दुई अध्यक्षको सहमतिअनुसार राष्ट्रपति एमालेबाटै : उपमहासचिव गुरुङ

आश गुरुङ

लमजुङ — नेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीचको सहमतिअनुसार नै राष्ट्रपति एमालेको हुने दाबी गरेका छन् ।

दुई अध्यक्षको सहमतिअनुसार राष्ट्रपति एमालेबाटै : उपमहासचिव गुरुङ

दाहाल प्रधानमन्त्री हुनेबेला दुई अध्यक्षबीच राष्ट्रपति एमालेकै बनाउने सहमति भएको उनले बताए । लमजुङको सुन्दरबजारमा सोमबार आयोजित तिलकराज पाण्डेको १८औं स्मृति दिवसलाई सम्बोधन गर्दै गुरुङले पहिलो आधा कार्यकाल माओवादी केन्द्र प्रधानमन्त्री र दोस्रो आधा कार्यकाल एमालेको सभामुख, दोस्रो आधा कार्यकाल एमालेको प्रधानमन्त्री र माओवादी केन्द्रको तर्फबाट सभामुख हुने र ५ वर्ष राष्ट्रपति एमालेकै हुने सहमति भएको बताए ।

‘कांग्रेसले जाल हान्ने काम गरेको छ । ढडिया थाप्ने काम गरेको छ । कतै ढडियामा माछा परिहाल्छ कि भनेर । त्यो सम्भावना छैन‚’ उनले भने । राष्ट्रपतिको विषयलाई लिएर राजनीति तरंगित भएको र आफूलाई समेत के हुन्छ ? भनेर नेता/कार्यकर्ताबाट बारम्बार फोन आइरहेको उनले बताए । उनले दुई अध्यक्षको सहमतिअनुसार राष्ट्रपति एमालेबाट हुने जिकीर गरे । ‘प्रधानमन्त्री आलोपालो हुन्छ । सभामुख आलोपालो हुन्छ । राष्ट्रपति पूरै समय एमालेकै हुने हो । दुई अध्यक्षबीचको सहमति त्यहीँ हो‚’ उनले भने ।

उनले राष्ट्रियताको पक्षमा स्वाधीनताको पक्षमा लड्ने शक्ति फेरि सत्तामा आएको दाबी गरे । ‘नेपालको राजनीतिक उथलपुथल देखेर दिल्ली चकित पर्‍यो । वासिङ्टन चकित पर्‍यो । शेरबहादुर देउवा प्रधानमन्त्री हुने ठाउँमा कसरी प्रचण्ड प्रधानमन्त्री भए भनेर‚’ उनले भने, ‘त्यसपछि घेराबन्दी, अविश्वास र झगडा सुरु पार्न खोजिँदै छ । जाल फ्याँक्न खोजेको छ । कांग्रेसको प्रयास विफल हुन्छ’ उनले भने ।

उनले पुँजीवादको नेतालाई प्रधानमन्त्री बनाएर समाजवादको आधार तय गर्न नसकिने बताए । उनले समाजवादको आधार तय गर्ने बाटोमा आउन एकीकृत समाजवादीलाई आग्रह गरे । एकीकृत समाजवादीले ‘पोलिटिकल डाइनमिक्स’ नबुझेको उनले टिप्पणी गरे । ‘रातारात अग्राख पलाइसक्यो, उसलाई थाह छैन । उहाँहरू आउनुहुन्छ भने हामी स्वागत गर्छौं‚’ उनले भने । एक डेढ महिनाभित्र एकीकृत समाजवादीका आधाआधी हिस्सा एमालेमा फर्किने दाबी गरे ।

उनले नेकपा एमाले कम्युनिस्टको मूल पार्टी भएको र एमालेको नीतिभन्दा अरुको फरक नभएकाले पनि एमालेसँगको मोर्चाबन्दीमा अघि बढ्नुको विकल्प नभएको बताए । उनले अहिले केन्द्र र ७ वटै प्रदेशमा कम्युनिस्टको सरकार बनेको भन्दै यसलाई ठूलो उपलब्धी मान्नुपर्ने बताए ।

सुन्दरबजार नगरपालिका २ हाँडेटारमा जन्मिएका तिलकराज पाण्डेलाई तत्कालीन विद्रोही माओवादीले २०६१ साल माघ १६ गते गोली हानी हत्या गरेका थिए । २०२१ भदौ २९ गते जन्मिएका उनी २०४९ मा तत्कालीन परेवाडाँडा गाविसका अध्यक्ष, २०५४ मा निर्विरोध गाविस अध्यक्ष, २०५४ मा तत्कालीन नेकपा एमाले जिल्ला कमिटी सदस्य हुँदै सचिवालय सदस्य, २०५६ मा तत्कालीन नेकपा एमाले सचिवालय सदस्य एवं क्षेत्र नं. २ को इन्चार्ज थिए ।

प्रकाशित : माघ १६, २०७९ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?