व्यास नगर अल्ट्रा म्याराथनको उपाधि विशाललाई- गण्डकी - कान्तिपुर समाचार

व्यास नगर अल्ट्रा म्याराथनको उपाधि विशाललाई

सम्झना रसाइली

तनहुँ — जिल्लाको व्यास नगरपालिकाले आयोजना गरेको छैटौं व्यास नगर अल्ट्रा म्याराथन २०७९ को उपाधि व्यास–७ का विशाल गुरुङले जितेका छन् । सहिद दिवसका अवसरमा नगरपालिकाले वडा नं. ५ मानुङकोटदेखि वडा नं. ८ पुलिमराङसम्मको ४४ किमि दूरीको अल्ट्रा म्याराथन ३ घण्टा २६ मिनेटमा पूरा गर्दै गुरुङले उक्त उपाधि जितेका हुन् ।

प्रतियोगितामा व्यास–६ का सहास पन्थले उक्त दुरी ३ घण्टा ३६ मिनेटमा पार गर्दै द्वितीय र आँबुखैरेनी गाउँपालिका १ का सनम गुरुङले सोही दुरी ३ घण्टा ३८ मिनेटमा पूरा गर्दै तृतीय भएका छन् ।

५७ धावकको सहभागिता रहेको प्रतियोगितामा प्रथमलाई ६१ हजार रुपैयाँ, द्वितीयलाई ५१ हजार रुपैयाँ र तृतीयलाई ३८ हजार रुपैयाँ नगद पुरस्कारबाट पुरस्कृत गरिएको छ । यस्तै, प्रतियोगितामा सान्त्वना हुने ३ जनालाई जनही १२ हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफी र मेडलद्वारा पुरस्कृत गरिएको छ ।

‘पर्यटन, धार्मिक एंव ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरपालिकाको अभियान’ भन्ने नाराका साथ आयोजित अल्ट्रा म्याराथनका लागि अलैचे, चापाघाट, अनसन चौतारी, सफासडक, भोर्लेटार चोक, बैरेनीकुमालटारी, दुम्सी खहरे, कलेस्ती, पाथ्रा, सत्रसय, बानियाँ डिही, बर्लाची, सोतीवेशी, बगुवा रिस्ती, बाहुन पोखरा गाडापानीको मार्ग प्रयोग गरिएको आयोजकले बताएको छ ।

पर्यटकीय क्षेत्र मानहुँकोट र ऐतिहासिक क्षेत्र पुलिमराङको विकासका लागि व्यास नगरपालिकाले हरेक वर्षसहिद दिवसका दिन अल्ट्रा म्याराथन प्रतियोगिता गर्दै आएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

नगरपालिकाले विगतका वर्षा खुल्ला रुपमा म्याराथन आयोजना गर्दै आए पनि यस वर्ष जिल्लावासीको सहभागितामा प्रतियोगिता आयोजना गरेको थियो । विगतका वर्षहरूमा राष्ट्रिय धावकको सहभागितामा हुँदै आएको प्रतियोगिताका विजेताले प्राप्त गर्ने पुरस्कार राशीसमेत घटाइएको छ ।

प्रकाशित : माघ १६, २०७९ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्

छुट्टाछुट्टै घटनामा २ जनाको मुत्यु

सम्झना रसाइली

तनहुँ — तनहुँमा शनिबार भएको छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । भीरबाट खसेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको मृत्यु भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जनाएका छन् ।

धमिलीकुवा सामुदायिक वनमा घाँस काट्न जाँदा भीरबाट खसेर अर्जेलको मृत्यु भएको उनले बताए ।

यसैगरी शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा ५८ वर्षीय राम सुरतको मृत्यु भएको छ । उत्तर प्रदेश जगदीशपुर बलिहरी कबिर नगर घर भएका राम बेलचौतारामा डेरामा बस्दै आएका थिए । डेरामै बिरामी अवस्थामा फेला परेका रामलाई उपचारका लागि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा लगिएकोमा शनिबार राति करिब साढे १० बजे चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ ।

दुवै घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ ८, २०७९ ११:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×