कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

गाउँगाउँमा फुटबल क्रेज

आश गुरुङ

लमजुङ — पुस दोस्रो साता सदरमुकाम बेंसीसहरमा ५ लाख रुपैयाँ पुरस्कार राशिको त्रिवेणी कप फुटबल प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा जिल्लाका अब्बल क्लब र खेलाडीले भाग लिए । काठमाडौं, चितवनलगायत बाहिरी जिल्लाका पनि आए ।

गाउँगाउँमा फुटबल क्रेज

त्रिवेणी कपमै खेलेका केही खेलाडीले गाउँमा आयोजित सेभेन–ए साइड फुटबल प्रतियोगितामा पनि भाग लिए । तीज पर्वदेखि यस जिल्लामा फुटबल प्रतियोगिता सुरु हुन्छ । दसैं/तिहार, ल्होसार, माघेसंक्रान्ति, शिवरात्रि, फागुपूर्णिमा, नयाँ वर्षमा फुटबल खेलाइन्छ । आफ्नो गाउँमा फुटबल आयोजना हुँदा विदेशमा रहेका कतिपय गाउँमा आउँछन् ।

गणतन्त्र स्थापनाअघि फागुन ७ गते प्रजातन्त्र दिवसमा खेलाइने कतिपय फुटबल प्रतियोगितालाई गाउँगाउँमा अहिले पनि जारी राखिएको छ । ‘सहरको फुटबलमा गाउँलेको खासै महत्त्व हुँदैन । फुटबल हुँदा विदेश गएका र सहरबजारका आफन्त आउँछन् । खेलमैदान वरपर दर्शक ओइरिएका हुन्छन्,’ क्ब्होलासोंथार गाउँपालिका युवा तथा खेलकुद समितिका अध्यक्ष नौराज गुरुङले भने ।

लमजुङमा १ लाख रुपैयाँ बढी पुरस्कार राखेर फुटबलका प्रतियोगिता आयोजना हुन्छन् । जहाँ ९/९ वा ७/७ जनालाई फुटबल खेलाइन्छ । केही ठाउँमा इलाभेन ‘ए’ साइड (पूर्ण क्षमता) को फुटबल खेलमैदान निर्माण गरिएका छन् । रेफ्री विष्णु गुरुङका अनुसार हिजोआज गाउँगाउँमा फुटबल प्रतियोगिता आयोजना भएको छ । ‘सहरमा आएर गाउँघरका बाआमाले फुटबल हेर्न सक्नुहुन्न । गाउँको फुटबल प्रतियोगितालाई बालबालिकादेखि बूढाबूढीसम्मले हेर्छन्,’ उनले भने । यस्ता प्रतियोगितामा गाउँकै खेलाडी बढी हुने भएकाले उनीहरूको प्रतिभा प्रस्फुटन समेत हुन्छ । यसले जिल्लादेखि प्रदेश र राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरसम्म पुग्ने बाटो खुल्ने उनी बताउँछन् ।

फुटबल प्रशिक्षक इन्द्र रानाका अनुसार गाउँबाट खेल्दै आएका खेलाडी अहिले राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा पुगेका छन् । मर्स्याङ्दी–९ सिम्पानीका सावित्रा भण्डारी अहिले राष्ट्रिय खेलाडी छिन् । क्ब्होलासोंथार–७ भोंजेका जय गुरुङ ‘ए’ डिभिजन खेल्ने खुमलटार फुटबल क्लबका कप्तान हुन् । पहिले राष्ट्रिय टिममा रहेका मर्स्याङ्दी–४ ताघ्रिङका दीपक गुरुङ अहिले त्रिभुवन आर्मीबाट खेल्छन् । मर्स्याङ्दी–२ घनपोखराका दीपेश गुरुङ पनि त्रिभुवन आर्मी क्लबबाट खेल्छन् । एनआरटीबाट खेल्ने क्ब्होलासोंथार–४ भुजुङका सुवास गुरुङ भने अहिले हङकङमा छन् ।

बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालका अनुसार अहिले वडैपिच्छे फुटबल प्रतियोगिता हुने गर्छ । वडामा खेलमैदान निर्माणका लागि सहयोग गरिएको उनले बताए । ‘गाउँगाउँबाट फुटबल कार्यक्रममा बोलाउनुहुन्छ । कार्यक्रममा सहभागी हुन पुग्छु । खेलकुदका लागि के गर्न सकिन्छ, अध्ययन गर्दै र सहयोग गर्दै आएको छ,ु’ उनले भने । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले गाउँका किशोर तथा युवा फुटबलप्रति आकर्षित भएको बताए । ‘यहाँ हरेक वडामा कुनै न कुनै समय फुटबल प्रतियोगिता हुन्छ । हामीले सहयोग गरिरहेका छौं,’ उनले भने । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङका अनुसार लमजुङमा सेभेन ‘ए’ साइडका १ सयभन्दा बढी फुटबल मैदान छन् । जिल्लाका ८ गाउँपालिकाका ७५ वटै वडामा फुटबल खेलमैदान छन् । कुनै वडामा २ भन्दा बढी पनि छन् । सबै खेलमैदानमा कुनै न कुनै अवसरमा फुटबल प्रतियोगिता हुन्छ । युवा क्लबले मात्र नभएर पछिल्लो समय स्थानीय तह, वडा कार्यालय साथै विभिन्न सामाजिक संघसंस्थाले पनि फुटबल प्रतियोगिता आयोजना गर्ने गरेका छन् ।

प्रकाशित : चैत्र ६, २०७९ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?