यान्त्रिक हलो आयो, हलगोरु छुटे- गण्डकी - कान्तिपुर समाचार

यान्त्रिक हलो आयो, हलगोरु छुटे

अगन्धर तिवारी

पर्वत — एक दशकअघिसम्म फलेवास नगरपालिका–५ का ढाकाराम सुवेदीको गोठमा हलगोरु हुन्थे । पूर्वकृषि प्राविधिक सुवेदीले पछि यान्त्रिक हलो किने । कुस्माकै किसान विष्णु भुवाजीले पनि यान्त्रिक हलोले जोतेर खेती गर्न थालेको ९ वर्ष भइसक्यो ।

अचेल जिल्लाका झन्डै ७० प्रतिशत किसानले यान्त्रिक हलो मिनी ट्रिलर, पावर ट्रिलर, ट्र्याक्टर प्रयोग गर्ने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । तत्कालीन जिल्ला कृषि विकास कार्यालयले आर्थिक वर्ष २०७१/७२ देखि यान्त्रिक हलो भित्र्याएर किसानलाई अनुदानमा वितरण सुरु गरेको थियो । तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत (हाल गण्डकी प्रदेश कृषि निर्देशक) बासुदेव रेग्मीका अनुसार कृषि कार्यालयले आव २०७४/७५ सम्म ५ सय यान्त्रिक हलो वितरण गरेको थियो । कृषि ज्ञान केन्द्रको पछिल्लो तथ्यांकअनुसार आव २०७५/७६ यताका ४ वर्षमा केन्द्रले १३ सय यान्त्रिक हलो वितरण गरिसकेको छ ।

स्थानीय सरकारले पनि कृषिमा विनियोजन हुने अधिकांश रकम यान्त्रिक हलोमै खर्चने गरेको छ । जिल्लाका सातवटै पालिकाले बर्सेनि २ सय हाराहारीमा यान्त्रिक हलो वितरण गर्ने गरेको ज्ञानकेन्द्रका सूचना अधिकारी एवं कृषिप्रसार अधिकृत विश्वास काफ्लेले बताए । त्यसबाहेक विभिन्न परियोजना, विभिन्न गैरसरकारी संस्था, दातृ निकायले समेत अनुदानमा यान्त्रिक हलोलाई नै प्राथमिकतामा राखेको पाइन्छ । जिल्लामा ५३ हजार ६ सय ८६ हेक्टर जमिनमध्ये २८ हजार ५ सय ९३ हेक्टरमा खेतीयोग्य जग्गा छ । तर, पछिल्लो दशक खेतीयोग्य जमिन मासिँदै जाँदा करिब २४ हजार हेक्टरमा मात्रै खेती हुँदै आएको छ । भइरहेको खेतीयोग्य जमिनमध्ये पनि झन्डै सात हजार हेक्टरमा मात्रै बाह्रै महिना सिँचाइ सुविधा छ ।

यान्त्रिक हलोका कारण थोरै जनशक्तिमा अधिक क्षेत्रफलमा खेती लगाउन सहज भएको छ । गाउँघरमा कृषि मजदुर नपाइने, कम समयमा धेरै खेती गर्न नसकिने, आवश्यक परेका बेला हलगोरु नपाइने, साँघुरा सुर्कामा खनजोतका लागि बाउसेको अभावलगायत समस्यालाई यान्त्रिक हलोले हटाएको छ । तर कृषिको यन्त्रीकरणले खेतीपातीमा सहजता भए पनि गोबर मलको अभाव हुन थालेको किसान बताउँछन् ।

सुवेदीले भने, ‘गाउँघरमा गोरु पाल्न छोडेपछि दाइँ हाल्ने गोरुको अभावदेखि गोबर मलको अभाव हुन थाल्यो ।’ प्रतिरोपनी साढे ३ मुरीसम्म धान उत्पादन हुने खेतमा प्रांगारिक मलकै अभावमा उत्पादकत्व ४० प्रतिशतसम्म घटेको उनले बताए । व्यावसायिक खेती गर्दै आएका कुस्मा–७ का भुवाजीले पनि बेमौसमी तरकारी उत्पादनमा ह्रास आउनुका साथै रोग, कीराको प्रकोप पनि बढेको बताए । ‘गाईबस्तुको मल र पिसाबले उत्पादनमा निकै सहयोग गर्थ्यो,’ उनले भने, ‘अहिले मलदेखि विषादीसम्म रासायनिक नै प्रयोग गर्दा असर परेको छ ।’ रासायनिक मल र विषादीको प्रयोग अस्वाभाविक रूपमा गर्दा त्यसले माटोमा समेत गम्भीर असर पारेको कृषि ज्ञानकेन्द्र प्रमुख थापा बताउँछिन् ।

