सरकारी भवनकै छैन नक्सापास- गण्डकी - कान्तिपुर समाचार

सरकारी भवनकै छैन नक्सापास

प्रकाश बराल

बागलुङ — जिल्ला प्रशासन कार्यालयको पक्की भवन बनेर सञ्चालनमा आएको चार वर्ष भयो । तर अहिलेसम्म भवनको नक्सापास नै भएको छैन । कानुन मिच्नेलाई कारबाही गर्ने प्रशासन कार्यालयले नै गैरकानुनी रूपमा भवन ठड्याएर बसिरहेको छ । नक्सापास नहुँदा नगरपालिकामा आउने कर जम्मा भएको छैन ।


तत्कालीन भवन डिभिजन कार्यालयको प्राविधिक सहयोगमा बनेको भवन प्रयोगमा आएपछि बागलुङ नगरपालिकाले पटकपटक पत्राचार गरेर नक्सापास र निर्माण सम्पन्नको प्रमाणपत्र लिन आग्रह गरेको थियो । तर प्रशासनले वास्ता गरेको छैन । जिल्ला प्रहरी कार्यालयले पनि अहिले ठूलो आवास निर्माण गरिरहेको छ । यो भवनको पनि हालसम्म नक्सापास भएको छैन ।

भवन संहिता हेर्ने र गुणस्तर मापन गर्ने सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङमै छ । यो कार्यालयले ठूलाठूला भवनको नक्सा बनाउने, निर्माणमा अनुगमन गर्ने काम पनि गर्छ । तर यो कार्यालयको पनि निर्माणाधीन भवनको अहिलेसम्म नक्सापास छैन । नगरपालिकालाई जानकारीसमेत नदिई चारतले भवन ठड्याएको कार्यालयले नगरपालिकामा सूचीकृत गर्ने तयारी समेत नगरेको हो ।

सदरमुकाममा अधिकांश सरकारी कार्यालयका ठूलाठूला भवन र आवास बनिरहेका छन् । तर कसैले पनि नक्सापास गरेका छैनन् । आयोजना प्रमुख सुनिता श्रेष्ठले भवन निर्माण संहिता र आफ्नै मापदण्डअनुसार बनाएकाले नक्सापास नगरेको बताइन् । उनले नगरमा सूचीकृत भने गर्नुपर्ने व्यवस्था भएको स्वीकारिन् । ‘भवन बनाउँदा विज्ञ प्राविधिककै निगरानीमा बनाएका हुन्छौं, विभागबाट स्वीकृति पनि लिएका हुन्छौं, त्यसैले नगरपालिकाको प्रक्रियामा नगएको हो,’ उनले भनिन्, ‘भवन बनिसकेपछि सूचीकृत भने गर्नुपर्छ ।’ नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले हरेक भवनमा राखिने कन्टेन्जेन्सी रकमबाट कार्यालयले भवनको नक्सापास गर्न सक्ने बताए । ‘कानुन मिचेर धेरै कार्यालयले पनि घर ठड्याएका छन्,’ उनले भने, अदालतका दुई भवनको मात्रै समयमा नक्सापास र स्वीकृति दिइएको छ ।’ पटकपटक पत्राचार भए पनि सरकारी कार्यालयले निर्माण सम्पन्नको कागजात पनि नलिएको उनले बताए ।

हाल निर्माणाधीन उच्च अदालत बागलुङले भने अनुमति लिएर घर बनाउन थालेको छ । यो अदालतले नक्सापासबापतको १२ लाख रुपैयाँ कर तिरेको छ । जिल्ला अदालतले ३ वर्षअघि निर्माण सम्पन्न गरेको भवनका पनि नक्सापास गरेर निर्माण सम्पन्न प्रमाणपत्र समेत लिएको गिरीले बताए । ‘सरकारी भवनको नक्सापास दस्तुर नउठ्दा नगरपालिकालाई लाखौं रुपैयाँ नोक्सानी भएको छ,’ उनले भने, ‘अब प्राविधिक शाखाबाट नभई नगरप्रमुखका तर्फबाट ती कार्यालयमा पत्राचार गर्ने तयारी छ ।’ कर्मचारीलाई नटेरे पनि स्थानीय सरकार र सरकारका प्रमुखको आदेश भने ती कार्यालयले टेर्नुपर्ने उनले बताए ।

