२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

पीएन क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

अनिश भट्टराई

गण्डकी — त्रिभुवन विश्वविद्यालयअन्तर्गत सबैभन्दा बढी विद्यार्थी रहेको पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अनिश्चित बनेको छ । शनिबार तोकिएको उम्मेदवारी मनोनयन दर्ता हुन नसकेपछि निर्वाचन अनिश्चित भएको हो ।

पीएन क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

विप्लव माओवादीनिकट विद्यार्थी संगठनको नेतृत्वमा ३ विद्यार्थी संगठनले ३ बुँदे माग राख्दै शनिबार तालाबन्दी गरेपछि निर्वाचन अनिश्चित बनेको निर्वाचन समितिका सदस्य सचिव बोधनाथ ढकालले जानकारी दिए । अखिल क्रान्तिकारी (विप्लव), अखिल छैटौं र अखिल (क्रान्तिकारी) संयुक्तले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

शनिबार दिउँसोसम्म आन्दोलनमा रहेको माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले भने विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता लिएको थियो । शनिबारसम्म सँगै रहेका यी समूहबाट क्रान्तिकारी छुट्टिएर निर्वाचनलाई तालिका अनुसार बढाउन सकारात्मक भएको थियो । तर विप्लव समूहको नेतृत्वमा ३ समूहले आन्दोलन जारी राखेका हुन् । मतदाता नामावलीको प्रकाशनका बेला विद्यार्थीको सम्पर्क नम्बरसहितको व्यक्तिगत विवरण चुहावट गरिएको भन्दै विरोध जारी राखिएको हो । निर्वाचन समिति र क्याम्पस प्रशासनको मिलेमतोमा एमालेनिकट अनेरास्ववियुलाई विवरण दिइएको विप्लव समूहको आरोप छ । त्रिभुवन विश्वविद्यालयमार्फत् तलब भत्ता लिने शिक्षक, प्राध्यापक र कर्मचारीले निर्वाचनमा मतदान गर्न नपाउने दोस्रो माग छ । यस्तै फागुन १८ र १९ मा दर्ता भएका संगठनको नाम जस्ताको तस्तै राखेर पुनः प्रकाशन गर्नुपर्ने पनि उनीहरुको माग छ । माग पूरा नभएसम्म तालाबन्दी गरिने र कसैले खोलेमा हुने परिस्थितिको जिम्मा लिनुपर्ने भन्दै संयुक्त प्रेस विज्ञप्तिमार्फत् धम्की दिइएको छ ।

माओवादीनिकट अखिल क्रान्तिकारी भने शुक्रबार नै आन्दोलन स्थगत गर्न सहमत भएको थियो । अनेरास्वियुसँग भएको सहमति अनुसार क्रान्तिकारी आन्दोलनबाट पछि हटेको थियो । सहमति अनुसार क्याम्पसमा अनेरास्वियुले सभापति, कोषाध्यक्ष र ५ सदस्य राख्ने तथा अखिल क्रान्तिकारीले सचिव र ३ सदस्य पाउने निर्णय भएको छ । सहमतिपछि अखिल क्रान्तिकारीले आफ्नो आन्दोलन स्थगित भएको भन्दै विज्ञप्ति जारी गरेको थियो ।

अनेरास्वियु र नेविसंघ, अनेरास्वियुलगायतका विद्यार्थी संगठनले निर्वाचन जसरी पनि गर्नुपर्ने माग राखेका छन् । तर क्याम्पस प्रशासन निर्वाचन अघि बढाउन डराएको उनीहरूको आरोप छ । खासगरी क्याम्पस प्रशासनका उच्च कर्मचारी र निर्वाचन समितिका केही सदस्यलाई ज्यान मार्नेसम्मको धम्की आएको दाबी छ । ‘कन्चट फुटाइदिन्छु, खोंडा प्रहार गर्छु’ भन्नेजस्ता धम्की आएपछि कर्मचारीहरू त्रसित भएको बताइन्छ ।

अनेरास्वियुबाट सभापतिका आकांक्षी रहेका विष्णु पोखरेल क्याम्पस प्रशासनले निर्वाचनका लागि तदारुकता देखाउन नसकेको बताउँछन् । प्रहरी प्रशासन लगाएर भएपनि निर्वाचन गर्न उनको माग छ । यस्तै नेविसंघबाट सभापतिका उम्मेदवारका आकांक्षी गौरव बराल निर्वाचन जुनै हालतमा हुनुपर्ने र नेविसंघ एक्लै चुनाव लड्ने गरी तयार भएको दाबी गर्छन् । यसअघि पीएनमा भएका २२ वटा स्ववियु निर्वाचनमा अनेरास्वियुले जिते पनि यसपटकको स्ववियु निर्वाचनमा नेविसंघले जित्ने उनको दाबी छ । पीएनमा १० हजार ८७० मतदाता छन् । निर्वाचन समितिका सदस्य सचिव ढकाल भने कुनै हालतमा पनि ५ चैतमा निर्वाचन हुने अवस्था नदेखिएको बताउँछन् । ‘मनोनयन हुन सकेन, प्रक्रिया भोलिबाटै अघि बढ्ने पनि देखिँदैन, निर्वाचन अनिश्चित भयो,’ उनले भने ।

