म्याग्दी — भारतको आन्ध्र प्रदेशबाट मुक्तिनाथ दर्शन गर्न आएकी एक यात्रु शुक्रबार राति ८ बजेदेखि बेनी नगरपालिका–९ गलेश्वरबाट बेपत्ता भएकी छिन् ।प्रहरीका अनुसार भारत आन्ध्र प्रदेशबाट ४ वटा बसमा तीर्थयात्री मुक्तिनाथ दर्शन गर्न आएका थिए ।
भारतबाट पोखरा बास बसी पोखराबाट मुक्तिनाथ र मुक्तिनाथ दर्शन गरी तेस्रो दिन फर्कने क्रममा सिरिसा मोरला नाम गरेकी ती भारतीय पर्यटक शुक्रबार राति ८ बजेतिर गलेश्वरमा खाना खान ओर्लेकी थिइन् । खाना खाएपछि अन्य यात्रु बसमा फर्के पनि सिरिया नफर्केपछि अर्को बसमा चढेकी हुन सक्ने भन्दै साथी गाडी लिएर हिँडेका थिए ।
पोखरा पुगेर सोधीखोजी गर्दा अर्को बसमा पनि नभेटेपछि सिरिसा हराएको पत्तो लागेको थियो । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार टोलीले सिरिया गलेश्वरसम्म आएको र सोही स्थानबाट हराएको जानकारी गराएपछि खोजी कार्य भइरहेको छ । स्थानीय परिचालन गरी गलेश्वर क्षेत्र र बेनीबाट पोखरा हुँदै भैरहवा क्षेत्रमा छुट्ने गाडीमा पनि खोजी गरिरहेको तर हालसम्म कुनै पत्तो नलागेको प्रहरीले बताएको छ ।
‘खाना खान राति ८ बजेतिर गलेश्वरको एक होटलमा ओर्लेको, खानापछि उनी सवार बसमा नफर्केपछि अर्को बसमा साथीहरुसँग चढेको हुनसक्ने भन्दै सवार बसका चालक तथा साथीहरु हिँडेको तर पोखरा पुग्दा साथी नभएको बल्न पत्ता लागेको भन्ने जानकारी छ,’ प्रहरी नायब उपरीक्षक मदन कुँवरले भने, ‘सम्भावित सवै क्षेत्र र नाकामा व्यापक खोजी गरिरहेका छौं । पत्ता लागेको छैन ।’
प्रकाशित : चैत्र ७, २०७९ १०:५२