कुष्ठरोगीको संख्या बढ्दै- गण्डकी - कान्तिपुर समाचार

कुष्ठरोगीको संख्या बढ्दै

प्रकाश बराल

बागलुङ — रोग नियन्त्रण भएको भनिएको १३ वर्षपछि बागलुङमा कुष्ठरोगी देखिन थालेका छन् । नेपाल सरकारले गत २०६६ सालमै कुष्ठरोग निवारण गरेपछि दशकसम्म यो रोगको परीक्षण भएको थिएन । दुई वर्षअघि ३ जना र गत वर्ष ६ जना गरी ९ जना सक्रिय संक्रमित रहेकोमा चालु वर्षको पहिलो ५ महिनामै थप ७ जना बिरामी थपिएर बागलुङमा संक्रमितको संख्या १६ पुगेको क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए । 


गत वर्षको १२ महिनामा बागलुङमा ६ जनामा यो रोग भेटिएको थियो । थप भएका संक्रमितमा बडिगाड गाउँपालिकामा ३ जना, गलकोटमा २ जना तथा जैमिनी नगरपालिका र बागलुङ नगरपालिकामा एक-एक जना छन् । अघिल्लो वर्ष ढोरपाटन जैमिनीमा संक्रमित भेटिएका थिए ।

खोजी अभियान अझै जारी रहेको घिमिरेले जानकारी दिए । कुष्ठरोग लागेकाहरूले नियमित औषधि सेवन गरेमा अन्यमा नसर्ने घिमिरेले जानकारी दिए । कुष्ठरोगप्रति सामाजिक भेदभाव बढी भएकाले त्यसबारे सचेतना ल्याउनुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले बताए । ‘यो ब्याक्टेरियाबाट सर्ने रोग भएकाले धार्मिक अन्धविश्वासबारे भ्रम चिर्नुपर्छ‚’ उनले भने, ‘औषधि खान थालेपछि सर्ने दर ९९ प्रतिशत घट्छ ।’ बिरामीले आफ्नो समस्या निको हुनका लागि मात्रै ६ महिनादेखि १ वर्षसम्म औषधि सेवन गर्नुपर्छ ।

शरीरमा लाटो फुस्रो दाग देखिएमा कुष्ठरोगको सम्भावना रहन्छ । त्यस्ता मानिसले समयमै जचाउनुपर्ने घिमिरेले जानकारी दिए । कुष्ठरोग लागेपछि शरीरका अंगले घाउ भएको समेत थाहा नपाउने भएकाले अन्य संक्रमणको जोखिम पनि उत्तिकै हुन्छ । कुष्ठरोगलाई जनस्वास्थ्यको साझा समस्याको रुपमा लिएर फेरि उपचार र खोजी अभियान थाल्नुपर्ने उनले बताए । आगामी २०८२ सम्म कुष्ठरोग शून्यमा झार्ने कार्यालयको लक्ष्य रहेको उनले बताए ।

प्रकाशित : माघ १५, २०७९ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्

स्थायी ल्यान्डफिल्ड साइट बनेन

प्रकाश बराल

बागलुङ —  डेढ दशकसम्म कालीगण्डकी नदीमा फोहोर फालेको बागलुङ नगरपालिकाले अदालतको आदेशपछि ठाउँ फेरेर यहाँको काठेखोला किनारमा फाल्न थालिएको छ । अस्थायी रूपमा फोहोर फाल्न थालेको दशक बित्दा पनि नगरले अझै व्यवस्थित ल्यान्डफिल्ड साइट भने बनाउन सकेको छैन । 

पछिल्लो दशकदेखि नगरपालिकाले फेरि कालीगण्डकी करिडोर रहेको वडा १ को खुर्तुर्केमा फाल्न थालेको थियो । यो स्थान फोहोर भरिएर दुर्गन्धित भइसकेको छ । तर व्यवस्थित ल्यान्डफिल्ड साइट बनाउने योजना अगाडि बढ्न नसकेको हो ।

कहिले बजेट अभाव, कहिले स्थानीयको सहमति नभएको बहाना तथा कहिले डीपीआर बनाउने भन्दै काम अगाडि नबढेको हो । फोहोरको दिगो व्यवस्थापनका लागि व्यवस्थित ल्यान्डफिल्ड साइट बनाउने योजना बनाएर पनि कार्यान्वयन नगर्दा सडकमा यात्रा गर्नेले दुर्गन्ध व्यहोरेको गुनासो गरे । हाल फोहोर फालिएको स्थानबाट कालीगण्डकी करिडोर र मालढुंगा कुस्मिसेरा सडकमा नियमित सवारी गुड्छन् । तर हरेक यात्रीले दुर्गन्धको सास्ती खेपेको गुनासो गर्न थालेका छन् ।

अहिले पनि बजेट अभावमा त्यो काम अलपत्र भएको नगरपालिकाको भनाइ छ । वरिपरि पर्खाल लगाएर फालिएको फोहोरले भरिएपछि स्थायी ल्यान्डफिल्ड साइटको माग बढेको छ । नगरपालिकाले वार्षिक ५० लाख रुपैयाँमा उक्त फोहोरबाट नकुहिने वस्तुको निकासी ठेक्का लगाउने गरेको छ । स्थायी ल्यान्डफिल निर्माण नहुन्जेलका लागि भन्दै फालिए पनि अर्को व्यवस्था अझै अन्योल भएको हो । दस वर्षअघि नै २ करोड लागतमा बनाउने भनिएको स्थायी ल्यान्डफिल्डको डिजाइन भई सहयोगका लागि स्थानीय विकास मन्त्रालयमा माग भएको थियो ।

तत्कालीन फोहोर व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्रले रकम उपलब्ध गराउने भनिए पनि स्वीकृत नभएपछि थप काम अगाडि नबढेको हो । स्थानीय सरकार आए पनि योजना अगाडि बढाउन चासो नदिएको स्थानीयको गुनासो छ । ‘व्यवस्थित फोहोर व्यवस्थापन र ढल निकासको योजना बनाएका छौं, तर डीपीआरमा फरक परेकाले संशोधनमा गएको छ,’ नगरप्रमुख वसन्तकुमार श्रेष्ठले भने, ‘सफा नगर बनाउने काममा अगाडि बढेका छौं ।’

हरेक वर्षको नीति तथा कार्यक्रममा पनि फोहोरको दिगो व्यवस्थापनको कार्यक्रम राखिने गरिएको छ । डिजाइनअनुसारको साइट निर्माण भएमा ११ रोपनीमा फोहोर व्यवस्थापन हुनेछ । २०६६ मा खरिद गरेको जग्गालाई अझै व्यवस्थापन गर्न नसकेको स्थानीयले आरोपसमेत लगाए । फोहोर फालेपछि डढाउने गरिएकाले पटकपटक बागलुङ कालिका भगवती मन्दिर आसपासको जंगलमा आगलागीसमेत भइरहन्छ ।

प्रकाशित : माघ ७, २०७९ ०९:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×