जनप्रतिनिधिको भत्ताबाट शिक्षकलाई तलब

सम्झना रसाइली

तनहुँ — तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिको तलबबाट शिक्षकलाई तलब खुवाउने गरेको छ । चालु आर्थिक वर्षको नीति, कार्यक्रम अनुसार गाउँपालिकाले नियुक्त गरेको स्वयंसेवक शिक्षकलाई गाउँपालिकाले कार्यपालिका बैठक भत्ताबाट तलब खुवाउने गरेको छ ।

शिक्षकको दरबन्दी कम भएको विद्यालयमा गाउँपालिकाले आन्तरिक श्रोतबाट तलब खुवाउने गरी १३ जना स्वयंसेवक शिक्षक नियुक्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए । उनले भने, ‘१२ जना शिक्षकलाई गाउँपालिकाको आन्तरिक श्रोतबाट तलब खुवाइएको छ भने एक जनालाई म लगायत अन्य १५ जना गाउँकार्यपालिका सदस्यको कार्यपालिका बैठकमा प्राप्त हुने भत्ताबाट तलब खुवाउने गरेका छौं ।’

शिक्षकहरुले प्रतिमहिना २०/२० हजार रुपैयाँका दरले तलब पाउँछन् । शर्माका अनुसार कार्यपालिका सदस्यलाई प्रत्येक बैठकमा ८५० रुपैयाँको दरले भत्ता प्राप्त हुन्छ । उनले भने, ‘गत साउनबाट कार्यपालिका सदस्यहरुले आफ्नो बैठक भत्ताबाट एक जना शिक्षकलाई तबल खुवाउँदै आउनुभएको छ ।’ ८ महिनाको अवधिमा गाउँपालिकामा १७ पटक कार्यपालिकाको बैठक बसेको जानकारी गराइएको छ ।

यस्तै, गाउँपालिकाका जनप्रतिनिधिले आफ्ना छोराछोरी आमागी शैक्षिक सत्रबाट सामुदायिक विद्यालयमा पढाउने भएका छन् । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको गाउँपाकिलाका अध्यक्ष शुक्र चुमानले बताए ।

गाउँपालिकामा ३२ जनप्रतिनिधि छन् । आँबुखैरेनी गाउँपालिकामा ३५ सामुदायिक विद्यालय छन् । ‘सामुदायिक विद्यालयको स्तर सुधार्नुपर्छ भनेर भन्दै हिँड्दा हामी अधिकांश जनप्रतिनिधिहरुले आफ्नै छोराछोरीलाई भने सामुदायिक विद्यालयमा पढाउँदैनौं’, उनले भने, ‘अब यस गाउँपालिकाभित्रका जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाएका छौं । यसले गर्दा सरकारी विद्यालयप्रति अपनत्व बढ्छ ।’

गाउँपालिकाले सामुदायिक विद्यालयमा अनुदानमा बस वितरणको तयारीसमेत थालेको छ । पहिलो चरणमा करिब चार विद्यालयलाई बस हस्तान्तरण गरिने अध्यक्ष चुमानले बताए ।

प्रकाशित : चैत्र ७, २०७९ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्

जनसरोकारका विषय पहिचान गर्न स्थानीय कमिटीलाई एमालेको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)ले जनसरोकारको विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरुलाई निर्देशन दिएको छ । एमालेका उपमहासचिव विष्णु रिमालले जनसरोकारका विषय पहिचान गर्न पार्टीका सबै पालिकास्तरीय कमिटीहरुलाई निर्देशन दिइएको बताएका हुन् ।

एमाले उपत्यका विशेष प्रदेश कमिटीले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजना गरेको ‘अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण’ कार्यक्रम बोल्दै उनले चैतको २० देखि २५ गतेसम्म ५ दिन पालिकास्तरका जनसरोकारको विषयमा रिर्पोटिङका लागि पालिकास्तरीय कमिटीहरुलाई समय तोकिएको पनि स्मरण गराए ।

त्यसैगरी २५ देखि ३० गतेसम्म जिल्लाले आफ्नो सो विषयको रिपोर्ट बनाउनुपर्ने उपमहासचिव रिमालको भनाइ थियो । ‘जनसरोकारको विषयको पहिचान गर भनेर भनेका छौं । यो चाहिँ ७५३ वटै स्थानीय तहबाट हुनु पर्‍यो । ती कमिटीहरुबाट हामीले सुझाव मागेका छौं,' उनले भने, 'तपाईंहरु जुन-जुन पेसा र व्यवसायमा हुनुहुन्छ । त्यो पेसा र व्यवसायको पहिचान पनि त्यसमा राख्नुपर्‍यो । भौतिक पूर्वाधारको क्षेत्रमा के छ ?, किसानहरुले भोगिरहेका समस्या के छन् ? पार्टीले आउने यो महिनाको २० गतेबाट २५ गतेसम्म हामी पालिका तहको रिपोर्टिङ तयार गर्नेछ यही विषयमा ।’

उपमहासचिव रिमालले पार्टीका स्थानीय कमिटीहरुले किसानले भोगिरहेका समस्याबारे, त्यहाँको भौतिक पूर्वाधार क्षेत्रको विकासबारे पनि पार्टीको माथिल्लो कमिटीलाई रिपोर्टिङ गर्नुपर्ने योजना तय गरिएको बताए । पार्टीले जनताको पक्षमा काम गर्नका लागि पनि पार्टी कमिटीहरुले रिपोर्टिङको कामलाई अघि बढाउनुपर्ने उनको तर्क थियो ।

प्रकाशित : चैत्र ७, २०७९ १५:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×