१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

महेन्द्र राजमार्गको कावासोती खण्डमा कालोपत्र सुरु 

नारायण शर्मा

पूर्वीनवलपरासी — निर्माणाधीन महेन्द्र राजमार्गअन्तर्गत कावासोतीको जंगलक्षेत्रमा कालोपत्र सुरु भएको छ । बुधबार कावासोती र लोकाहा बीचको जंगल क्षेत्रमा ५ सय मिटर पक्की सडक निर्माण भएको हो । हाल पक्की बनाइएको सडक साढे ७ मिटर फराकिलो छ ।

महेन्द्र राजमार्गको कावासोती खण्डमा कालोपत्र सुरु 

जंगलक्षेत्रमा कावासोतीवाट पूर्वलोकाहा तर्फको ५ सय मिटर पक्की सडक निर्माण भएको हो । सडकका कन्सल्ट्यान्ट इन्जिनियर राकेश झाले लगातार पक्की सडक निर्माणको काम जारी रहने र एक साताभित्र करिब ४ किलोमिटर सडक कालोपत्र गरिसक्ने जानकारी दिए ।

राजमार्गको उत्तर तर्फको साढे ७ मिटर फराकिलो सडकमात्र पहिलो चरणमा पिच गरिएको हो । सदरमुकाम कावासोती क्षेत्रमा चाँडै पिच गर्ने लक्ष्यअनुसार धमाधम काम भइरहेको छ ।बुधबार गरिएको पिच ६ सेन्टिमिटर बाक्लो छ ।

दोस्रो चरणमा (आगामी तीन साताभित्र) त्यसमाथि थप ४ सेन्टिमिटर बाक्लो पिच थपिने इन्जिनियर झा बताउँछन् । यसअघि ठेकेदार कम्पनीले हर्कपुरदेखि पूर्व भेडाबारीसम्मको क्षेत्रमा करिब एक किलोमिटर खण्ड परीक्षण पिच गरेको थियो ।

बुधबार चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन र कावासोती नगरपालिकाबीच थप ३४ हजार घनमिटर ग्राभेल खरिदको सम्झौता सम्पन्न भएको छ । लोकाहादेखि पश्चिम केरुंगेखोलासम्मको क्षेत्र पिच गर्न थप एक लाख घनमिटर ग्राभेल आवश्यक पर्छ । नगरपालिकाले प्रतिक्युफिट ८ रुपैयाँका दरले चिनियाँ ठेकेदार कम्पनीलाई ग्राभल बेचेको हो ।

बजार क्षेत्रमा ६ लेनको सडक निर्माण हुने छ । ६ लेनको सडक निर्माण सम्पन्न हुँदा राजमार्ग साढे ३३ मिटर फराकिलो हुने छ । दोहोरो लेनको बीचमा ३ मिटर भाग (क्षेत्र) हरियाली हुने छ । बजार बाहेकको जंगल क्षेत्रमा ४ लेनको सडक निर्माण हुने छ । दाउन्नेमा ३ लेनको सडक निर्माण हुने छ । गाडी दगुर्ने लेन (मेन क्यारेज वे) र घर नजिक (दुवै किनार) को सडकको गुणस्तर फरक-फरक हुने छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बुटवल नारायणगढ सडक खण्डको एक सय १४ किलोमिटर सडक फराकिलो पार्न चिनियाँ ठेकेदार कम्पनीले १७ अर्ब रुपैयाँमा ठेक्का सकारेको हो । गत साउन २२ गते सडक निर्माण पुरै सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्ने सुरु सम्झौता थियो । त्यस अवधिमा सडक निर्माण जम्मा १९ प्रतिशतमात्र सम्पन्न भएका कारण सडक विस्तार गर्ने काम (समयावधि) एक वर्ष थपिएको छ ।

फागुन मसान्तसम्म सडक विस्तारको कार्य प्रगति २६ प्रतिशत मात्र छ ।

प्रकाशित : चैत्र १, २०७९ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?