कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मध्यमर्स्याङ्दीको उत्पादन आधा मात्रै

पूर्ण क्षमतामा सञ्चालन गर्न पानी अभाव भएपछि दुईमध्ये एउटा मात्र टर्बाइन सञ्चालनमा
आश गुरुङ

लमजुङ — देशकै ठूलोमध्येमा पर्ने ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत्परियोजनाले २१ दिनको मर्मत सकेर बुधबारबाट उत्पादन थाले पनि आधा मात्रै विद्युत्उत्पादन भइरहेको छ । पूर्ण क्षमतामा संचालन गर्न पानी नपुगेपछि बृहत् मर्मत गरिएको टर्बाइन युनिट ‘२’ परीक्षण गरेर मात्रै राखिएको छ । दुइवटा टर्बाइन रहेको मध्यमर्स्याङ्दीमा अहिले युनिट ‘१’ मात्रै संचालनमा छ । 

मध्यमर्स्याङ्दीको उत्पादन आधा मात्रै

चैत पहिलो साता मनाङमा हिमपात भए पनि उत्पादनमा कुनै प्रभाव पार्न नसकेको मध्ममर्स्याङ्दी जलविद्युत् केन्द्र प्रमुख पवन बस्नेतले बताए । तापक्रम बढ्दै गएपछि परेको हिउँ माटोले सोसिदिएका कारण नदीनालाको बहाव बढ्न नसकेको हो । ‘अहिले पानी छैन । मर्मत गरिएको टर्बाइन केही दिन विस्तारै चलाउनुपर्ला । अर्को बनाएर राखेको यतिकै चलाएर पनि भएन,’ उनले भने । फागुन १६ बाट विद्युत्उत्पादन बन्द गरेर मर्मत थालेको जलविद्युत् परियोजनाबाट मंगलबार रातीदेखि विद्युत् उत्पादन थालिएको छ । पावरहाउस नियमित सञ्चालन हुने भएकाले ड्यामसाइटको मथिल्लो र तल्लो तटीय क्षेत्रको नदी छेउछाउ नजान जलविद्युत् केन्द्रले आग्रह गरेको छ ।

बस्नेतका अनुसार गतवर्ष नै मर्मत गर्ने भनिए पनि अन्य आयोजनामा बाढीपहिरोका कारण समस्या भएपछि मर्मत समय १ वर्षपछि धकेलिएको हो । अहिले लेफ्ट ब्याङ्क (बायाँ भित्ता) र विद्युतगृहको ओभरहेलिङ (बृहत मर्मतसम्भार) एकसाथ गरिएको हो । उनका अनुसार लेफ्ट ब्याङ्कमा बाँध नजिकै साढे ५ मिटर उचाइको करिब २ सय मिटर आरसीसी पर्खाल निर्माण गरिएको छ । आवश्यकता अनुसार ग्याबिन लगाइने भनिए पनि यो कार्य भने सकिएको छैन । केसी–अधिकारी जेभीले भ्याटसहित १२ करोड ३३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेर मर्मत गरिरहेको छ । जलाशयमा पानीको बहाबले लेफ्ट ब्याङ्क भत्काएपछि २०७४ मा ग्याविन पर्खाल लगाइएको थियो । ‘मोडलिङ’ राम्रोसँग नहुँदा यो आयोजनाले वर्षेनी समस्या खेप्नुपरेको प्राविधिक स्रोत बताउँछ । आयोजनाले भने नियमित मर्मत भन्दै आएका छन् ।

परियोजनाको बाँध क्षेत्रमा अत्याधिक बालुवा जम्ने समस्या छ । फ्लसिङ (ड्यामको ढोका खोलेर पानीसंगै बगाउँदा) पनि पूर्ण रुपमा नजाने समस्या छ । यो परियोजना निर्माणका बेला ५/५ वर्षमा मर्मत गर्नुपर्ने भनिएको थियो । अहिले २/२ वर्षमा मर्मत हुँदै आएको छ । रनअफ रिभर (पानीको बहावमा आधारित) यो परियोजनाको ड्यामबाट पानी लिक हुने (चुहिने), प्लास्टरका माथिल्लो लेयरहरू उक्किने, छड देखिने, ढुंगा थुप्रिने, टर्बाइनमा बालुवाको कण बढी जम्ने समस्या रहेको मर्मतमा सहभागी प्राविधिक बताउँछन् ।

प्रकाशित : चैत्र १०, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?