रासायनिक मलको मूल्य बढाइयो- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रासायनिक मलको मूल्य बढाइयो

प्रकाश बराल

बागलुङ — सरकारले रासायनिक मलमा अनुदान घटाएपछि बागलुङका पालिका र सरोकारवाला निकायले मलको मूल्य बढाएर नयाँ सूची कायम गरेका छन् । बागलुङ नगरपालिकाको अगुवाईमा सरकारको आधिकारिक बिक्रेता साल्ट ट्रेडिङ कर्पोरेसन, कृषि ज्ञान केन्द्र, खुद्रा बिक्रेता तथा किसान सहकारीका प्रतिनिधिसमेतले नयाँ मूल्यसूचि कायम गरेका हुन् ।


नयाँ बिक्री मूल्यअनुसार अब किसानले युरिया प्रतिकेजी ३४ रुपैयाँ, डीएपी प्रतिकेजी ५९ रुपैयाँ र पोटास प्रतिकेजी ४९ रुपैयाँमा पाउनेछन् । सरकारले युरियामा प्रतिकेजी ११, डिएपीमा ७ र पोटासमा प्रतिकेजी ९ रुपैयाँ मूल्य बढाएको थियो ।

सरकारले यसअघि रासायनिक मलमा ७० प्रतिशत अनुदान दिएको थियो । यो अनुदानअनुसार सरकारले युरियामा प्रतिकेजी १४ रुपैयाँ, डिएपी प्रतिकेजी ४३ र पोटास प्रतिकेजी ४० रुपैयाँमा बिक्री गरेको थियो । तर ढुवानी र व्यवस्थापन खर्चसहित साल्ट ट्रेडिङले १९ रुपैयाँ प्रतिकेजी युरिया बिक्री गर्थ्यो । व्यवसायीले प्रतिकेजी ४ रुपैयाँ नाफा खाएर २३ रुपैयाँमा बेच्दै आएका थिए । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङकालागि साल्ट ट्रेडिङ र कृषि सामाग्री संस्थानले मल बिक्री गर्दै आएकाछन् ।

साल्ट ट्रेडिङका प्रमुख मनोज श्रेष्ठका अनुसार यहाँ वार्षिक १ लाख क्विन्टल मल बिक्री भइरहेको छ । सरकारले कोटा प्रणालीमा पहाडी जिल्लामा थोरै मात्राको मल बेच्ने गरेको छ । साल्टट्रेडिङमा रहेको मल बढेको मूल्यमा बेच्ने र बिक्रेताले लगेको स्टक सामान भने पुरानै मूल्यमा बेच्नुपर्ने गरी सरोकारवालाको बैठकले निर्णय गरेको बागलुङ नगरउपप्रमुख राजु खड्काले बताए । ‘बिक्रेताको भण्डारमा गइसकेको मल किसानले पुरानो मूल्यमै पाउनुपर्छ’ खड्काले भने, ‘बढेर आएकोमात्रै बढी मूल्य तिर्ने हो ।’ त्यसकालागि कृषि ज्ञान केन्द्र, नगरपालिका, उपभोक्ता मंच र साल्टट्रेडिङको प्रतिनिधि रहेको समितिले अनुगमन गर्ने छ । तोकिएको मूल्यभन्दा बढी लिएर बिक्री भएको भेटिएपछि केही स्थानमा कारवाही समेत गर्नु परेको श्रेष्ठले बताए ।

मूल्यवृद्धि फिर्ता लिन माग

सरकारले अनुदानमा आधारित रासायनिक मलको अनुदान घटाएकोमा किसानले बिरोध गरेका छन् । अनुदानको प्रतिशत घटेकोले बजार मूल्य बढेको भन्दै कृषि क्षेत्रको अनुदान घटाउन नपाइने उनीहरूले माग गरेका हुन् । पछिल्लो समय सरकारले बजेटमा गरेको हेरफेरमा कृषि क्षेत्रका कार्यक्रम रोकेको उनीहरूको आरोप छ । ‘अरु क्षेत्रको अनुदान घटाउन नपर्ने, कृषि क्षेत्रलाई किन महंगी बढाउने ?’ जिल्ला कृषि सहकारी संघका अध्यक्ष नरबहादुर थापाले भने, ‘कृषिप्रधान देशमा किसानमाथी अन्याय भयो ।’ किसानहरू सडकमा आउने वातावरण ल्याउन नहुने उनले सुझाव दिए ।

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराइले किसानमुखी नीति र बजेट आउनुपर्नेमा महँगी बढाउनु राम्रो नभएको बताए । अनुदान नीतिमा पनि परिवर्तन आवस्यक भएको उनले बताए । ‘कृषिको तथ्यांक संकलन गर्ने मुख्य काम ज्ञान केन्द्रको हो, तर बजेटले त्यही रकम फिर्ता लग्यो’ उनले भने, ‘बजेटको प्राथमिकतामा कृषि क्षेत्र उपेक्षित छ ।’ किसानलाई स्थानीय तहले पनि मलमा अनुदान दिएमा महंगीको मारमा नपर्ने उनले बताए । यन्त्रिक हलो बितरणमा भन्दा गोरु पाल्ने काममा लगानी बढाएमा रासायनिक मलको प्रयोग घटेर जाने उनले सुझाए ।