त्यसो त बागलुङ नगरपालिकाभित्रका निजी घर पनि नक्सापास नगरी बनिरहेका छन् । केही पहुँचवालाले नक्सापासै नगरी आफूखुसी होटल तथा ठूला घर बनाएका छन् । यसरी घर बनाउँदा कन्सल्ट्यान्टबाट नक्सांकन गरेर सिधै घर बनाएकाले नगरपालिकामा वास्तै नगरेका हुन् । ‘जब उनीहरूलाई ऋण लिनुपर्छ, वा अन्य अप्ठ्यारो पर्छ अनि मात्र नक्सापास प्रमाणपत्र बनाइदिन आउँछन्,’ नगर उपप्रमुख राजु खड्काले भने, ‘भवन एकातर्फ बनेको छ, अर्को प्रकारको पास गर्न खोज्ने पनि छन् ।’ उनले यो विषय गम्भीर भएकाले खोजी गरी प्रक्रियामा ल्याउने बताए । बजारभित्र सडकको मापदण्ड मिचेका, अन्य सुरक्षाको मापदण्ड पालना नगरेका तथा तोकेभन्दा बढी अग्ला घरको नक्सापास भने भएको छैन ।

नगरपालिकाको नक्सा शाखाका अनुसार बागलुङ बजारमा ४ हजार घरले नक्सा पास गराएका छन् । तर अधिकांशले घर निर्माण सम्पन्नताको प्रमाणपत्र लिएका छैनन् । घर बनाउने बेला स्वीकृति लिए पनि मापदण्ड अनुसार नबनाएका, नक्सा फेरेकाहरूले सम्पन्नता लिन नसकेको इन्जिनियर गौरव शर्माले बताए । नक्सा शाखाको रेकर्डमा भएका यतिका धेरै घरमध्ये झन्डै एक हजार घरले मात्र काम सम्पन्न भएको प्रमाणपत्र लिएका छन् । कर चुक्ता प्रमाणपत्र लिनका लागि पनि घरको सम्पन्न प्रमाणपत्र चाहिन्छ । ‘अझै ३ हजार बढी घरलाई सम्पन्न दिनुपर्ने बाध्यता छ,’ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भने, ‘हरेक नागरिकलाई जिम्मेवार बनाउन भवन सम्पन्न गर्ने प्रावधान दिइएको छ ।’ नगरपालिकाले चालु वर्षदेखि हरेक घरको प्लास्टर सकेपछि मात्र निर्माण सम्पन्न प्रमाणपत्र दिने व्यवस्था गरेको छ । उक्त व्यवस्थाको कतिपयले विरोध गरेका छन् ।

बानपा–२ मा निर्माण भएको एक पेट्रोल पम्पमाथि होटलसमेत बनेकाले नक्सापास भएको छैन । पम्प नै मापदण्डविपरीत बनेको छ भने त्यही घरमा होटल राखेपछि नगरपालिकाले पास गर्न नसकेको एक इन्जिनियरले बताए । ‘अरू पनि धेरै समस्या भएका घरहरू पास भएका छैनन्, तर उहाँको जोखिमसमेत भएकाले पास गर्नै मिल्दैन,’ ती इन्जिनियरले भने, ‘जे प्रयोजनका लागि घर बनाएको हो सोही प्रयोजनकै उपयोग हुनुपर्छ ।’ ५ तलाभन्दा अग्ला तथा एक हजार वर्गफिटभन्दा बढीको घर बनाउनु परेमा माटो परीक्षण गरेर स्वीकृति भएपछि मात्रै बनाउन पाउने प्रावधानसमेत छ ।

प्रकाशित : माघ २२, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्

आंगिक क्याम्पसमा समुदायको भर

प्रकाश बराल

बागलुङ — बागलुङको धौलागिरि बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस भए पनि यहाँको मुख्य आर्थिक भार भने समुदायको काँधमा परेको छ । सरकारी क्याम्पस भएपछि यहाँका अधिकांश संकाय समुदायको सहयोगमा सञ्चालन भएका हुन् ।

सरकारी बजेटमा चलेका संकायमा विद्यार्थी संख्या न्यून छ भने समुदायका लगानीमा चलेका संकायमा विद्यार्थी खचाखच छन् ।

आंगिकतर्फ यहाँ मानविकी र शिक्षाशास्त्र संकाय सञ्चालनमा छ । मानविकीतर्फ १ सय ११ र शिक्षाशास्त्रतर्फ ७ सय ८५ जना विद्यार्थी छन् । तर, समुदाय र विद्यार्थीको शुल्कबाट सञ्चालित बीबीएसमा १ हजार ७५ जना, विज्ञान संकायमा ८० जना, बीबीएतर्फ १ सय ५६ जना र समाजशास्त्र, मानवशास्त्रको स्नातकोत्तर तहमा २८ जना विद्यार्थी छन् । त्यस्तै स्नातकोत्तरतर्फ एमबीएसमा पनि ६८ विद्यार्थी गरी जम्मा २ हजार ३ सय ३६ विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख प्रा. रामप्रसाद उपाध्यायले बताए ।

