हिउँदे सडक पक्की बनाउँदै गलकोट- गण्डकी - कान्तिपुर समाचार

हिउँदे सडक पक्की बनाउँदै गलकोट

सडक बनाएको भन्दा वर्षात्‌मा पहिरो नियन्त्रणमा लाग्ने खर्च बढी आउन थालेपछि यस्तो नीति
प्रकाश बराल

बागलुङ — ग्रामीण सडकले हिउँद र बर्खा दुवै याममा दुःख दिइरहन थालेपछि गलकोट नगरपालिका पछिल्लो समय त्यस्ता सडकलाई पक्की बनाउने अभियानमा छ ।

ग्रेड नमिलेका सडकका घुम्ती ढलान गर्ने, पक्की नाली, कल्भर्ट र कजवे बनाएर वर्षैभर सवारी चल्न सक्ने सडक बनाउने काम सुरु भएको नगर प्रमुख भरत शर्मा गैरेले बताए ।

‘हरेक वडाध्यक्ष, जनप्रतिनिधि र कर्मचारीलाई समेत सोही अनुसारको निर्देशन गरेका छौं,’ गैरेले भने, ‘सडक बनाएको भन्दा वर्षात्मा पहिरो नियन्त्रणमा लाग्ने खर्च बढी आउन थालेपछि यो नीति लिइएको हो ।’ अधिकांश ग्रामीण सडकमा पहिरो खसेर बालीनालीसमेत नष्ट हुने क्रम रोक्न यो विधि अपनाइएको उनले बताए ।

पक्की पर्खाल र नाली बनाएपछि पहिरो नियन्त्रण गर्न सकिने वडा ६ का अध्यक्ष रामप्रसाद कँडेलले सुनाए । उनले आफ्नो वडाका सबै सडकलाई पक्की बनाउने काम गरेको जानकारी दिए । ‘डोजर लगाएर मात्र छाड्ने काम कतै पनि गरेका छैनौं, बरु ट्र्याक खुल्नासाथ पक्की बनाएका छौं,’ उनले भने, ‘वर्षातमा पहिरोको प्रकोप पनि कम हुनेछ ।’ जंगरा लामीडाँडा दरम सडकको १ किमि खण्ड सडकमा ढलानको काम थालेको उनले बताए । नौबिसेदेखि जामुनडाँडा जाने सडक पूरै पक्की र ढलान भएपछि नियमित सबारी चल्न थालेको छ ।

‘गाडी नचल्दा सामान ढुवानीमा सास्ती खेपेका थियौं, अहिले सहज भयो,’ स्थानीय भक्तबहादुर नेपालीले भने, ‘ढलान गर्दा पानीले पनि असर गरेन ।’ यो सडकले यहाँका ६० घरधुरीलाई सामान ढुवानीमा सहज भएको उनले बताए । यहाँको चरौंदी नेपाने हुँदै कापससम्मको सडक पनि ढलान गरिएको छ । १ किमि सडक ढलान गर्ने लक्ष्यसाथ चालु वर्ष आधा खण्ड काम भइसकेको हो । वडाध्यक्ष कँडेलले अधिकांश सडकमा ४० लाख बजेट विनियोजन गरेर सबै संरचना पक्की बनेको छ । वडा २ को तोरखीखोलादेखि बतासे हुँदै ठाना पुग्ने सडक पनि ढलान गरेर वर्षातमा अवरोध नआउने बनाएको वडाध्यक्ष हिमबहादुर भण्डारीले बताए । ‘वडा ६ र २ जोड्ने नाकामा दुवै वडाले सहकार्य गरेर काम गर्दा पहिरो नियन्त्रणमा सहयोग पुगेको छ । ‘कालोपत्रभन्दा ढलान महँगो पर्छ, तर दिगो हुन्छ,’ इन्जिनियर बलविक्रम दाहालले भने, ‘वर्षातको भेल बगे पनि ढलानमा असर गर्दैन, कालोपत्र भए पूरै भत्किन्छ ।’ उनले भिरालो जमिनमा कालोपत्रको काम सम्भव नहुने भएपछि थोरै सडक बनाउने, तर पक्की बनाउने लक्षले स्टिमेट गराएको बताए ।

दुइ वर्षअघि यहाँ आएको बाढी र पहिरोले अधिकांश वडाका ग्रामीण सडक बगेपछि पुनःसंरचनाका लागि मात्रै करोडौं खर्च भएको थियो । त्यसपछि नगरपालिकाले दिगो सडकको रूपमा योजना बुन्न थालेपछि धेरै ट्र्याक खोल्ने तथा डोजर लगाउने क्रम घटेको हो । डोजर जान छाडेपछि सडक भत्कने दर पनि घटेको छ ।

‘अहिले नयाँ ट्र्याक खोल्ने काम गरिएको छैन, बरु पुरानालाई व्यवस्थित बनाउन लागियो,’ गैरेले भने, ‘भएका संरचना पक्की बनाउन संघ र प्रदेशमा पनि साझेदारी गरिएको छ ।’ वडा ५ देखि वडा ७ को भैंसे जोड्ने पुरानो सडक पनि कालोपत्र तयारी भएको उनले बताए ।

प्रकाशित : चैत्र ३, २०७९ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्

हुलाकी सडकमा ठेकेदारको आलटाल

सदरमुकाम मलंगवादेखि पूर्वसंग्राम्पुरसम्मको पहिलो खण्डको १५ किलोमिटर सडकमा धेरै समस्या
ओमप्रकाश ठाकुर

सर्लाही — ठेकेदार कम्पनीकै आलटालका कारण सर्लाहीस्थित हुलाकी सडकको कालोपत्र सुस्त बनेको छ । ठेकेदारका अनेक बहानाका कारण सडकको कामले गति लिन नसकेको हो । 