गोरखामा सहमतिमै उम्मेदवारी

गोरखा क्याम्पस र द्रव्यशाह बहुमुखी क्याम्पसमा विद्यार्थी संघ, संगठनले तालमेल गरी सहमतिमै स्ववियुको उम्मेदवारी दर्ता गरेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु र नेपाल समाजवादी विद्यार्थी युनियनबीच सहमतिमा उम्मेदवारी दिने सहमति शुक्रबार जुटेको थियो ।

सभापतिसहित १५ सदस्यमा चार विद्यार्थी संगठनले भागबन्डा गरेका हुन् । तालमेल गरी उम्मेदवारी दिएपछि गोरखा क्याम्पसको सवै पदमा एकल उम्मेदवारी परेको छ । प्रत्यक्षतर्फ सभापतिमा विष्णु पाण्डे, सचिवमा परशुराम भट्ट र कोषाध्यक्षमा सुस्मीता दुवाडीको उम्मेदवारी परेको निर्वाचन अधिकृत शिवदक्त दवाडीले बताए । पाण्डे र दुवाडी अखिल क्रान्तिकारीनिकटका हुन भने भट्ट नेविसंघ निकटका हुन् ।

गोरखा–९ को द्रव्यशाह बहुमुखी क्याम्पसको सभापति पदमा भने दुई जनाको उम्मेदवारी परेको छ । नेपाल विद्यार्थी संघका सौनक घिमिरे र स्वतन्त्र उम्मेदवार प्रमोदजंग कुँवरले मनोनयन दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका कुँवर पनि नेविसंघनिकटका हुन् । अन्य पदमा भने एक/एक जनाको उम्मेदवारी परेको छ । सचिवमा अखिल क्रान्तिकारीका सचिन खनाल, कोषाध्यक्षमा नेविसंघका अविन श्रेष्ठले उम्मेदवारी दिएका छन् । शुक्रबार भएको छलफलबाट गोरखा क्याम्पसको सभापतिसहित कोषाध्यक्ष र ३ सदस्य अखिल क्रान्तिकारीले लिने गरी सहमति जुटेको थियो । गोरखा क्याम्पसमा नेविसंघलाई सचिव, सहसचिव र तीन सदस्य, अनेरास्ववियुलाई उपसभापति र दुई सदस्य, नेपाल समाजवादी विद्यार्थी युनियनले दुई सदस्य पाउने गरी तालमेल भएको हो । सहमतिअनुसार द्रव्यशाह बहुमुखी क्याम्पसको सभापति नेपाल विद्यार्थी संघले पाएको छ । कोषाध्यक्षसहित तीन सदस्य नेविसंघ, उपसभापति, सचिव र ३ सदस्य अनेरास्ववियु क्रान्तिकारी, सहसचिव र १ सदस्य अनरास्ववियु, नेपाल विद्यार्थी समाजवादी युनियनले ३ सदस्य पाउने गरी सहमति जुटेको हो । त्यस्तै भवानी बहुमुखी क्याम्पसका नेपाल समाजवादी विद्यार्थी युनियनले नेतृत्व लिने सहमति जुटेको छ । प्रत्यक्ष र समानुपातिक उम्मेदवाहरू चयन गर्दा संघ संगठनका अध्यक्षहरूको संयुक्त बैठक बसी समावेशी रूपमा तोकिएको पदाधिकारी तथा सदस्यहरू बसी नियमबमोजिम चयन गर्ने पनि सहमति गरी तालमेल गरेका हुन् । सहमतिअनुसार नै उम्मेदवारी दर्ता हुने नेपाल विद्यार्थी संघ गोरखा क्याम्पस इकाइ सभापति परशुराम भट्टले बताए । ‘सहमतिअनुसार उम्मेदवारी दर्तामा संयुक्तरूपमा गरेका छौं,’ उनले भने । शुक्रबार राजनीतिक पार्टीको जिल्ला नेतृत्वसहित बसेको बैठकले स्ववियु निर्वाचनमा सहमति जुटाएको हो । सहमतिअनुसार नै उम्मेदवारी छनोट गरी अघि बढेको अखिल क्रान्तिकारीका अध्यक्ष विष्णु पाण्डेले बताए ।

प्रकाशित : फाल्गुन २८, २०७९ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?