कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंपछिको वर्षाले किसानलाई राहत

अनिश भट्टराई

पोखरा — अघिल्लो वर्ष हिउँदमा प्रसस्त पानी पर्दा पोखरा २१ कृष्तीका उमनाथ सुवेदीको सुन्तला खेती फस्टायो । उनले ५ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरे । यस वर्ष भने हिउँदमा खडेरी लाग्दा उनलाई अघिल्लो वर्षको जति व्यापार नहुने चिन्ता थियो ।

दसैंपछिको वर्षाले किसानलाई राहत

वर्षा नहुँदा सुन्तलाका रुखमा पात बटारिने, मल नभिज्ने जस्ता समस्या भोगे । सुन्तला बेर्ना पनि ओइलिएपछि उनी चिन्तित थिए । पोखरा र आसपासका क्षेत्रमा दसैंको दिनपछि वर्षा हुन सकेको थिएन ।

बिहीबार पोखरामा परेको वर्षापछि भने किसानहरुलाई केही राहत मिलेको छ । केही दिन अझै वर्षा भए आफ्नो खेतीलाई थप राहत मिल्ने सुवेदी बताउँछन् । ‘असाध्यै राम्रो पानी पर्‍यो, डेढ घण्टा जति परेको पानीले माटोलाई भिजायो,’ उनले भने ।

सुन्तलाका बोटमुनि राखेको मल पनि भिजेको र पातमा बसेको धुलो पनि हटाएको उनले बताए । यस वर्ष बिक्री हुने गरी सुन्तला नै उत्पादन नहुने हो कि भन्ने उनको चिन्ता केही भए पनि हटेको छ । ‘अघिल्लो वर्षजतिको व्यापार नभए पनि व्यापार गर्न सकिन्छ कि भन्ने विश्वास बढेको छ,’ उनले भने ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरिया पोखरामा लामो खडेरीपछि परेको पानीले कृषि उब्जनीमा सहयोग गर्ने बताउँछन् । ‘मलाई यति लामो खडेरी थाहा थिएन, दसैंपछि बल्ल पानी पर्‍यो, किसानलाई पक्का फाइदै छ,’ उनले भने । उनका अनुुसार वर्षाले गहुँ, तोरी, आलु, बेमौसमी बालीलाई फाइदा पुर्‍याएको छ ।

४ महिनाभन्दा बढीको खडेरीले हिउँदे बालीलाई असर गरेको छ । अघिल्लो वर्षको तुलानामा तोरीको उत्पादन ४० प्रतिशत घट्ने कडरियाको अनुमान छ । लगाएका तोरीले पानी नपाउँदा सुकेर फल्न नपाएको उनले बताए ।

पोखरा २३ ठूलाखेतका छविलाल तिमिल्सिनाले अघिल्लो वर्ष तोरीको उत्पादन राम्रो भएपछि यस वर्ष पनि लगाएका थिए । तर तोरी लगाएर उनलाई अहिले पछुतो लागेको बताए । ‘अघिल्लो वर्ष १० मुरी तोरी उब्जिएको थियो । अहिले ३० पाथी पनि नपुग्ला,’ उनले भने । हिउँदमा वर्षा नहुँदा उनको आलु उत्पादन पनि घट्ने अनुमान छ । अघिल्लो वर्ष तिमिल्सिनाले ७० बोरा आलु त्यहींको पञ्चकोशी कृषि सहकारीमा स्टोर गर्न दिएका थिए । तर अहिले भने २० बोरा आलु राख्ने अवस्था पनि नभएको उनको आकलन छ । पानी नपर्दा आलुमा किरा लागेको, बढ्नुपर्ने जति नबढेपछि उनको उत्पादन घटेको हो । अब केही दिन अझै पानी परे आफूहरुको उत्पादन बढ्ने उनको आशा छ ।

बिहीबार पोखरामा हल्का वर्षा भए पनि लेखनाथ क्षेत्रमा भने असिनासहितको पानी परेको थियो । असिना परेपछि त्यस क्षेत्रमा लगाइएका तरकारी बालीलाई भने असर पुगेको छ । भर्खरै राखेका फलफूल तरकारीका बेर्नालाई असिनाले बिगारेको त्यहाँका किसानको गुनासो छ । छिन्न बाँकी तोरी पनि सखाप भएको उनीहरुको दुखेसो छ ।

पोखरा ३१ का पदमराज तिवारी केही दिनमै काँक्रो लगाउन खाल्टा बनाएर राखेका थिए । बेर्ना पनि राम्रै उम्रिएका थिए । तर बिहीबारको असिनाले काँक्राका बेर्ना सबै बिगारेको उनले बताए । ‘यतिको लामो खडेरी हटेको खुसीकै कुरा हो । तर असिनाले लगाउन तयार बेर्नाहरु ध्वस्तै पार्‍यो,’ उनले भने । चारैतिरबाट हावाहुरी सहित पानी परेपछि बेर्ना जोगाउने समय उनले पाएनन् । काँक्रोसहित बन्दा, काउली, घिरौंलाको बेर्ना बिगारेको उनले बताए ।

प्रकाशित : फाल्गुन ११, २०७९ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?