सर्लाही सदरमुकाम मलंगवास्थित हुलाकी सडक राणाकालीन समयमा निर्माण गरिएको यो सडक अझै पनि कालोपत्रको पर्खाइमा छ । तस्बिर : ओमप्रकाश/कान्तिपुर

सडकको नबन्दा यहाँका स्थानीय वर्षौंदेखि धूलोको मार खेप्न बाध्य छन् । कुल ४२ किलोमिटरको हुलाकी सडक पाँच वर्षभित्र कालोपत्र गर्नेगरी २०७३ सालमा तीनवटा प्याकेजमा ठेक्का लागेको थियो । सडक कालोपत्रको ठेक्का लागेको ६ वर्ष भइसक्दा पनि सडकको अवस्था उस्तै छ । जसले यस भेगका स्थानीय हैरानी खेपिरहेका छन् । निरन्तरको धूलोले सर्वसाधारणको स्वास्थ्यमासमेत असर परिरहेको नागरिकको गुनासो छ । सडकको केही स्थानमा भने पहिलो चरणकै अलकत्रा हालिए पनि धेरैजसो स्थान धुलाम्मे नै छ ।

सडक कालोपत्र नहुँदा कष्टपूर्ण यात्रा गर्नुको साथै धूलोले आजित बनाइरहेको गोडैता नगरपालिका–१० सिसौटियाका कुन्दनकुमार झाले बताए । उनले बर्सेनि सडक कालोपत्र हुने आश मात्र आफूहरूले पाइरहेको गुनासो पोखे । उनका अनुसार हुलाकी सडक छेउछाउका बस्ती धूलोले आजित छन् । ‘हुलाकी सडकमा यात्रा गर्नुपर्दा निकै कष्ट हुन्छ, त्यसमाथि गाडीले उडाएको धूलोले झन् बिजोग हुन्छ,’ उनले भने, ‘बर्सेनि हामीलाई सडक कालोपत्रको आश देखाउँछ, तर सडक कालोपत्र हुँदैन ।’

राणाकालीन समयमा निर्माण भएको हुलाकी सडकले काँचुली फेर्न नसक्दा यस क्षेत्रका स्थानीय हिउँदमा धूलो र वर्षामा हिलोले सास्ती खेप्न बाध्य छन् । जिल्लाको पूर्वमा संग्रमपुरदेखि पश्चिम बलरासम्मको हुलाकी सडकको अधिकांश भाग अहिले पनि कालोपत्रको पर्खाइमा छ । सदरमुकाम मलंगवादेखि पूर्व संग्राम्पुरसम्मको पहिलो खण्डको १५ किलोमिटर सडकमा धेरै समस्या देखिएको छ । यस खण्डको ठेक्का हिम्दुङ एन्ड ठोकर/हीरा एन्ड नमिता जेभीले पाएको छ । यो खण्डमा कामले गति लिन सकेको छैन ।

मलंगवादेखि पश्चिम रोहुवासम्मको दोस्रो खण्डको १५ किलोमिटरको ठेक्का हिम्दुङ एन्ड ठोकर/साह निर्माण सेवाले पाएको छ । त्यहाँबाट पश्चिम बलराको वाग्मती किनारसम्मको तेस्रो खण्डको १२ किलोमिटर सडकको ठेक्का दिवा निर्माण सेवाले पाएको छ । जसमध्ये पहिलो र तेस्रो खण्डको ठेक्काको म्याद चैत मसान्तसम्म थपिएको छ भने दोस्रो खण्डको म्याद वैशाख मसान्तसम्म रहेको हुलाकी सडक आयोजना जनकपुरधामले जनाएको छ ।

हुलाकी सडक आयोजना जनकपुरका प्रमुख कृष्णकुमार महतोले ठेकेदारको बहानाबाजीसहित स्थानीयको अवरोधका बीच पछिल्लो समय हुलाकी सडकको कामले गति लिएको दाबी गरे । उनले अर्को कुनै समस्या नआए वैशाख मसान्तभित्र हुलाकी सडक कालोपत्र हुने जानकारी दिए । तर, सदरमुकाम मलंगवाको हकमा भने थप केही समय लाग्ने महतोले बताए । ‘अझै पनि केही ठाउँको साइट क्लियरेन्स हुन सकेको छैन, बुझेका, पढेलेखेका तथा राजनीति गर्ने नै साइट क्लियरेन्समा बाधक बनिरहेका छन्, त्यसलाई चिर्ने काम भइरहेको छ,’ उनले भने, ‘महँगी बढेकाले ठेकेदारले बहाना झिक्नु स्वाभाविक पनि हो, तर वैशाख महिनाभित्रमा हुलाकी सडक कालोपत्रको काम सकिन्छ ।’

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहले आफूसहित प्रशासनको टोली गएर साइट क्लियर गराइसकेको जनाउँदै ठेकेदारले नै काममा आलटाल गरिरहेको जानकारी दिए । उनले पश्चिमको दोस्रो र तेस्रो खण्डको ठेक्कामा सन्तोषजनक काम देखिए पनि पूर्वको पहिलो ठेक्कामा ठेकेदार पक्षले बदमासी गरिरहेको बताए । ‘साइट क्लियरेन्स भएन भने पछि हामी पुगेर साइट क्लियर गराइदियौं, कार्यालयले पनि ठेकेदारले पाउने रकममा कुनै समस्या नरहेको जनाएपछि दोषी त ठेकेदार नै देखियो,’ उनले भने, ‘अझै पनि कुनै न कुनै बहाना ठेकेदारले खोजिरहेको जस्तो बुझिन्छ ।’

प्रकाशित : चैत्र ३, २०७९ ०८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×