प्रकाशित : चैत्र ४, २०७९ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्

आनीले पाए औपचारिक शिक्षा

केदार सिवाकोटी

दोलखा — बिहानै ५ बजे मधुर धुनमा बुद्धका स्तुतिसँगै गुम्बामा ध्यान सुरु हुन्छ । कक्षमा सबै उमेर समूहका भिक्षुणी शीलमा रहन्छन् । भगवान् बुद्धका संगीतमय वाणीमा आफूलाई समर्पित गर्छन् । भिक्षुलाई ७५ सेखिया विनय शिक्षापद र १० शील, तच पञ्चक ध्यान सिकिरहेका छन् ।

टासी छिमे गाछल बिगु गुम्बाको पुरानो लय हो । २०७२ को भूकम्पले ध्वस्त भएको थियो । पुनर्निर्माणपछि पुरानै लयमा फर्किएको छ । यो गुम्बा २ सय रोपनीमा फैलिएको छ ।

बिगु गुम्बाका रूपमा परिचित टासी छिमे जिल्लाकै पुरानो गुम्बामध्येको एक हो । आनी (भिक्षुणी) मात्रै पढाइने देशको पहिलो गुम्बा मानिन्छ । गुम्बा पुरानै शैलीमा चिटिक्क बनेको छ । भूकम्पले भत्किएपछि निकै कष्ट भोग्नुपरेको अध्ययनरत आनी लाप्साङ छिरिङ शेर्पाले बताइन् । ‘जस्तापाताको कटेरामा बास बसेर चिसो भुइँमै अध्ययन र ध्यान गर्नुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘नयाँ संरचना बनेपछि निकै सहज भएको छ ।’

यस गुम्बामा अहिले ८५ जना आनी अध्ययनरत छन् । उनीहरूलाई बौद्ध शिक्षासँगै मूलधारको औपचारिक पठनपाठनसमेत गर्न पाएका छन् । औपचारिक शिक्षाको पाठ्यक्रम तथा पाठ्यपुस्तकसमेत जोडिएकाले बौद्ध शिक्षा लिएका महिलाले आजीवन भिक्षुणीमात्र बन्नुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ । गुम्बाका प्रशिक्षक गेसे सांगे शेर्पाले भने, ‘आनीलाई समाजले धार्मिक शिक्षा मात्र लिएका भनेर बुझ्ने गरेको छ तर अब त्यस्तो रहँदैन । यहाँ अध्ययन गर्दा मात्रै भिक्षुणी हो, शिक्षा लिइसकेपछि उहाँहरू स्वतन्त्र हुनुहुन्छ ।’

बिगु गाउँपालिका–७ बिगुमा रहेका गुम्बामा कक्षा ५ सम्म मूलधारको अध्ययन व्यवस्था छ । त्यसपछि बौद्ध शिक्षा पढेकाले समेत गाउँमै रहेको माध्यमिक विद्यालयमा पढ्न पाउने व्यवस्था छ । यहाँ बौद्ध शिक्षा लिन आउनेलाई निःशुल्क आवासको र खानपिनको व्यवस्था छ । उक्त गुम्बाले विद्यालय शिक्षा सञ्चालन गरेपछि गाउँका बालबालिकासमेत प्राथमिक शिक्षाका लागि भर्ना भएर पढ्दै छन् । सरकारले शिक्षकको व्यवस्था गरेको छैन । गुम्बा व्यवस्थापन समितिको लगानी २७ जना स्थानीय बालबालिका प्राथमिक तहमा पढिरहेछन् ।

भूकम्पले भत्किएपछि पुरातत्त्व विभागले करिब ७ करोड रुपैयाँ लागतमा पुरानै शैलीमा गुम्बा पुनर्निर्माण गरेको हो । गुम्बासँगै आवास र विद्यालय पुनर्निर्माण गरिएको छ । ‘पुरानै शैलीमा नयाँ गुम्बा बनेपछि यहाँ पढ्न आउने पनि बढेका छन्,’ गुम्बाका प्रशिक्षक गेसे सांगे शेर्पाले भने, ‘लामो समय कष्ट गरेर अहिले पुरानै लयमा ध्यान, अध्ययन, अध्यापन गराउन सकेका छौं ।’ गुम्बामा पढ्नेले छात्रावासको समेत शुल्क तिर्नु पर्दैन । श्रद्धालु तथा दाताले दिएको चन्दा र पर्यटकका निम्ति सञ्चालन गरिएको गेस्ट हाउसबाट उठ्ने रकमबाट खर्च जुटाइएको बताए ।

जिल्लाकै पर्यटकीय गुम्बाका रूपमा परिचित छ । बिगु गुम्बा समुद्र सतहदेखि २ हजार ५ सय ८० मिटर उचाइमा छ । भौगोलिक वातावरण र पर्यावरणका दृष्टिले सुन्दर यस थलो पर्यटकीय गुम्बाका रूपमा समेत चिनिन्छ । पर्यटकसमेत यो गुम्बाको भ्रमण, अवलोकन तथा ध्यान बस्ने गरेका छन् । यहाँ बर्सेनि सयौं पर्यटन ध्यान शिविर आउने गरेका छन् ।

उक्त गुम्बा भएर जिल्लाको अर्को चर्चित गन्तव्य देउढुंगा पदमार्गबाट जाने गर्छन् । बिगु गुम्बाले नै आयस्रोतका लागि गेस्ट हाउस पनि सञ्चालन गरेको छ । गुम्बा घुम्न पुग्ने पर्यटकको बसाइका लागि गेस्ट हाउस सञ्चालनमा ल्याइएको गुम्बाका प्रशिक्षक शेर्पाले बताए ।

प्रकाशित : चैत्र ४, २०७९ ०८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×