कार्यकर्ता भर्तीकेन्द्र बने प्रदेशका आयोग र बोर्ड- गण्डकी - कान्तिपुर समाचार

कार्यकर्ता भर्तीकेन्द्र बने प्रदेशका आयोग र बोर्ड

डेढ दर्जनभन्दा बढी आयोग, समिति र बोर्ड गठन गरेको गण्डकी सरकारका लागि आफ्ना कार्यकर्ता पोस्ने थलो मात्र
प्रतीक्षा काफ्ले

कास्की — ऐन बनेको लामो समयपछि गण्डकी प्रदेशमा गण्डकी दुग्ध विकास बोर्डले उपाध्यक्षमा पूर्वप्रतिनिधिसभा सदस्य तिलकबहादुर महत क्षेत्री (तिलक महत) नियुक्त भएका छन् । उपराष्ट्रपति निर्वाचनसम्म पर्ख र हेरको अवस्थामा रहेका मुख्यमन्त्री खगराज अधिकारीले हतारहतारमा महतलाई नियुक्त गरेका हुन् । महतको कार्यकाल ४ वर्षे रहनेछ । प्रदेश सरकारको सहायक मन्त्रीसरह उनले सेवासुविधा पाउने छन् । 

सरकारले २०७५ मा दुग्ध विकास बोर्ड ऐन ल्यायो । ऐनमा उपाध्यक्ष रहने व्यवस्था भए पनि काम, कर्तव्य र अधिकारबारे उल्लेख छैन । कार्यालयसमेत नरहेको बोर्डमा कार्यकर्ता व्यवस्थापन गर्ने लक्ष्यले मुख्यमन्त्रीले एकै पटक महतलाई उपाध्यक्ष नियुक्त गरेका हुन् । स्रोतका अनुसार अधिकारीले मन्त्रिपरिषद् बैठकमा सल्लाह नगरी सिधै नियुक्तिको प्रस्ताव लगेका थिए । तत्कालीन समयमा माओवादी नेता राजकाजी गुरुङलाई उपाध्यक्ष बनाउने चर्चा भएपछि कांग्रेसले विरोध गरेको थियो । त्यसपछि एमालेका नेता पुण्य पौडेलको चर्चा चल्यो । अहिले केन्द्रमा राजीतिक समीकरण फेरिएकै बेला मुख्यमन्त्री अधिकारीले महतलाई उपाध्यक्ष नियुक्त गरेका हुन् ।

कृषि क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको वा नीति निर्माणमा कम्तीमा ४ वर्षको अनुभव भएको व्यक्ति उपाध्यक्ष हुन सक्ने ऐनमा छ । बोर्डको अध्यक्ष कृषिमन्त्री रहने व्यवस्था छ । बोर्डको कार्यालय कहाँ राख्ने भन्ने विषयमा अहिलेसम्म मन्त्रालयलाई थाहा छैन । बोर्डको कार्यालय स्थापनासँगै दैनिक कार्यसम्पादन सुरु हुने बोर्डका सदस्य सचिव ग्रीष्म न्यौपानेले जानकारी दिए । बोर्डमा प्रमुख कार्यकारी नहुँदा नवौं तहका अधिकृतले सदस्य सचिवका रूपमा काम गर्ने व्यवस्थाअनुसार ग्रीष्मलाई नियुक्त गरिएको थियो । तर, बोर्डमा अहिलेसम्म कुनै काम गर्न नसकिएको उनले बताए ।

‘चीनबाट १० हजार गाई ल्याउने तयारी थियो,’ उनले भने, ‘ऐन ल्याएपछि प्रदेश सरकारले ०७५ फागुन १७ मा चीनको चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्स (सीएएएमएस) सँग सम्झौता पनि गरेको थियो ।’ उनले प्रदेश सरकारबाट ०७६ माघ १२ मा ५१ प्रतिशत (११ करोड) सेयर हाल्ने योजना बनाएर गण्डकी काउ फार्म स्थापना गर्ने निर्णय भए पनि योजना अघि बढ्न नसकेको बताए । प्रदेश सरकारले गण्डकी काउ फार्मलाई प्रदेश गौरवको आयोजनका रूपमा अगाडि बढाएको थियो । जग्गा खरिदको लागि स्याङ्जा र तनहुँमा प्रक्रिया अगाडि बढाइयो । गण्डकी काउ फार्मका अध्यक्ष रामुकमार खड्कामाथि संसद्मा प्रश्न उठेपछि सरकार पछि हट्यो । तत्कालीन सांसद गायत्री गुरुङको संयोजकत्वमा छानबिन समिति बनेर प्रतिवेदनसमेत संसद्मा पेस भएको थियो । गत मंसिरमा २० करोडको छुट्टै कोष खोल्ने प्रक्रिया अगाडि बढाए पनि अर्थ मन्त्रालयले रोकेको थियो ।

