल बनाउन सडक अवरुद्ध

श्यामसुन्दर शशि

जनकपुर — वैकल्पिक बाटोको व्यवस्था नगरी जनकपुर आउने मुख्य तीनवटा सडक अवरुद्ध पारेर पुल बनाउन थालेपछि पूर्वी धनुषावासीले सास्ती भोग्नुपरेको छ । जनकपुर–खरिहानी–सिमराढी सडक र जनकपुर–तिनकौरिया–यदुकुहा सडकमा रहेका दुवै पुरानो पुल बनाउन थालिएको हो ।

पूर्वी धनुषालाई जनकपुर जोड्ने यी मुख्य सडक हुन् । यस्तै, जनकपुर–कपिलेश्वर सडक खण्डमा नाला निर्माण भइरहेकाले एक सातादेखि तीनवटै सडक अवरुद्ध छन् ।

अहिले पूर्वी धनुषावासी जनकपुर रेल्वेभन्दा दक्षिणमा निर्मित नयाँ पुल हुँदै जनकपुर आउने गरेका छन् । तर, पूलभन्दा पूर्वको सडक साँघुरो र कच्ची छ । एउटै बाटोबाट बस, ट्रक, टिपर, इरिक्सा, मोटरसाइकल, साइकल चल्नुपर्दा बिहान–बेलुका घण्टौं जाम लाग्छ । धुलो र ठूला गाडीको हर्नले स्थानीय हैरान छन् । ‘पुल निर्माण हुन महिनौं लाग्छ । वैकल्पिक बाटो निर्माण गरेर मात्र पुल भत्काउनुपर्थ्यो,’ जनकपुर–१ पुल्चोकका साइकल व्यवसायी भरत साहले भने ।

बाटो अवरुद्ध भएयता पुल्चोक सुनसान भएको छ । जनकपुर–खरिहानी–सिमराढी र जनकपुर–तिनकौरिया–यदुकुहा सडक हुँदै पूर्वी धनुषावासीलाई मात्र होइन, मध्य धनुषा र सिरहासम्मका सर्वसाधारण जनकपुर आउजाउ गर्छन् । धान, गहुँ, तरकारीलगायत कृषि उत्पादन जनकपुर बजारसम्म ल्याउने तथा ग्रामीण क्षेत्रका पसलका लागि मालसामान आपूर्ति गर्ने सडक पनि यही हो । अहिले यिनै सडक ठप्प हुँदा ग्रामीण क्षेत्रका किसान तथा व्यवसायी पनि मर्कामा छन् ।

जलाद नदीको दुवै जीर्ण र पुरानो पुल भत्काएर नयाँ निर्माण गर्नुपर्ने माग पहिलेदेखि नै थियो । चालु आर्थिक वर्षमा दुवै पुल निर्माणका लागि ६/६ करोडका दरले १२ करोड रुपैयाँमा ठेक्का लागेको छ । सुगम निर्माण सेवाले जिम्मा लिएको दुवै पुल निर्माण आगामी असारसम्म सक्नुपर्ने सम्झौता छ । तर, पुल निर्माण र निर्माण कम्पनीबारे स्थानीय बेखबर छन् । निर्माण लागत, सम्झौता र सम्पन्न हुने मिति उल्लेखित बोर्ड जडान निर्माणस्थलमा राखिएको छैन । जनकपुरको कदम चोकस्थित ऋषि फर्निचरका सञ्चालक विजयकुमार साहले भने, ‘पुलको लागत इस्टिमेट र डिजाइन उल्लेखित बोर्ड राख्नुपर्ने प्रावधान भए पनि निर्माण कम्पनीले यसलाई वास्ता गरेका छैनन् ।’

हुलाकी सडक आयोजनाका डिभिजनल इन्जिनियर कृष्णदेव महतोले लागत इस्टिमेट विवरणसहितको बोर्ड यथाशीघ्र राखिने बताए । डिई महतोका अनुसार पुल भत्काउनुअघि जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बसेको थियो । बैठकको निर्णयअनुसार असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने उद्देश्यले पुल एकै पटक भत्काइएको हो । ‘दसैं, तिहार, निर्वाचनका कारण पुल निर्माण सुरु गर्न ढिलो भयो । आर्थिक वर्षभित्र काम सकिने उदेश्यले दुवै पुल एकैपटक भत्काइएको हो,’ महतोले भने ।

दुवै निर्माणस्थलमा खाली जग्गा नभएकाले वैकल्पिक मार्ग बनाउन कठिन भएको उनको भनाइ छ । तर, सर्वपक्षीय बैठकमा ठूला सवारीसाधन नगर बाहिरका मुजेलिया र लोहना सडकबाट चलाउनुपर्ने सहमति भएको छ । स्थानीयको दबाबमा बिहीबार पुल चोकमा वैकल्पिक बाँसको लचका (अस्थायी पुल) निर्माण गरिए पनि यसबाट नदी तर्नु जोखिमपूर्ण छ ।

प्रकाशित : चैत्र ११, २०७९ ०९:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×