विद्यार्थी नै भान्सेदेखि विक्रेतासम्म

घनश्याम खड्का

म्याग्दी — कक्षा ७ मा अध्ययनरत अनिमा केसी, प्रियंका मल्ल, दिप्सना सापकोटासहित ९ जना साथीले खोलेको खाना स्टलमा एग रोल, चपाटी, सेलरोटी, अचार, चिया पाइन्छ । उनीहरूले एक सय ५० रुपैयाँका दरले १ हजार ४ सय रुपैयाँ लागानीमा खोलेको खाना स्टलबाट दुई हजार एक सयको व्यापार गरे ।

विद्यार्थी नै भान्सेदेखि विक्रेतासम्म

त्यसैगरी कक्षा ८ मा अध्ययनरत १६ छात्रा मिलेर खोलेको रेस्टुरेन्टमा सेकुवा, मःमसमेत पाइन्छ । दुई हजार ८० रुपैयाँ लगानीमा खोलिएको रेस्टुरेन्टबाट उनीहरूले एकैदिन चार हजार ६ सय ५० रुपैयाँको खाजा बेचे ।

सदरमुकाम बेनीको लिटल गार्डेन एकेडेमीले कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थीको प्रयोगात्मक सीप विकासका लागि आइतबार एकदिने खाना महोत्सव आयोजना गरेको थियो । ‘स्कुलमा पेसा विषयमा व्यवसाय के हो, कसरी गर्ने र व्यावसायिक सीप के हुन् भन्ने पढेका थियौं । स्कुलमा पढेको र घरमा सीकेको पाक सीपको व्यावहारिक अभ्यास गरी महोत्सवमा सहभागी भएका हौं,’ कक्षा ९ की अनिमा केसीले भनिन्, ‘किताबमा पढेअनुसार खाना महोत्सवमा व्यापार कला पनि अभ्यास गरेका हौं ।’

महोत्सवमा खाना पकाउने, बिक्री गर्ने, ग्राहक व्यवस्थापन गर्ने र लगानी तथा लाभको हिसाब राख्ने सबै काम विद्यार्थीले गरेका थिए । कक्षागत र छात्रछात्राको छुट्टाछुट्टै ८ वटा खानाका स्टल थिए । महोत्सवमा चिकेन बिर्यानी, ससेज, मःम, एग रोल, चिया, सेलरोटी, अचार, सेकुवा, लस्सीलगायत दर्जनभन्दा बढी परिकार थिए । खानाको स्वाद र मूल्य स्टलअनुसार फरक थियो । ‘स्कुलमा पेसा व्यवसायसम्बन्धी विषय पढे पनि केटाहरूले खाना पकाउन जानेका हुन्नन् वा चासो राख्दैनन् भन्ने मान्यता तोड्न पनि छात्रको छुट्टै स्टल राखेका छौं,’ कक्षा ९ का रन्जित आरडीले भने, ‘हाम्रो स्टलको मुख्य आकर्षण चिकन बिर्यानी हो । र, महोत्सवमा सबैभन्दा बढी पनि यही बिक्री भयो ।’ सफल सापकोटाले थपे, ‘खाना बनाउन त घरमै सिकेका थियौं । यहाँ कसरी बेच्ने भन्ने व्यावसायिक र प्रयोगात्मक अभ्यास पनि भयो ।’

विद्यार्थीले पेसा विषय अध्ययनक्रममा सिकेका ज्ञान र घरमा सिकेका पाक कलालाई प्रयोग गरी खाना महोत्सव गरेका हुन् । सोही खाना महोत्सवमा विद्यार्थीले विभिन्न परिकार पकाउने र ग्राहकलाई बेच्ने गरेका थिए । विद्यार्थीले पकाएको खानाको परिकार महोत्सवमा आएका अभिभावक, आमन्त्रित र विद्यार्थीले एकापसमा किनेर खाएका थिए ।

प्रकाशित : चैत्र ६, २०७९ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?