पोखरामा सहकारी सञ्चालकद्वारा आत्महत्या

दीपक परियार

पोखरा — कास्कीको पोखरा महानगरपालिका-९ शिव टोलमा एक सहकारी सञ्चालकले आत्महत्या गरेका छन् । डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ३८ वर्षीय लेखुराम खातीले आइतबार साँझ ७ बजेतिर घरमै झुन्डिएर आत्महत्या गरेको वडा प्रहरी कार्यालय बैदाम प्रमुख युवराज भण्डारीले जानकारी दिए । खाती ह्याप्पी पानी उद्योग सञ्चालकसमेत रहेको खुलेको छ । 

घटनापछि खातीकी श्रीमती सिर्जना खड्का बेहोस् अवस्थामा छिन् । उनको उपचार गण्डकी मेडिकल कलेजमा उपचार जारी छ ।

खातीमाथि बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै सञ्चालक समिति र सेयर सदस्य दबाब दिएको र ऋणको बोझले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिरक अनुसन्धानमा खुलेको छ । उनी आबद्ध सहकारी सञ्चालक समितिको आजै बैठक बसेको थियो । बैठक सकिएपछि खातीले आत्महत्या गरेको जनाइएको छ ।

मृतक खातीको खल्तीमा तिर्नुपर्ने रकम विवरणसहितको चिट समेत भेटिएको प्रहरीले जनाएको छ । खातीले धेरै ऋण रहेको र दुई/तीन दिनअघिसम्म साथीभाइसँग सापटी माग्दै हिँडेको उनका निकटस्थहरूले बताएका छन् । उनका साथी अशोक राईका अनुसार खातीमाथि चर्को ऋण थियो । पछिल्लो समय उनी कार्यरत म्यानेजर डल्फिन बचत तथा ऋण सहकारी संस्था नाजुक हुँदै गएपछि उनी दबाब महसुस गर्न थालेका थिए ।

खाती परिवार पहिले सुकुम्बासी टोलमा बस्थ्यो । उक्त घर बेचेर करिब ७ वर्षदेखि नजिकै लालपूर्जा भएको जग्गा किनेर बसेको पनि उनका साथी राईले बताए । खातीका एक छोरी र छोरा छन् ।

प्रकाशित : माघ १५, २०७९ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्

यस वर्ष मातृभाषा कविता महोत्सव नहुने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा आयोजना गर्दै आएको मातृभाषा साहित्य महोत्सव यो वर्ष स्थगित गरेको छ । प्रतिष्ठानमा कुलपतिलगायत प्राज्ञ परिषद् नियुक्त नहुँदा हरेक फेब्रुअरी २१ तारिख (फागुन ९ गते) हुने महोत्वस स्थगित भएको हो ।

प्रतिष्ठानले सन् २०१० देखि निरन्तर दुई दिने मातृभाषा गोष्ठी, बहुभाषिक कविता वाचन तथा सांस्कृतिक झाँकी प्रदर्शनको आयोजना गर्दै आएको थियो । त्यसका लागि एक महिनाअघि सार्वजनिक सूचना दिएर मातृभाषाको कविताको आह्वान गर्दै आएको थियो ।

एउटा भाषाको बढीमा दुई कविको कविता वाचनका निम्ति छनोट गरिन्छ । ती कवितालाई समेटेर ‘मातृभाषा दिवस–मातृभाषा कविता सँगालो’ संग्रह प्रकाशन गरिँदै आएको थियो । साथै राष्ट्रपतिबाट महोत्सवको उद्घाटन गरिन्थ्यो ।

प्रतिष्ठानको मातृभाषा दिवस आयोजन समितिका पूर्व उपसंयोजक पदम राईका अनुसार गत वर्ष संस्कृतलगायत ४० भाषाका कविता वाचन गरिएका थिए । युनेस्कोले सन् २०२२–२०३२ लाई ‘अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक’ घोषणा गरेको छ । ‘यही दशकको दोस्रो वर्ष नेपालको भाषा, साहित्य, संस्कृति, इतिहास प्रवर्द्धन गर्ने आधिकारिक निकाय मातृभाषाप्रति मौन रहनु हाम्रो निम्ति दुर्भाग्य हो,’ भाषाशास्त्री राईले भने ।

प्रतिष्ठान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको छ । ‘सरकारले प्राज्ञ परिषद नियुक्त गरेको छैन,’ प्रतिष्ठानका प्रशासन प्रमुख सुमन अधिकारीले कान्तिपुरसित भने, ‘कर्मचारीमात्र रहेकाले महोत्सवको आयोजना गर्ने अनुमति छैन । त्यसैले यो वर्ष मातृभाषा कविता महोत्सव सम्भव भएन ।’

यसैगरी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले भने मातृभाषा दिवसमा बहुभाषिक कविता गोष्ठी नियमित राखेको जनाएको छ । प्राज्ञिक शाखा प्रमुख सरिना गुरुङले भनिन्, ‘अन्तर्राष्ट्रिय मातृभाषा दशकको अवसरमा मातृभाषा कविता गोष्ठी गर्ने निर्णयसहित सूचना जारी गरेको छ ।’

प्रकाशित : माघ १५, २०७९ २१:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×