२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

तमानखोलामा बालगृह

बागलुङ — जिल्लाको तमानखोला गाउँपालिकाले बालगृह सञ्चालनमा ल्याएको छ । अनाथ तथा विपन्न समुदायका बालबालिकाको संरक्षण र पढाइका लागि बालगृह सञ्चालन ल्याएको हो ।

पालिका अध्यक्ष जोकलाल बुढाले यसअघि ५ वर्ष अध्यक्ष रहँदा जम्मा गरेको मासिक पारिश्रमिक तथा भत्ताबापतको रकम र पालिका रकम थपेर तमानखोला बालगृह सञ्चालनमा ल्याएको जनाएको छ । लक्षित समुदायका बालबालिकालाई निःशुल्क खाने, बस्ने र पढ्ने व्यवस्था छ ।

गत वैशाखमा दोस्रो पटक निर्वाचित अध्यक्ष बुढाले १० लाख रुपैयाँ आफ्नो व्यक्तिगत तवरबाट जम्मा गरेका थिए । यसैगरी वडा ३ का अध्यक्ष झकबहादुर बुढाले पनि बालगृहको कोषमा जम्मा हुने गरी मासिक पारिश्रमिकको ५ प्रतिशत रकम दिन थालेका छन् । अन्य वडाध्यक्षले पनि सहयोग गर्न थालेको जनाइएको छ ।

‘हामीले कसैलाई अनिवार्य भनेका छैनौं, हाम्रो सुरुवातले अरू साथी पनि जोडिनुभएको छ,’ अध्यक्ष बुढाले भने, ‘पालिका तहमा यो काम अनिवार्य भइसकेको रहेछ ।’ यो अभियानले विद्यालय बाहिर रहेका बालबालिका लाभान्वित हुने उनले बताए । गत जेठबाट बालगृह सञ्चालनमा ल्याइएको हो । ‘हाम्रो गाउँपालिकामा अनाथ र अशक्त तथा विपन्न बालबालिकाले पढ्न लेख्न नपाएको देखेपछि बालगृह चलाउने निधो गरेको थिएँ,’ अध्यक्ष बुढाले भने, ‘विस्तारै कोष बढाएर व्यवस्थित बनाउने योजना छ । कम्तीमा एक करोड रकमको कोष बनाएर बालगृह सञ्चालन गरिनेछ ।’

वडा ३ की लक्ष्मी गौतमको सिंगो घरलाई मासिक ३ हजार भाडामा लिएर बालगृह सञ्चालन गरिएको छ । अहिले आमाबाबु नभएका १५ जना अनाथ र १६ जना विपन्न परिवारका बालबालिका छन् । उनीहरूलाई धनगौ ज्योति माविमा पढ्ने व्यवस्था गरिएको छ । बिहानबेलुकी खानेबस्ने व्यवस्थापनका लागि स्थानीय विजय बुढाको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ । स्थानीय सुकमाया सिर्पालीले आमाको भूमिका निर्वाह गरेकी छन् ।

मासिक १० हजार तलब दिएर समितिले सिर्पालीलाई आमाका रूपमा नियुक्त गरेको वडाध्यक्ष झकबहादुर बुढाले जानकारी दिए । बालगृह सञ्चालन कार्यविधि बनाएर पालिकामा दर्ता गरी सञ्चालन गरेको उनले जनाए ।

प्रकाशित : चैत्र ९, २०७९ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?