पूर्वीनवलपरासीको कुमारवर्ती क्याम्पसमा नेविसंघको प्यानल विजयी- गण्डकी - कान्तिपुर समाचार

पूर्वीनवलपरासीको कुमारवर्ती क्याम्पसमा नेविसंघको प्यानल विजयी

कान्तिपुर संवाददाता

पूर्वीनवलपरासी — पूर्वी नवलपरासीको सबैभन्दा जेठो कुमारवर्ती बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा भारी मतान्तरले नेविसंघको प्यानल विजयी भएको छ । सभापतिमा नेविसंघका सुदिप चापागाईं, सचिवमा कुमार सिंजाली मगर, कोषाध्यक्ष वर्षा खरेल निर्वाचित भएका छन् ।

चापागाईंले २ सय २९ मत ल्याउँदा प्रतिस्पर्धी अनेरास्ववियुका गौरव अधिकारीले ३९ मत पाए । यहाँ नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त प्यानल बनाएर चुनावमा होमिएका थिए । निर्वाचन समितिका अनुसार यहाँ विजयी टिमले दुई तिहाईभन्दा बढी मत ल्याएको छ ।

सदस्यहरुमा सिर्जना श्रेष्ठ, कृष्ण रिजाल, अखिल (क्रान्तिकारी)की लोकमाया दर्लामी विजयी भएका छन् ।

कावासोतीकै मध्यबिन्दु बहुमुखी क्याम्पस र देवचुली क्याम्पस रजहरमा मतगणना जारी छ । यसअघि नै तीनवटा क्याम्पसमा निर्विरोध समिति चयन भैसकेको छ । कालिका बिद्यापिठ, एसपिएम कलेज गैंडाकोटमा नेविसंघको प्यानलनै निर्विरोध भैसकेको छ भने अरुणखोला बहुमुखी क्याम्पसमा गोला तानेर निर्वाचन परिणाम घोषणा गरिएको हो ।

नवजागरण बहुमुखी क्याम्पसमा स्थगित

विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद भएको चोरमारास्थित नवजागरण बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित भएको छ । नेविसंघले नयाँ विद्यार्थी भर्ना गरेको आरोप लगाउँदै एमाले निकट अखिलले क्याम्पसमा तालाबन्दी गरेकाले निर्वाचन हुन नसकेको हो ।

प्रकाशित : चैत्र ५, २०७९ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्

दुर्घटनामा श्रीमान्‌को मृत्यु, श्रीमती र छोरी घाइते

दुर्गालाल केसी

दाङ — दाङमा आइतबार बेलुका सवारी दुर्घटना हु्ँदा श्रीमान्‌को मृत्यु भएको छ भने श्रीमती र छोरी घाइते भएका छन् । 

घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश ०३—००१ क. ०१६९ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आउँदै गरेको वाग्मती प्रदेश ०२—०१६ प.३६५७ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका-३ कुइरेपानीमा ठक्कर दिंदा मोटरसाइकल चालक नौबहिनी गाउँपालिका-६ प्यूठान निवासी ३२ वर्षीय राजन केसीको मृत्यु भएको छ । दुर्घटनामा घाइते केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए । दुर्घटनामा मोटरसाइकलमा सवार केसीकी श्रीमती २६ वर्षीया सन्ध्या र दुई वर्षीया छोरी राष्ट्रियता सख्त घाइते भएका छन् ।

मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको डीएसपी गौतमले जानकारी दिए ।


प्रकाशित : चैत्र ५, २०७९ २१:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×