गोरखा र बागलुङ प्रजिअविहीन

गोरखा/बागलुङ — गोरखा र बागलुङ एक सातायता प्रमुख जिल्ला अधिकारीविहीन बनेका छन् । गोरखामा त सहायक प्रमुख जिल्ला अधिकारी पनि छैनन् । सिरहाबाट गोरखा खटाइएका प्रजिअ लालबाबु कवारीको सरुवा रद्द भएसँगै गोरखामा नयाँ प्रजिअको टुंगो लागेको छैन ।

गोरखा र बागलुङ प्रजिअविहीन

इलाका प्रशासन कार्यालय बुटवलबाट गोरखा सरुवा भएका सहायक प्रजिअ पुष्कर राना सरुवा भएको झन्डै डेढ साता बित्दा मंगलबारसम्म हाजिर भएका छैनन् । माघ ६ गते ४६ जिल्लाको प्रजिअ र सहायक प्रजिअको सरुवा गरेको गृह मन्त्रालयले गोरखा सरुवा भएका कवारीको मात्र सरुवा रद्द गरेको हो । त्यसपछि अरू कसैलाई पनि खटाएको छैन ।

हाल जिल्ला प्रशासन कार्यालयमा राप तृतीय श्रेणीका प्रशासकीय अधिकृत गणेश भट्टराईले निमित्त प्रजिअको जिम्मेवारी सम्हालेका छन् । ‘यसअघि सीडीओ सरुवा भएर जाँदा त्यही दिन वा भोलिपल्टसम्म नयाँ सीडीओ आइसक्नुहुन्थ्यो,’ भट्टराईले भने, ‘यस पटक ६ दिन भइसक्दा प्रजिअ को आउने भन्नेसमेत यकिन भएन ।’

गृह मन्त्रालयले सरुवाको सूची सार्वजनिक गरेसँगै सहायक प्रजिअ चित्रांगत बराल माघ ११ गते गोरखाबाट बिदाइ भएर पर्वतमा प्रजिअको जिम्मेवारी सम्हालिसकेका छन् । माघ १२ गते प्रजिअ शंकरहरि आचार्यले पनि गोरखाबाट बिदाइ भएर कपिलवस्तुको प्रजिअको जिम्मेवारी सम्हालका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन क्षेत्र र उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठको गृहजिल्ला गोरखामा गृह मन्त्रालय आफैंले गरेको सरुवा र सरुवा बदरले प्रजिअको टुंगो छैन ।

प्रजिअ नहुँदा जिल्ला प्रशासनको मुद्दा फैसला र आर्थिक कारोबारको काम ठप्प बनेको छ । भट्टराईले अहिले प्रशासन नेतृत्वविहीन बने पनि सेवा प्रवाहलाई असर नपरेको दाबी गरे । गोरखाको प्रजिअका बारे एक/दुई दिनमा निर्णय हुने गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । झन्डै चार दशकको अवधिमा गोरखामा ४७ जना प्रजिअ फेरिएका छन् । पछिल्ला केही वर्षयता जिल्लाको केही प्रजिअ एकवर्षे कार्यावधिसमेत पूरा नगरी सरुवा भएका छन् । २०७२ माघ ६ गते गोरखाको प्रजिअ बनेर हाजिर गरेका बलदेव गौतमको ४३ दिनमै सरुवा भएको थियो ।

बागलुङका प्रजिअ रमेश ढकालको सरुवा भइसके पनि सरकारले उनको स्थानमा को आउने भन्ने निर्णय सरकारले गरेको छैन । प्रजिअ नहुँदा भारतीय सेनाका निवृत्तको पेन्सनपट्टाका लागि कागजात प्रमाणित गर्ने, कार्यालय प्रमुखको नामबाट खाता सञ्चालन गर्ने र मुद्दा मामिला पर्दा निर्णयअनुसार आदेश दिने र फैसला गर्ने काम रोकिएको सहायक प्रजिअ गणेश पौडेलले बताए । यहाँ नियमित पेन्सन क्याम्प सञ्चालन हुने र उक्त क्याम्पमा आइरहने भारतीय भूपूको कागजात प्रमाणित गर्न सैनिक बोर्डले पनि प्रमुख नै खोज्ने गरेको छ ।

जनताको दैनिक काममा कुनै पनि समस्या नआएको तर केही बाध्यकारी काम मात्रै रोकिएको उनले बताए । बागलुङको प्रजिअ प्रथम श्रेणीको अधिकृत हुने व्यवस्था छ । पौडेल द्वितीय श्रेणीका वरिष्ठ अधिकृत हुन् ।

अर्को सातासम्म प्रजिअको व्यवस्था नभएमा मन्त्रालयमा खबर गर्ने तर अहिलेका लागि निर्णय कुरेर बसेको पौडेलले बताए । सहायकलाई प्रजिअको काम गर्ने अधिकार दिन मन्त्रालयको कामु भएको लिखित पत्र चाहिन्छ । अहिले उनी निमित्त मात्रै हुन् ।

जिल्ला प्रशासन कार्यालय गोरखा । तस्बिर : कान्तिपुर

प्रकाशित : माघ १७, २०७९ २२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?