आर्थिक भारतर्फ आर्थिक वर्ष २०७८/०७९ मा मात्रै विद्यार्थीको शुल्कबाट २ करोड ८० लाख, सटर भाडाबाट ३४ लाख, धरौटी आम्दानीबाट ४४ लाख, परीक्षा शुल्कबाट १३ लाख र सांसद कोषबाट भवन निर्माणका लागि ३२ लाख आम्दानी गरेको क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयबाट तलबस्वरुप ४ करोड ६३ लाख ३६ हजार रुपैयाँ मात्र आएको देखिएको हो । ‘समुदाय र विद्यार्थीको शुल्क नभए क्याम्पस चल्नै सक्दैन,’ क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा. दिनबहादुर थापाले भने, ‘त्रिविले स्वायत्ततामा लगेपछि समुदायको सहयोगले नै क्याम्पसहरू चलाउन सकिएको हो ।’ शिक्षण शुल्क महँगो भएको गुनासो आए पनि आफ्नै खर्चमा सञ्चालन गर्नु पर्दाको परिणति भएको बुझ्नुपर्ने उनले बताए ।

यहाँ ७३ जना प्राध्यापक र २६ जना कर्मचारी गरी ९९ जना कार्यरत छन् । तीमध्ये ६१ ज्ना प्राध्यापक मात्रै पूर्णकालीन छन् । २३ जना प्राध्यापकलाई आन्तरिक स्रोतबाट करार गरिएको छ । तेह्र वर्षअघि सुरु भएको विज्ञान संकाय, ४ वर्षअघि सुरु भएको बीबीएलगायत शाखामा पढाउने अधिकांश प्राध्यापक आन्तरिक स्रोतबाट राखिएको हो । मानविकीतर्फ इतिहास, राजनीतिशास्त्रलगायत विषयमा भने यहाँ प्राध्यापक भएर पनि पढाइ हुने गरेको छैन, जसका कारण व्ययभार धेरै र आवश्यकताको स्थानमा लगानी कम देखिएको थापाले बताए ।

क्याम्पसले बुधबार ६०औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव उद्घाटन गर्न आएका शिक्षा संकायका डिन प्रा. चित्रबहादुर बुढाथोकीले पनि समुदायको लगानीले मात्रै शिक्षण संस्था अगाडि बढ्न सकेको बताए । उनले त्रिविको आर्थिक अवस्थाले सबै चाहना पूरा गर्न नसकिएको स्विकारे ।

उत्तीर्ण दरमा सुधार

त्रिविका अधिकांश क्याम्पसमा उत्तीर्णदर २५ प्रतिशत भएकोमा यहाँ ३५ प्रतिशत देखिएको छ । उत्तीर्ण भएकाहरू पनि अधिकांश समुदायका लगानीमा सञ्चालित संकायमा बढी छ ।

यहाँको बीबीएमा चार वर्षदेखि गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा आउने गरेको छ । शतप्रतिशत उत्तीर्ण र उत्कृष्ट अंक ल्याउने विद्यार्थीसमेत धौलागिरि बहुमुखी क्याम्पसकै छन् । गत वर्षको परीक्षामा यहाँकी प्रतीक्षा गौतम गण्डकी प्रदेशमा उत्कृष्ट भएकी थिइन् ।

गुणस्तर सुधार गर्न स्वतन्त्र विद्यार्थी युनियनले चार वर्षदेखि नै त्रैमासिक परीक्षा, आन्तरिक मूल्यांकन र अतिरिक्त क्रियाकलापमा काम गरेको थियो । ‘त्रिविको परीक्षा कुरेर बस्दा डेढ वर्षमा पनि एउटा परीक्षा भेटिँदैन, त्यसैले हामीले त्रैमासिक परीक्षामार्फत विद्यार्थीको गुणस्तर बढाउन पहल गरेका थियौं, त्यसले केही सुधार भएको छ,’ स्ववियु सभापति मनबहादुर थापाले भने, ‘यति नगरेको भए क्याम्पसको शैक्षिक अवस्था चिन्ताजनक हुन्थ्यो ।’ नियमित परीक्षा सञ्चालनका लागि विद्यार्थीबाटै शुल्क उठाएर स्ववियुको समन्वयमा क्याम्पस प्रशासनले परीक्षा सञ्चालन गर्दा गुणस्तर सुधार भएको थापाले पनि स्विकारे ।

प्रकाशित : माघ १९, २०७९ १२:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×