कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

डुम्रे-बेसीसहर सडक विस्तार सुस्त

आश गुरुङ

लमजुङ — पृथ्वी राजमार्गको तनहुँ डुम्रेबाट बेसीसहर हुँदै मनाङ पुग्ने डुम्रे–बेसीसहर सडकलाई २५ वर्षपछि डबल लेन बनाउने काम थालिएको छ । तर तनहुँ खण्डको पाउँदीसम्म २४ किलोमिटरअन्तर्गत पहिलो चरणकै काम ‘कछुवा’ गतिमा भइरहेको छ ।

डुम्रे-बेसीसहर सडक विस्तार सुस्त

दोस्रो वा अर्को चरणको काम कहिले हुने हो भन्ने निर्क्योल छैन । पाउँदी–बेसीसहर १८ किलोमिटर र बेसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्म ६५ किलोमिटर छ ।

‘सडक फराकिलो बनाउने काम भइरहेको छ । पानी नपर्दा धुलोमैलो र पानी परेपछि हिलोले हिँड्नै भएको छैन । छिटो बनाइदिए हुन्थ्यो,’ बेसीसहर–काठमाडौं माइक्रोबस चालक टसबहादुर गुरुङले भने । उनका अनुसार माटो थुपारेर मात्र राखिएको छन् । कतिपय ठाउँमा काम अलपत्र छोडिएको छ ।

डुम्रेबाट प्रवेश गर्ने यो सडकले २ जिल्ला पुगिन्छ । तर, यसको शूरुवात बिन्दुमा भर्खर २ लेनको सडक बनाउन थालिएको छ । ‘मनाङसम्मै डबल लेनको चाहिन्छ । भर्खर तनहुँतिर भइरहेको छ । लमजुङ कहिले आइपुग्ने ? मनाङसम्म पिच कहिले हुने ? डबल लेनको के कुरा ?’ मनाङ ङिस्याङपालिका अध्यक्ष कान्छा घलेले भने ।

डुम्रे–बेसीसहर–चामे सडक आयोजनाले डुम्रेको शून्यबिन्दुबाट २ सय २० मिटर अगाडिदेखि ८.३ किलोमिटर चाम्बाससम्म पहिलो चरणमा २ लेन सडक निर्माण गरिरहेको छ । पहिलो चरणमा कुल ८ किलोमिटर ८० किलोमिटर सडक २ लेनको कालोपत्र गर्न २०७८ वैशाख २२ मा आशिष अनेस्ट जेभीले सम्झौता गरेको छ । निर्माण सक्न साढे ७ महिना बाँकी रहँदा ४८ देखि ५० प्रतिशत मात्र काम सकेको आयोजनाको दाबी छ ।

सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर पुरुषोत्तम अधिकारीले ४८–५० प्रतिशत काम सकिएको दाबी गरे । उनले टेवा पर्खाल निर्माण ९५ प्रतिशत सकिएको बताए । स्ल्याब कल्भर्ट र पाइप कल्भर्टको काम अन्तिम चरणमा छ । नाली निर्माण आधा सकिएको छ । नालीको काम भइरहेको ठाउँमा पिचको लागि सवग्रेड (कालोपत्रका लागि सतह मिलाउने कार्य) भइरहेको छ । २ किलोमिटर सवग्रेड पूरा गरिएको छ,’ उनले भने ।

सडकमा रहेका विद्युत्का २० वटा र टेलिफोनका १८ वटा खम्बा हटाउनुपर्नेमा काम प्रभावित भएको अधिकारीले बताए । ‘काम केही ढिला भएको थियो । अब ठेक्का सम्झौताको म्यादअनुसार सकिन्छ,’ उनले भने ।

सडक कार्यालय प्रमुख इन्जिनियर अच्युत विलास पन्तका अनुसार पहिलेभन्दा अहिले काम छिटो भएको छ । ‘हामी तोकिएको समयमा सडक निर्माण सक्नुपर्छ भन्नेमा छौं । म्याद थप्ने प्रयोजनतर्फ लाग्नु हुँदैन,’ उनले भने । उनले निर्माणकार्य तोकिएको समयमा सक्न ताकेता भइरहेको बताए । उक्त सडक निर्माणका लागि भ्याट र पीएसबाहेक करिब ७५ करोड ९५ लाखको स्टेमेट गरिएकोमा आशिष अनेस्ट जेभीले करिब ३८ करोड १० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको हो ।

यसअघि ३.७५ मिटरको क्यारिज वे (भारवाहन सडक) रहेको यो सडक ‘क्यारिज वे’ ७ मिटरको हुने सडक आयोजनाले जनाएको छ । दायाँबायाँ १/१ मिटरको ‘सोल्जर’ हुने उक्त सडकमा आवश्यकता अनुसार १/१ मिटरको नाली निर्माण भइरहेको छ । डुम्रे–बेसीसहर सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुनेछ । यो सहायक राजमार्ग हो । यसमा १०/१० मिटरको लगतकट्टा भइसकेको छ । अधिग्रहण गरेकोमध्ये चौडाइ ११ मिटरमा सडक संरचना निर्माण हुने आयोजनाले जनाएको छ ।

तनहुँको डुम्रेबाट २०२९ मा खन्न सुरु गरिएको सडक बेसीसहरको ४२ किमिसम्म पुर्‍याउन साढे १ दशक लागेको थियो । २०४६ मा ट्र्याक खुलेकोमा २०५२ देखि सिंगल लेनको कालोपत्र थालिएको थियो । ४ वर्षमा ४२ किमि कालोपत्र भएपछि यो सडकको उद्घाटन गरेका थिए ।

प्रकाशित : फाल्गुन १६, २०७९ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?