प्रकाशित : माघ २४, २०७९ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्

कर्णालीमा उत्पादन हुन्छन् १० प्रकारका आयुर्वेदिक औषधि

औषधि उत्पादनका लागि प्रदेश सरकारबाट वार्षिक १० देखि १५ लाखसम्म सहयोग
तृप्ति शाही

वीरेन्द्रनगर — कर्णालीमै १० प्रकारका आयुर्वेदिक औषधि उत्पादन हुँदै आएको छ । वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले अश्वगन्धा, सितो पलादी, आमलकी, अविपतिकर, अमृत चिया, पिडाहर तेललगायत औषधि उत्पादन गरिरहेको छ । अस्पतालले ग्यास्ट्रिक, पेटको रोग, बाथलगायतका बिरामीको उपचारका लागि २०७७ सालबाटै ती औषधि उत्पादन गरिरहेको हो ।

उत्पादित औषधिहरू अस्पताल र कर्णालीका अन्य जिल्लाका आयुर्वेद संस्थाहरूबाट निःशुल्क रूपमा वितरण गरिँदै आएको छ । यसरी उत्पादन हुने औषधिहरू बनाउन कार्यालयले कृषकहरूबाट सिधै जडीबुटी खरिद गर्ने अस्पतालका प्रमुख डा. शंकरप्रसाद रिजालले बताए । उनका अनुसार कर्णालीका किसानहरूबाट जडिबुटीहरू किनेर औषधि उत्पादन भइरहेको हो । कर्णालीमा उपलब्ध नभएका जडीबुटीहरू भने नेपालगन्ज, काठमाडौं र भारतसम्मबाट ल्याउने गरिएको छ ।

औषधि उत्पादनका लागि अस्पताललाई प्रदेश सरकारले सहयोग गर्दै आइरहेको छ । जसका लागि वार्षिक १० देखि १५ लाखसम्म बजेट प्रदेश सरकारले व्यवस्था गरिरहेको डा. रिजालले बताए । उनका अनुसार यो वर्ष ७ लाख रुपैयाँ प्रदेश सरकारले दिएको छ । प्रदेश सरकारबाट बेच्ने अनुमति पनि नलिएकाले बिक्री भने हुन नसकेको उनको भनाइ छ । ‘अहिले स्रोतसाधन पर्याप्त नहुँदा कम मात्रै औषधि उत्पादन भइरहेको छ,’ उनले भने, ‘बजेट र जनशक्ति पर्याप्त भए आयुर्वेद औषधिहरूको बजारीकरण गर्न सकिन्छ ।’ उनका अनुसार औषधि उत्पादनका लागि कार्यालयकै जनशक्ति प्रयोग भइरहेको छ । आवश्यक स्रोत र जनशक्ति भए देशबाहिर पनि औषधि पठाउन सकिने उनी बताउँछन् । ‘यस्तो भयो भने करोडौं पर्ने जडीबुटीहरूलाई कौडीको मूल्यमा बेच्न पर्दैन,’ उनले भने, ‘कर्णालीको आर्थिक कारोबार बढाउन पनि सहयोग पुग्थ्यो ।’ उनका अनुसार कार्यालयमा कर्मचारीको पनि अभाव छ । डा. रिजालका अनुसार २६ जनाको दरबन्दी भएको संस्थालाई १० कर्मचारीले मात्र धानिरहेका छन् ।

कार्यालयको कार्यक्षेत्र धेरै भए पनि कर्मचारीको संख्या कम हुँदा काम गर्न समस्या भएको उनले गुनासो गरे । अस्पतालमा दैनिक १ सय बिरामीसम्मले उपचार सेवा लिइरहेका छन् । अध्ययन–अनुसन्धानका लागि पनि कार्यालयबाटै काम भइरहेको उनले बताए । ‘आयुर्वेद औषधि उत्पादन र प्रशोधन गर्ने काम पनि संस्थाले गरिरहेको छ,’ उनले भने, ‘एकै संस्थाले धेरै काम गर्दा धेरै लोड पर्‍यो ।’

प्रकाशित : माघ २४, २०७९ ०७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×