रणनीतिक सडक निर्माणमा ढिलाइ

प्रकाश बराल

बागलुङ — ठेकेदारले सम्झौताअनुरूप नियमित काम गरेको भए अहिलेसम्म ताराखोला जाने सडक कालोपत्र भइसक्नुपर्ने थियो । ताराखोला गाउँपालिकालाई केन्द्र बनाएर गलकोट नगरपालिका र म्याग्दी जोड्ने उक्त रणनीतिक सडक म्याद सकिएको २ वर्षमा पनि अझै अलपत्र अवस्थामा छ ।

झन्डै ४० किमि लामो रणनीतिक सडकमध्ये २० किमीको मात्रै डीपीआर बनेको थियो । उक्त खण्डको पनि आधामात्रै सडक कालोपत्र गर्न ठेक्का लगाइएकामा त्यो समेत आधा मात्रै काम भएको हो । ठेकेदार कम्पनीले ढिलाइ गरेको पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख गणेश सुवेदीले बताए । ठेक्का लिएको १० किमिमध्ये साढे ५ किमि सडकमा बेस राखेर ग्राभेल भरे पनि बाँकी खण्डमा काम सुरु नै नभएको सुवेदीले बताए । ‘अनुगमन गर्दा अहिलेसम्म ५० प्रतिशत रकम भुक्तानी भइसकेको छ, काम ५० प्रतिशत पनि भएको छैन’ उनले भने ।

एपेक्स खड्का कृष्ण संयुक्त निर्माण कम्पनीले यो सडक बनाउन ठेक्का लिएको म्यादसमेत दुई पटक थपेको छ । आगामी मंसिर मसान्तसम्मका लागि थपेको म्यादमा पनि काम सक्ने लक्षण नदेखिएको सुवेदीले बताए । कम्पनीले २४ करोड ७८ लाख रुपैयाँमा यो सडकको १० किमि खण्ड कालोपत्र गर्न ठेक्का लिएको हो । अहिलेसम्म १२ करोडभन्दा धेरै रकम भुक्तानीसमेत भइसकेको छ ।

सडक अलपत्र पर्दा गलकोट नगरपालिका–५ र ६ तथा ताराखोला–१ र ३ का बासिन्दाले बढी सास्ती खेपेका छन् । निर्माणाधीन सडकमा असरल्ल छाडिएका निर्माण सामग्री र खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको स्थानीय वसन्त विकले बताए । ‘खाल्डाखुल्डी र धूलोले ताराखोला पुग्ने सडकमा हिउँदमै समस्या छ, वर्षातमा के होला ?’ विकले भने, ‘सडकको काम अहिले ठप्पै छ, सक्ने सुरसार नै छैन ।’ ठेकेदार कम्पनीका प्रतिनिधि रामु कँडेलले विद्युत्का पोल हटाउनुपर्दा प्रक्रियामा ढिला भएको दाबी गरे ।

प्रकाशित : चैत्र ७, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्

असिनाले स्याउ र तरकारी नष्ट

कान्तिपुर संवाददाता

जाजरकोट — आइतबार र सोमबार परेको असिनापानीले जाजरकोटका पहाडी भूभागमा अन्नबाली, तरकारी र फुलेका स्याउबारी नष्ट गरेको छ । चैतको सुरुवातसँगै झन्डै ६ महिनापछि माटो भिज्ने गरी वर्षा हुँदा खुसी भएका जाजरकोटका किसान आइतबार परेको असिनापानीले अन्नबाली र फलफूल नष्ट गरिदिँदा चिन्तित भएका छन् ।

लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली नसप्रेको अवस्थामा पाक्नै लागेको गहुँ र जौं हिउँदेबालीसमेत असिनाले नाश गरिदिएपछि किसान चिन्तित छन् । जाजरकोटका पश्चिम कुशे, छेडागाड र उत्तरी भेक बारेकोट गाउँपालिकामा असिना परेको थियो । कुशेको ढिमे र दम्दाला, बारेकोटका ९ वडा असिना प्रभावित भएको प्रदेशसभा सदस्य वेदराज सिंहले बताए ।

हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको बारेकोट सिर्पाचौरका किसान तिलबहादुर थापा बताउँछन् । आइतबार र सोमबार अपराह्न हिउँजस्तै जम्ने गरी असिना परेको र खेतबारीमा पाक्नै लागेको बाली सबै नष्ट गरिदिएको थापाको भनाइ छ । खेतबारीमा लगाएको गहुँ, तोरी, केराउ, जौं, उवालगायत भित्र्याउने समय भइसकेका हिउँदेबालीमा असिनाले क्षति गरेको छ । भर्खरै उम्रँदै गरेको बेमौसमी तरकारी सिमी, आलु, काँक्रो, घिरौलालगायतका तरकारी र अन्न बालीका बिरुवासमेत क्षति पुगेको दम्दालाका किसान कृष्णबहादुर मल्लले बताए ।

त्यसैगरी सुन्तला जातका फलफूल र केरा खेतीमा पनि असिनाले क्षति पुर्‍याएको छ । असिनाले गरेको क्षतिको विवरण संकलन भइरहेको छेडागाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले बताए । कुशे गाउँपालिका प्रमुख हरिश्चन्द्र बस्नेतले जिल्लाको पश्चिम भेकमा अलिअलि भएको बालीसमेत असिनाले नष्ट गरिदिँदा किसान मारमा परेको बताए ।

प्रकाशित : चैत्र ७, २०७९ ०८:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×