अधिकारी नेतृत्वको सरकार गठन भएसँगै प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा एमालेको कोटाबाट गिरीधारी शर्मा पौडेल नियुक्त भए । सदस्यमा माओवादी कोटाबाट सुवास अधिकारी र एमालेकी शान्ताकुमारी खत्री नियुक्त भए । मुख्य न्यायाधिवक्तामा एमालेका श्रीकान्त बराल नियुक्त भएका छन् । तत्कालीन वन मन्त्रालयको जिम्मेवारी माओवादीका दीपक थापाले समालेको भए पनि ताल संरक्षण तथा विकास प्राधिकरणको कार्यकारी प्रमुखमा कांग्रेस कोटाबाट कल्पनादेवी देवकोटा नियुक्त भएकी छन् । कांग्रेसबाट मुख्यमन्त्री भएका कृष्णचन्द्र नेपालीले देवकोटालाई नियुक्त गरे पनि समितिमा सदस्य पद भने रिक्त छन् । गण्डकी सरकारले डेढ दर्जनभन्दा बढी आयोग, समिति र बोर्ड गठन गरेको छ । तर, यी कार्यकर्ता भर्ती केन्द्रमात्रै बनेका छन् । लक्ष्य र योजनाबिना गठन गरिएका यस्ता ठाउँमा सरकारले ठूलो बजेट खर्च गरे पनि प्रभावकारिता शून्य छ । पदाधिकारी फुर्सदिला छन् । तलब, भत्ता लिने र अनावश्यक कार्यालयका संरचना थप्ने र कार्यकर्ता करार कर्मचारीको रूपमा भर्ती गर्नेबाहेक अन्य काम छैन ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा एमाले निकटका ऋषिराम पाण्डे नियुक्त भएका छन् । गण्डकी विश्वविद्यालयमा एमालेकै गणेशमान गुरुङ कुलपति नियुक्त भए । उपकुलपति नवराज देवकोटा, रजिस्ट्रार कैलाश तिमिल्सिनालगायत विभिन्न पदमा दर्जनौं व्यक्ति नियुक्त गरिएको छ । प्रदेश लोक सेवा आयोगको अध्यक्षमा विष्णुप्रसाद नेपाल नियुक्त भए । नेपाल सरकारका पूर्वसचिवसमेत रहेका नेपाल एमालेकै कोटाबाट अध्यक्ष भएका थिए । संक्रमण तथा सरुवा रोग अस्पतालमा कार्यकारी निर्देशकको पदमा डा. विकास गौचन नियुक्त भए । उनलाई पनि एमालेका पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री भएका बेला नियुक्त गरिएको हो । प्रदेश खेलकुद परिषद्को सदस्यसचिव एमालेका तेज गुरुङ नियुक्त भएका थिए । उमेर हदका कारण गुरुङ अवकाश भएपछि अहिले उक्त पद रिक्त छ । यस्तै, प्रदेशका ११ वटै जिल्ला खेलकुद विकास विकास समितिको अध्यक्षमा पनि एमालेले एकलौटी नियुक्त गरेको थियो । गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतिमा एमाले समर्थित सूर्यबहादुर खड्का नियुक्त भए ।

गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानमा कार्यकारी निर्देशक सोमनाथ सापकोटा छन् । गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा ढाकाराम भण्डारी रहेका छन् । उनीहरूको कार्यकाल ४/४ वर्षको रहनेछ । योजना आयोगका सदस्य सुवास अधिकारीका अनुसार गण्डकी सरकार विकास बोर्ड गठन गर्ने तयारीमा छ । अधिकारी भन्छन्, ‘प्रदेश नीति तथा योजना आयोग गठन भएपछि विकास बोर्ड किन चाहियो ? कामको प्रकृति एउटै हो । अनावश्यक खर्च मात्र ।’ उनले विकास बोर्ड गठन गर्ने भए सरकारले चालु खर्च बचतका लागि योजना आयोग हटाउनुपर्ने बताए । मुख्य न्यायाधिवक्ता र योजना आयोगका पदाधिकारी सरकारसँगै परिवर्तन हुन्छन् । तर, अन्य बोर्ड, प्राधिकरण र आयोगमा एक पटक नियुक्ति भएपछि कार्यकालसम्म ढुक्क रहन्छ । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले नियुक्ति प्रक्रिया स्वाभाविक रहेको बताए । सरकार धरमरकै समयमा दुग्ध विकास बोर्डमा उपाध्यक्ष किन भन्ने प्रश्नमा उनले बोर्डलाई सशक्त बनाउन नियुक्त आवश्यक रहेको बताए ।

प्रकाशित : चैत्र ५, २०७९ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्

द्वन्द्व सम्झाउने संग्रहालय अलपत्र

विभिन्न समयमा बजेट विनियोजन भएर बनेका संरचना संरक्षण र अपुराको काम सक्न बेवास्ता
महेश केसी

रुकुम पूर्व — रुकुम पूर्वका विभिन्न स्थानमा निर्माण थालिएका युद्ध संग्रहालय अहिले अलपत्र छन् । सशस्त्र द्वन्द्वको दशक स्मरणका लागि निर्माण थालिएका संग्रहालयलाई पूर्णता दिन कसैको पनि चासो देखिएको छैन । नेकपा माओवादीले सशस्त्र संघर्ष सुरुवात गरेका जिल्लामध्ये रुकुम पूर्व पनि एक हो । द्वन्द्वका विभिन्न पक्ष संग्रहका लागि भनिएका संग्रहालय उपयोगविहीन बनेको जिल्लाका सरोकारवालाले बताएका छन् ।

रुकुम पूर्वको सिस्ने–५ रुकुमकोटमा निर्माणाधीन युद्ध संग्रहालय । तस्बिर : महेश/कान्तिपुर

भूमे–९ भेरीडाँडास्थित चुनबाङमा ६ वर्षअघि निर्माण थालिएको गणतन्त्र संग्रहालय अलपत्र छ । माओवादीले २०६२ कात्तिकमा सशस्त्र संघर्ष त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन थालनी गरेको थलो भनिएको उक्त स्थानमा संग्रहालय निर्माण सुरु भएको थियो ।

अहिले उक्त योजना बेवारिसे जस्तो भएको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताए । २०७३ पुस ९ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले संग्रहालयको शिलान्यास गरेका थिए । त्यसपछि संग्रहालयका लागि आर्थिक वर्ष २०७४/७५ देखि संघ सरकार, लुम्बिनी प्रदेश सरकार, गाउँपालिका र पर्यटन बोर्डले पटक–पटक गरेर ४१ लाख ५८ हजार रुपैयाँ बजेट खर्च गरेको भूमेका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए । क–कसको बजेट कति–कति खर्च भयो भन्ने प्रस्ट रेकर्ड पनि स्थानीय तहमा छैन ।

भूमे–९ भेरीडाँडास्थित चुनबाङमा ६ वर्षअघि निर्माण थालेर अलपत्र अवस्थामा रहेको गणतन्त्र संग्रहालय ।

गाउँपालिकासँग जोडिएर खर्च भएको हिसाब मात्रै रेकर्डमा भएको उनले बताए । ‘२०७४/७५ अघि पनि संघीय सरकारमार्फत बजेट आयो,’ उनले भने, ‘यसबीचमा प्रदेश सरकारमार्फत पनि केही बजेट लगानी गरिएको थियो, त्यसको तथ्यांक गाउँपालिकामा छैन ।’ उक्त संग्रहालय जीर्ण भएको छ । ‘पहिले प्रधानमन्त्री दाहालसमेत आएर बसेको ठाउँ हो,’ भेरिडाँडाका मोहनलाल वलीले भने, ‘यहाँ संग्रहालय बनाउने काम त थालियो तर पूरा भएन । अहिले यहाँ भएका संरचना नै जोगाउन धौ–धौ छ ।’ युद्धकालमा माओवादीले आफ्नो सेल्टर बनाएको र ऐतिहासिक बैठक स्थललाई संग्रहालय बनाउन तारबार गरिए पनि भित्र हेर्न लायक केही छैन ।

