उच्चस्तरीय टोलीद्वारा तनहुँ जलविद्युत आयोजना अनुगमन

तोकिएकै समयमा आयोजना सम्पन्न गर्न निर्देशन
सम्झना रसाइली

तनहुँ — एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले १४० मेगावाट जडित क्षमताको निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको स्थलगत अनुगमन भ्रमण गरेका छन् । अनुगमनको क्रममा उक्त टोलीले आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

उच्चस्तरीय टोलीद्वारा तनहुँ जलविद्युत आयोजना अनुगमन

एडीबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले सोमबार र मंगलबार आयोजनाको बाँध, भूमिगत विद्युतगृह, मुख्य सुरुङलगायत संरचनहरुको अनुगमन गरेका छन् । उनीहरुले आयोजनाको प्याकेज–१ (बाँध तथा हेडवर्क्स), दोस्रो प्याकेज–२ (विद्युतगृह, मुख्य सुरुङ तथा सम्बन्धित उपकरणहरु) र तेस्रो प्याकेज (दमौली–भरतपुर २२० केभी प्रसारण लाइन) निर्माणमा संलग्न आयोजना व्यवस्थापन अनुगमनको बारेमा निर्माण व्यवसायी तथा परामर्शदाताहरुसँग छलफल गरी निर्माण प्रगति, निर्माणमा देखिएका समस्या लगायत विषयमा छलफल गरेका थिए ।

निर्माणमा देखिएका समस्या समाधान गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने भन्दै नियोगका निर्देशक कुश्वाले आयोजनालाई तोकिएकै समयभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले भने, ‘मुख्य रुपमा प्याकेज–१ को निर्माण महत्त्वपूर्ण तथा चुनौतीपूर्ण देखिएकोले निर्माण विधिमा ध्यान दिई आवश्यक परे उपकरण तथा जनशक्ति थप गरी काम गर्नुहोला ।’ आयोजनाको समग्र निर्माण २०८३ जेठभित्र सक्ने लक्ष्य राखिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक एवम् आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावरका अध्यक्ष घिसिङले समयमा आयोजनाको निर्माण सम्पन्न गरी उज्यालो नेपाल अभियानलाई सार्थक बनाउन यो आयोजना महत्त्वपूर्ण रहने बताए ।

यस्तै, हाइड्रोपावरका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठले निर्माण कार्यमा भइरहेको प्रगतिबारे जानकारी गराएका थिए । आयोजनाको प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रलि नेपाल जेभीले गरिरहेको छ । उनले भने, ‘जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक २ वटा डाइभर्सन सुरुङ, बाँधको दायाँ तथा बायाँतर्फबाट स्लोप कटानलगायतका निर्माण कार्यहरु भइरहेका छन् ।’ ५३८.५ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ र ६२२.५ मिटर लम्बाइ भएको डाइभर्सन सुरुङ–२ को वारपार गरी (ब्रेक थ्रू) कंक्रिट लाइनिङको काम भइरहेको छ ।

प्योकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन, चीनले भूमिगत विद्युतगृह, मुख्य सुरुङ, र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका कार्यहरु गरिरहेको छ । विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ गरिरहेको छ । टेलरेस सुरुङ निर्माण अन्तिम चरणमा छ । पेनस्टक पाइप जडान तथा सर्ज ट्याङ्क निर्माण कार्य जारी रहेको छ । १४५६ मिटर मुख्य सुरुङमध्ये ७९० मिटर खन्ने कार्य सम्पन्न भएको छ ।

प्याकेज–३ अन्तर्गत केइसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण कार्य गरिरहेको छ । प्रसारण लाइनका ९४ वटा टावरमध्ये ५१ वटा टावरको जग हालिएको छ । साथै, ३२ वटा टावर जडान कार्य, ०.९८८३ किमी तार तान्ने र ८ वटा टावरको जग संरक्षण कार्य सम्पन्न भएको छ । एक स्थानमा टावर जडान, दुई स्थानमा संरक्षण कार्य र ६ स्थानमा जग हाल्ने कार्य भइरहेका छन् ।

आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रकाशित : चैत्र ८, २०७९ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?