पूर्वी नवलपरासीमा कारागार नहुँदा समस्या- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वी नवलपरासीमा कारागार नहुँदा समस्या

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीमा व्यवस्थित कारागार नहुँदा कैदी बन्दीहरूलाई बेजिल्ला पठाउनु पर्ने बाध्यता देखिएको छ । यहाँ विभिन्न अभियोगमा मुद्दा चलाइने कैदी बन्दीलाई हिरासतमा राख्न चितवन र पश्चिम नवलपरासी कारागार पठाउनुपर्ने बाध्यता छ ।

गत आर्थिक वर्षमा जिल्ला प्रहरीमा दर्ता भएका ७ सय ४७ अभियुक्तलाई चितवन र पश्चिम नवलपरासी कारागारमा पठाइएको तथ्यांक जिल्ला प्रहरी कार्यालयमा देखिन्छ । हरेक जिल्लामा कारागार हुनुपर्ने गृह प्रशासनको नियम भए पनि यो जिल्लामा कारागार छैन ।

पहिलेको नवलपरासी जिल्ला दुई जिल्लामा विभाजित भएपछि पूर्वी नवलपरासीमा कारागार छैन । कारागार नएभका कारण सामान्य थुनुवाको चाप बढेसँगै प्रहरीलाई सधै पिरलो हुने गरेको छ । गत आर्थिक वर्ष जिल्लाका विभिन्न प्रहरी कार्यालयमा दर्ता भएका ७ सय ४७ जना अभियुक्तलाई परासी र चितवन कारागार पठाइएको प्रहरीको तथ्यांकमा देखिन्छ ।

साउनयता पश्चिम नवलपरासी कारागारमा १८ जना, चितवन कारागारमा ३२ जना कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई बालसुधारगृह पोखरा र भैरहवामा पठाउनु पर्ने बाध्यता छ । साउनयता त्यसरी ६ जनालाई ति दुई जिल्लामा पठाइएको छ । पक्राउ परेकामध्ये अधिकांशको मुद्दा लागूऔषधसँग सम्बन्धित रहेको छ । लागूऔषधको मुद्दाका अभियुक्तलाई ३ महिना अनुसन्धान म्याद हुने भएको र संख्या समेत बढ्ने गर्दा बेजिल्लामा लैजान र ल्याउन समस्या भएको प्रहरीले जनाएको छ ।

आफ्नै जिल्लामा कारागार नहुँदा प्रहरीको गाडीमा राखेर सुरक्षाकर्मीको निगरानीमा बेजिल्ला पठाउनु पर्दा ओसारपसार खर्च समेत बढेको प्रहरीको भनाइ छ ।

प्रकाशित : चैत्र ४, २०७९ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्

मुकेश र राजपुराले जिते दौड

कान्तिपुर संवाददाता

काठमाडौँ — आर्मीका मुकेशबहादुर पाल र पुलिसकी राजपुरा पछाईं तेस्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसमा शनिबार विजेता बनेका छन् ।

रन क्लब नेपालद्वारा राजधानीमा आयोजित दौडको पुरुष खुलातर्फ मुकेशले निर्धारित दूरी १५ मिनेट २२.९ सेकेन्डमा पूरा गरे । आर्मीकै सञ्जय श्रेष्ठ दोस्रो र गजेन्द्र राई तेस्रो भए । सञ्जयले १५ मिनेट २७.५ सेकेन्ड र गजेन्द्रले १५ मिनेट ३१.९ सेकेन्ड लगाए ।

महिलातर्फ राजपुराले १८ मिनेट १६.२ सेकेन्डबाट दौड जितिन् । पुलिसकी राममाया बुढाले १८ मिनेट १६.५१ सेकेन्डबाट दोस्रो भइन् । तेस्रो स्थानकी आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १८ मिनेट १७.०५ सेकेन्ड लगाइन् । पुरुष/महिलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ हजार र ८ हजार रुपैयाँ पुरस्कार पाए ।

स्कुलतर्फ छात्रमा विकेश घिमिरे पहिलो र नवराज गुरुङ दोस्रो भए । छात्रामा सोनु घतानीले स्वर्ण, पूर्णिमा श्रेष्ठले रजत र जेशिका महर्जनले कांस्य जिते । छात्र/छात्रामा पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार पुरस्कार प्राप्त गरे ।

विजेतालाई म्याराथनका कीर्तिमानी पूर्वधावक वैकुण्ठ मानन्धर, नेपाल र्‍याफटिङ एन्ड क्यानोइङ संघका कार्यबाहक अध्यक्ष राजीव श्रेष्ठ, पूर्वधावक बुद्धवीर लामा, एथलेटिक्स संघका सचिव आरके विष्टलगायतल पुरस्कृत गरे । दौडमा २ सय प्रतिस्पर्धीले सहभागिता जनाएको आयोजक आयोजक क्लब अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् ।

प्रकाशित : चैत्र ४, २०७९ १८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×