भूमे–६ महतमा युद्धको झल्को दिनेगरी बनाइएका संरचना ।

भूमे–६ महतमा युद्धको झल्को दिने संरचना बनाइएका छन् । २०५६ असोज ५ मा माओवादीद्वारा गरिएको प्रहरी चौकी आक्रमणलाई त्यहाँ मूर्तिमा देखाइएको छ । त्यहाँ महत गाउँको प्रतीकात्मक दृश्य र सैनिक भेषमा ६ जनाको सालिकसमेत निर्माण गरिएको छ । बनाइएका सालिक उपराष्ट्रपति नन्दबहादुर पुन, रोल्पाका हरिबहादुर घर्ती, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ र रुकुम पूर्वकै जितबहादुर बुढाका छन् । एउटा सालिक तत्कालीन द्वन्द्वमा ज्यान गुमाएका लडाकु रुकुम पश्चिमका किशोर घर्तीमगरको छ । महत प्रहरी चौकी आक्रमणको नेतृत्व पुनले गरेकाले स्मारक निर्माण गरिएको गाउँपालिकाका पूर्वअध्यक्ष रामसुर बुढाले बताए ।

महतमा युद्धको झल्को दिने संरचना निर्माणका लागि ५३ लाख ९६ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले बताएको छ । अध्यक्ष श्रेष्ठका अनुसार यसलाई थप व्यवस्थित गरेर ऐतिहासिक युद्धलाई स्मृतिमा राख्न थप योजना बनाई कार्यान्वयन गर्ने योजना थियो । सिस्ने–५ रुकुमकोटमा युद्ध संग्रहालय निर्माणाधीन अवस्थामा छ । लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको समपूरक अनुदानबाट क्रमागत रूपमा थालिएको काम भने कछुवा गतिमा छ । गाउँपालिकाका इन्जिनियर कर्ण केसीका अनुसार ४ करोड २४ लाख रुपैयाँ लागतमा निर्माण थालिएको उक्त संग्रहालयको ३० प्रतिशत मात्रै काम भएको छ । आर्थिक वर्ष २०७८/७९ बाट काम थालिएको संग्रहालयका लागि पहिलो वर्ष १ करोड खर्च भएको थियो । चालु वर्षमा थप १ करोड खर्च गर्ने गरी ठेक्का प्रक्रिया अघि बढेको इन्जिनियर केसीले बताए ।

‘आगामी आर्थिक वर्षभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको छ,’ उनले भने, ‘बाँकी काम उपभोक्ता समितिबाट गराउन प्रयास भएकाले यस वर्ष ठेक्का प्रक्रियाको काम केही ढिला भयो । तर, अब यो पनि अघि बढ्छ ।’ चालु वर्षमा संग्रहालयको छाना हाल्ने, फिनिसिङ गर्ने र ग्यालरी निर्माण गर्ने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासविक्रम शाहले बताए । सशस्त्र युद्धताका यहाँ प्रहरी चौकी रहेको स्मरण गर्दै गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले २०५६ मा दोहोरो भिडन्तमा परी ज्यान गुमाउनेको सम्झनामा संग्रहालयको काम अघि बढाइएको बताए । उनले भने, ‘लडाइँका बेला प्रयोग भएको बंकर र अरू भग्नावशेष समेतलाई कायम राखेर यसलाई युद्ध पर्यटनका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।’ क्रमागत योजना भएकाले केही ढिला भए पनि काम अघि बढ्ने रेग्मीको भनाइ छ ।

जिल्लाका विभिन्न स्थानमा युद्धसँग सम्बन्धित स्मारक र संग्रहालय निर्माणमा करोडौं बजेट खर्च भएको भए पनि त्यसले परिणाम दिन नसकेको सिस्ने शिक्षा क्याम्पसका प्रमुख तीव्र गौतमले बताए । ‘पर्यटन विकासका दृष्टिले यस्ता संरचनामा लगानी गर्नु ठीकै भए पनि बिनायोजना जथाभावी खर्च गरिएकाले प्रतिफल शून्यजस्तै भयो,’ उनले भने, ‘पहिला जनतामा आधारभूत आवश्यकताको परिपूर्ति गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ । त्यसपछि विस्तृत योजनाका आधारमा प्राथमिकीकरण गरेर यस्ता काम अघि बढाइनुपर्थ्यो ।’

प्रकाशित : चैत्र ५, २०७९ ०८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×