२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

‘सांसदको अनुभूति भएन’

कास्की — गण्डकी प्रदेशसभाका सदस्यले आफूहरूले सांसद भएको अनुभूति लिन नपाएको गुनासो गरेका छन् । शुक्रबारको प्रदेशसभा बैठकमा उनीहरूले यस्तो भनेका हुन् । 

‘सांसदको अनुभूति भएन’

कांग्रेसका भेषबहादुर पौडेलले जिम्मेवारी नपाउँदा सांसदको अनुभव गर्न नपाएको बताए । ‘खैरो कोट लगाएर प्रदेशसभाको लोगो टाँस्नुबाहेक अरू काम भएको छैन,’ उनले भने, ‘सांसद हुँ कि होइन भनेर आफैं झुक्किएँ । लोगो हेर्छु र सांसद रहेछु भन्ने लाग्छ ।’ उनले आफूहरूको जिम्मेवारीबारे प्रश्न गर्दै प्रदेशसभा बैठक पनि नियमित नहुने र सांसदका लागि बोल्ने स्थान नहुँदा जिम्मेवार हुन नपाएको बताए । उनले संसद्मा बोलेका कुरा सम्बोधन नभए आगामी बैठकमा सांसदका तर्फबाट भनाइसमेत नराख्ने बताएका थिए ।

दोस्रो कार्यकालका लागि पहिलो अधिवेशन सुरु भएयता बिहीबार र शुक्रबार प्रदेशसभाको बैठक बसेको थियो । कांग्रेसका डा.टकराज गुरुङले लमजुङमा हाइड्रो पावर निर्माण गर्दा भूमियोग्य जमिन मासिने गरी सिँचाइ विस्थापित हुन लागेको गुनासो गरे । एमालेका लीलबहादुर थापा मगरले विकास योजनाका समस्या राखेका थिए भने माओवादी केन्द्रका हरिबहादुर भण्डारीले एक निर्वाचन क्षेत्र एक सडकलगायतका विकासे योजना अलपत्र परेकाले प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । विन्दु अधिकारी पहाडीले एकल महिलाको समस्यालाई प्रदेश तहबाट सम्बोधन गर्नुपर्ने माग राखिन् ।

मालपोतमा पाउने सेवा झन्झटिलो भएको उल्लेख गर्दै उनले मालपोतमा भ्रष्टाचार पनि बढ्दै गएकाले समस्या समाधानमा ध्यान दिनुपर्ने बताइन् । सांसद प्रकाश बरालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईको प्रोजेक्ट हो या होइन भन्नेबारे सरकारले धारणा सार्वजनिक गर्नुपर्ने माग गरे । पद्मा जीसी श्रेष्ठले सरकारले ल्याएका पुराना कार्यक्रम ओझेलमा परेकाले प्राथमिकताका साथ काम गर्न सरकारलाई ध्यानाकर्षण गराइन् । सांसद फणीन्द्र देवकोटाले गोरखाको रबर उद्योगलगायत योजना अलपत्र परेकाले प्रदेशबाट चासो दिनुपर्ने माग गरे । महेन्द्रध्वज जीसीले भारत र नेपालको सिमाना क्षेत्रमा बसोबास गर्ने लोपोन्मुख जातिको संरक्षण गर्न माग गरे । सांसद सुधीर पौडेलले स्याङ्जामा उत्पादित सुन्तलाको भण्डारण राम्रो नहुँदा करोडौंका सुन्तला कुहिएको बताउँदै निर्माण गरिएको कोल्डस्टोरप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित : माघ २१, २०७९ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?