३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

म्याग्दीमा स्ववियु निर्वाचन स्थगित

म्याग्दी — आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको संघारमा यहाँका क्याम्पसहरुले धमाधम सूचना प्रकाशित गरी निर्वाचन स्थगित गरेको जनाएका छन् ।

म्याग्दीमा स्ववियु निर्वाचन स्थगित

जिल्लाको पुरानो म्याग्दी बहुमुखी क्याम्पस प्रमुख गोरखबहादुर जिसीले बुधबार विज्ञप्ति प्रकाशित गरी क्याम्पस सञ्चालक समिति, प्रशासन, निर्वाचन समिति र स्ववियु निर्वाचनमा दर्तावाला संघ संगठनका प्रतिनिधि बीचको बैठकमा तोकिएको समयमा निर्वाचन गराउन सहमति नजुटेकोले ‘अर्को सूचना प्रकाशित नहुँदासम्म’ स्ववियु निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाएका छन् ।

‘क्याम्पस प्रशासनले निर्वाचन प्रभावित गर्न विद्यार्थी भर्ना समयावधि नदिएको र अधिकांश विद्यार्थी तोकिएको मितिमा भर्ना गर्न असम्भव भएको’ भन्दै निर्वाचन कार्यालयमा नेकपा चन्द समूहको अखिल क्रान्तिकारीले स्वविय निर्वाचन कार्यालयमा तालाबन्दी गरेको थियो । तालाबन्दी गरिएकोमा नेविसंघले असहमति जनाएको छ । एमाले अनेरास्ववियु र माओवादी केन्द्रको अखिल क्रान्तिकारी भने मौन बसेका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका कार्यक्रम स्थगित भएलगत्तै सत्तारुढ प्रमुख दल कांग्रेस र माओवादीका विद्यार्थी संगठनहरु नेविसंघ र अखिल क्रान्तिकारीले मंगला गाउँपालिकाको बाबियाचौरस्थित मंगला शिक्षा क्याम्पस स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन् ।

मंगला शिक्षा क्याम्पस स्ववियु निर्वाचनमा क्याम्पस प्रशासन र निर्वाचन कार्यालयले उम्मेदवारी दर्ता प्रक्रियादेखि अन्य सूचनाहरु लुकाएको र अनेरास्ववियुको पक्षपोषण गरेको आरोप लगाउँदै संयुक्त प्यानलका स्ववियु सभापति उम्मेदवार गौरव आचार्य (नेविसंघ) र सचिव पदका उम्मेदवार पश्मीता रोका (अखिल क्रान्तिकारी)ले विज्ञप्ति प्रकाशित गरी स्ववियु निर्वाचन बहिस्कार गर्ने र निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको जनाएका छन् । प्रत्यक्ष तथा समानुपातिक गरी १५ पदमध्ये ४ पदमा मात्र उम्मेदवारी परेको थियो ।

प्रकाशित : चैत्र १, २०७९ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?