लमजुङको जनसंख्याबारे केन्द्रीय र स्थानीय तहको तथ्यांक फरक

आश गुरुङ

लमजुङ — केन्द्रीय तथ्यांक विभागका अनुसार पछिल्लो १० वर्षमा लमजुङको जनसंख्या ० दशमलव ७ प्रतिशतले घटेको देखिन्छ । तर, यो तथ्यांक स्थानीय तहको तथ्यांकसँग मेल खाँदैन ।

लमजुङको जनसंख्याबारे केन्द्रीय र स्थानीय तहको तथ्यांक फरक

२०६८ मा १ लाख ६७ हजार ७ सय २४ रहेको जनसंख्या घटेर २०७८ मा १ लाख ५५ हजार ८ सय ५२ मा झरेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । यसमा पुरुष ७४ हजार ७७ जना छन् । महिलाको संख्या ८१ हजार ७ सय ७५ छ । परिवार संख्या भने ४४ हजार ७४ छ ।

लमजुङमा आफ्नै घर भएका घरपरिवार ३७ हजार ८ सय ७७ छन् । ५ हजार ९ सय ९९ परिवार भाडामा बस्दै आएका छन् । २ सय १५ परिवार संस्थागत रुपमा बस्दै आएका छन् । लमजुङका १६ हजार ८ सय ७१ जना विदेशमा छन् । यसमा १४ हजार ७ सय ६२ पुरुष र २ हजार १ सय ९ महिला छन् । लमजुङमा २ हजार ९ सय ७७ पुरुष र २ हजार ५ सय ८० महिला गरी ५ हजार ५ सय ५७ जना जना छन् ।

केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार लमजुङमा सबैभन्दा धेरै बेंसीसहर नगरपालिकामा १७ हजार ८ सय ७९ पुरुष र २० हजार ३ सय ३५ गरी ३८ हजार २ सय ३२ जनसंख्या रहेका छन् । बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले नगरपालिकाको जनसंख्या ४४ हजार ५ सय ९७ रहेको बताए । यो तथ्यांक नगरपालिकाको विकास योजना किताबमा पनि उल्लेख छ ।

‘केन्द्रीय तथ्यांक विभागले सर्वेक्षण गर्दा कैफियत हुनसक्छ । छुटेको हुन सक्छ । हाम्रो जनसंख्या घटेको छैन । बढेको छ’ उनले भने । जनसंख्या सर्भेक्षण राम्रोसँग नगर्दा जनसंख्या घटेको देखिएको उनले दाबी गरे । सबैभन्दा थोरै क्व्होलासोंथार गाउँपालिकामा ३ हजार ८ सय ४१ पुरुष र ४ हजार १ सय १९ महिला गरी ७ हजार ९ सय ६० जनसंख्या छ ।

सुन्दरबजार नगरपालिकामा १२ हजार ५ सय ११ पुरुष र १४ हजार ५ सय ३२ महिला गरी २७ हजार ४३ जनसंख्या छ । मध्यनेपालमा १० हजार ७६ पुरुष र ११ हजार ८ सय ९५ महिला गरी २१ हजार ७ सय ७१ जनसंख्या छ । राइनास नगरपालिकामा ७ हजार २ सय २ पुरुष र ९ हजार २ सय महिला गरी १७ हजार ४ सय २ जनसंख्या छ ।

मर्स्याङ्दी गाउँपालिकामा ८ हजार ३ सय ३० पुरुष र ८ हजार ७ सय ५० महिला गरी १७ हजार ८० जनसंख्या छ । दोर्दी गाउँपालिकामा ७ हजार ७ सय ७२ पुरुष र ८ हजार २ सय ७८ महिला गरी १६ हजार ५० जनसंख्या छ । दूधपोखरी गाउँपालिकामा ४ हजार १ सय ७९ पुरुष र ४ हजार ४ सय १३ महिला गरी ८ हजार ५ सय ९२ जनसंख्या छ । संस्थागगत १ हजार २ सय ८७ पुरुष र २ सय ३५ महिला गरी १ हजार ५ सय २२ जनसंख्या छ ।

लमजुङ जिल्ला अदालत बार इकाई अध्यक्ष अधिवक्ता बुद्धिसागर बराल भन्छन्, 'केन्द्रीय तथ्यांकलाई आधार मान्ने हो भने जनसंख्या घट्नुमा केही निष्कर्ष निकाल्न सकिन्छ । मुख्य कारण भनेको बसाइँसराई नै हो। यहाँका नागरिक पोखरा, चिनवन, काठमाडौंमात्रै होइन, विदेशमा समेत स्थायी बसोबासका लागि जाने गरेका छन् ।’

उनका अनुसार शिक्षा, स्वास्थ्य र रोजगारी खोज्दै बसाइँ सरिरहेका छन् । ‘जनताको आधारभूत आवश्यकता पूरा हुन सकेको छैन । सरकारले गाउँमा बस्ने वातावरण बनाएको छैन । शिक्षा, स्वास्थ्य, रोजगारी छैन । त्यसैले मानिस सहर झरेका छन् । बसाइँ सरेका छन्’ उनले भने ।

तथ्यांक विभागका अनुसार लमजुङमा ७७ दशमलब ४९ प्रतिशत साक्षर देखिएका छन् । यसमा पुरुष ८५ दशमलव ६४ प्रतिशत र महिला ७० दशमलब २३ प्रतिशत रहेका छन् । लमजुङका २२ हजार ९ सय ६३ परिवारले काठ दाउराले खाना बनाउने गरेका छन् । २० हजार १ सय १९ परिवारले ग्यासबाट र १ सय २६ परिवारले बिजुलीबाट खाना बनाउने गरेको तथ्यांक विभागले जनाएको छ ।

यस्तै लमजुङका ३ सय २ घरमा अझै पनि शौचालय छैन । १ सय ३० परिवारले सार्वजनिक शौचालय र ८ हजार ६ सय ७८ घरले खाल्टे चर्पी प्रयोग गर्दै आएको तथ्यांकले विभागले जनाएको छ ।

प्रकाशित : चैत्र १०, २०७९ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?