१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अलमलमै बिते गण्डकी प्रदेशसभाका ५ वर्ष

कास्की — गण्डकी प्रदेशसभा स्थापना भएको आइतबार ५ वर्ष पूरा हुँदै छ । पहिलो कार्यकाल अलमलमै बितेको पूर्वसांसद बताउँछन् । प्रदेश संरचना नयाँ भएकाले पनि सिक्दै काम गर्नुपर्ने हुँदा अन्जानमै समय बितेको उनीहरूको भनाइ छ । 

अलमलमै बिते गण्डकी प्रदेशसभाका ५ वर्ष

‘संघीय सरकारको अनुभव लियौं, स्थानीय सरकार पनि पहिलेकै हुन् । संघियता कार्यान्वयन भएसँगै नयाँ स्थापना भएको प्रदेश संरचनाले अझै पूर्णता पाएका छैनन्,’ गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धिताल भन्छन्, ‘पहिलो कार्यकालमा संघीयताको जग बसाल्ने काम भयो अब दोस्रो कार्यकालमा यसलाई पूर्णता दिन्छौं ।’ सभामुख धितालले प्रदेश सरचना बलियो हुनु भनेको संघीयता बलियो हुने बताए । ‘प्रदेश संरचना चाहिँदैन भनेर विरोधका आवाज उठिरहेका छन्,’ उनले थपे, ‘यसो भन्नु समावेशिताको पनि विरोध गर्नु हो ।’

पूर्वसांसद मायानाथ अधिकारीले संघीयताको जग बसाल्ने काम भएको बताउँदै संरक्षण गर्ने जिम्मा नयाँ सांसदको रहेको बताए । ‘पहिलो पटक अनुभव लिने अवसर पायौं,’ उनले भने, ‘अब संस्थागत गर्नुपर्ने छ । हामीले कानुन, संरचना, नीति नियम त बनायौं तर, प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेनौं ।’ पहिलो कार्यकालमा अनुभव नभएको भन्दै निहुँ पार्ने बाटो थियो तर, दोस्रो कार्यकालका सांसदलाई अब उम्किने बाटो छैन ।

पूर्वसांसद गायत्री गुरुङ संघीयताको सवल पक्ष प्रदेश संरचना रहेको बताउँछिन् । ‘प्रदेश बलियो भए नै संघीयता बलियो हुने हो,’ उनी भन्छिन्, ‘प्रदेश संरचनाप्रति हेरिने दृष्टिकोणलाई चिर्न अहिलेका सांसदलाई निकै चुनौती छ ।’ प्रदेशसभाबाट ५९ वटा ऐन पारित भएका छन् । ६० सदस्यीय प्रदेशसभामा पहिलो कार्यकालमा २७ सिटले एमाले पहिलो पार्टी थियो । १५ सिटसहित कांग्रेस दोस्रो, १२ सिटसहित माओवादी केन्द्र तेस्रो स्थानमा थिए । राष्ट्रिय जनमोर्चाका तीन सांसद थिए भने, स्वतन्त्र सांसदको पनि सहभागिता थियो । पहिलो कार्यकालमा दुई विशेष र १० वटा अधिवेशन सम्पन्न भए । यस अवधिमा संसद् २ सय ४० दिन सञ्चालन भयो । जसमा ३ सय १ बैठक सम्पन्न भए । यस समयमा मूल विधेयक ४२, सालबसाली विधेयक १२ र संशोधित विधेयक ५ रहेका छन् । प्रदेशको नाम र राजधानी तोक्ने काम पनि पहिलो प्रदेशसभाले गरेको थियो । यो पनि एउटा महत्त्वपूर्ण उपलब्धि थियो ।

विधायन समिति, सार्वजानिक लेखा समिति, अर्थ तथा विकास र प्रदेश मामिला समिति गरी चारवटा संसदीय समिति छन् । विधायन समितिले ३ पटक राय संकलन, लेखा समितिले ५ पटक अनुगमन, प्रदेश मामिलाले ४ र अर्थ तथा विकासले १० पटक अनुगमन गरे । अर्थ तथा विकास समितिका पूर्वसभापति दीपक कोइरालाले समितिबाट निर्देशन दिने काम भए पनि कार्यान्वयन भने खासै नभएको बताए । ‘समितिले दिएको निर्देशन मन्त्रालयबाट खासै कार्यान्वयन भएको देखिएन,’ उनले भने, ‘तर, सोधपुछ, अनुगमन गर्ने र समस्या सुन्ने साथै सरकारलाई घच्घचाउने काम नियमित भयो ।’ विगतमा केही समस्या उत्पन्न भएको पूर्वसभामुख नेत्रनाथ अधिकारी बताउँछन् । सरकार बनाउनेदेखि ढलाउनेसम्मका काम पनि प्रदेशसभाबाटै भएका छन् । पहिलो कार्यकालमा तीन वटा सरकार बने ।

प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले भौतिक पूर्वाधारको समस्या रहेको बताए । ‘भवन जीर्ण भएका छन् । नयाँ भवन निर्माण भएका छैनन् । जोखिमयुक्त भवनमा संसद् बैठक चलाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘प्रदेशसभामा रंगरोगन गरेर काम चलाउनुपरेको छ ।’ सभामुख धितालले ६४ रोपनी जग्गाको भोगाधिकार पाएकाले अब भवन निर्माणको प्रक्रिया अगाडि बढ्ने बताए । प्रदेशसभाबाट जारी भएका ऐनलाई कार्यान्वयनमा लैजान अनुगमन गर्ने तयारी उनको छ ।

दोस्रो कार्यकालको पहिलो अधिवेशन सुरु भएपछि जम्मा ४ वटा बैठक बसेको छ । यसअवधिमा गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सर्वसम्मत स्वीकृत भएका छन् । यी विधेयक कर्मचारी, कानुनका विज्ञसँग छलफल गरेर मात्र कार्यान्वयन हुने सरकारका प्रवक्ता रोशनबहादुर गाहा थापाले बताए । प्रदेशसभामा २७ सिट ल्याएर कांग्रेस पहिलो दलका रूपमा सहभागी छ । २२ सिटसहित एमाले दोस्रो, ८ सिटसहित माओवादी तेस्रो र २ सिटसहित राष्ट्रिय प्रजातन्त्र पार्टी चौथो स्थानमा छन् । स्वतन्त्र १ सांसदको पनि सभामा सहभागिता छ । पहिलो कार्यकालमा सहभागी भएको राष्ट्रिय जनमोर्चा यस पटक बाहिरिएको छ भने, पहिलो पटक सहभागी हुन नसकेको राप्रपाले यस पटक प्रवेश पाएको छ ।

प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश संरचना बलियो बनाउने हकमा गण्डकीमा सत्ता र प्रतिपक्ष कोही पनि नरहेको बताएका छन् । सरकारले आवश्यक ठाने समृद्ध प्रदेश बनाउन आफू पनि सँगसँगै हुने उनको भनाइ छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले पहिलो कार्यकालमा थाती रहेका कामलाई यस पटक पूरा गर्ने अवसर प्राप्त भएको बताए ।

प्रकाशित : माघ २२, २०७९ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?