‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने लमजुङका युवक पक्राउ- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने लमजुङका युवक पक्राउ

आश गुरुङ

लमजुङ — लमजुङ प्रहरीले ‘प्रहरी हुँ’ भन्दै ठगेर हिँड्ने एक युवकलाई पक्राउ गरेको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका– १ घनपोखराका ३५ वर्षीय जीवन गुरुङलाई पोखराबाट पक्राउ गरिएको सूचना अधिकारी इन्सपेक्टर जगदिश रेग्मीले बताए ।

सदरमुकाम बेसीसहरमा डेरा गरी विभिन्न व्यक्तिलाई विश्वास दिलाएर झुक्यानमा पारी 'जिल्ला प्रशाशन कार्यालय, हुलाक कार्यालय र कृषि कार्यालयमा जागिर लगाइदिन्छु' भन्ने र आफू ‘प्रहरी हुँ’ भनी प्रहरीमा भएका ‘केस’हरु समेत मिलाइदिन्छु भनी महिलाहरुबाट ७ लाख १७ हजार ५ सय रुपैयाँ लिएर भागेका उनलाई पोखराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । आफू ठगिएको भन्दै ४ जना महिलाले उजुरी दिएपछि ती व्यक्तिको खोजी गरी पक्राउ गरिएको इन्सपेक्टर रेग्मीले बताए ।

डीएसपी प्रकाश श्रीमलले महिलाहरुबाट रकम लिएर एकाएक सम्पर्कविहीन भएका गुरुङलाई गत मंगलबार जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटिएको प्रहरी टोलीले पोखरामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी बुधबार ल्याएका थिए । उनलाई बुधबारबाट लागू हुने गरी लमजुङ जिल्ला अदालतबाट ठगी सम्बन्धी कसूरमा दिन ५ को म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुरुमा ल्याएर अदालतबाट म्याद थप गरिएको र त्यसपछिको प्रारम्भिक अनुसन्धानबाट उनले ठगी गरेको पुष्टि भएको प्रहरीले ती व्यक्ति पक्राउ गरेको जानकारी शुक्रबार मात्रै गराएको थियो । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ अन्तर्गत यसरी ठगी गर्ने व्यक्तिलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ १४, २०७९ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्

कोदो उत्पादन बढाउन राइनसले दिन थाल्यो अनुदान

आश गुरुङ

लमजुङ — राइनास नगरपालिका–२ पन्थेडाँडा गुरुङ गाउँका ढकबहादुर गुरुङले यस वर्ष ९ सय २ किलो कोदो फलाए । नगरपालिकाबाट उनले ८ हजार ६ सय रुपैयाँ अनुदान पाए । उक्त कोदोमध्ये ७ सय ८२ किलोको अनुदान उनले पाएका हुन् । १ सय २० किलोको पाएनन् ।

प्रतिकिलो ११ रुपैयाँका दरले अनुदान पाएको उनको भनाइ छ । ‘मैले ७/८ हलमा कोदो फलाएको हुँ । घरघरै आएर कोदो नाप्दै पैसा दिए,’ उनले भने । नगरपालिकाले कोदो बढी फलाउन भनेको छ । जग्गाजमिन बाँझो नराख्न भनेको छ ।

नगरपालिकाले कोदोलाई उत्पादनका आधारमा अनुदान दिने कार्यक्रम ल्याएको कृषि शाखा प्रमुख पवन ढकाल बताउँछन् । नगरपालिकाको आर्थिक विकास समितिले प्रतिकिलो कोदोको मूल्य ५५ रुपैयाँ तोकेको छ ।

किसानलाई उत्पादन गरेबापत प्रतिकिलो २५ प्रतिशत अनुदान दिन्छ । २५ प्रतिशतले ५५ रुपैयाँको अनुदान १३ रुपैयाँ ७५ पैसा हुन आउँछ । यसमा प्रतिकिलो अनुदानको २ रुपैयाँ ७५ पैसाबापत भने बोरा दिएको ढकालले बताए । ११ रुपैयाँ भने हातहातै नगद दिएको उनको भनाइ छ ।

समितिले १ मुरीमा ८० किलो कोदो रहने निर्णय गरेको छ । नगरपालिकाले दुई मुरीको अनुदान नदिने र त्यसपछि उत्पादनअनुसारको हिसाब गरेर अनुदान दिने गरेको छ । बोराका लागि भने ५० किलोको एउटा बोरा दिने गरिएको छ । राइनासको २, ३, ४, ९ र १० वडामा अनुदान दिने काम सकिएको छ ।

१० वटा वडा रहेको राइनासमा ५ वडामा अनुदान दिने काम भइरहेको छ । यसका लागि प्राविधिक, कर्मचारी र जनप्रतिधि कोदो जोख्ने मेसिन र बोरासहित घरघरै पुग्ने गरेका छन् । हालसम्म ३ सय ५६ जनाले अनुदान पाइसकेको कृषि प्रमुख ढकालले जनाए । ती प्रत्येक किसानले दुई मुरीभन्दा बढी कोदो फलाएका छन् ।

अनुदान पाएका किसानले १ लाख ६ सय ४८ किलो (१ हजार ६ क्विन्टलभन्दा बढी) कोदो फलाएका छन् । प्रत्येक घरको १ सय २० किलोबाहेक ५७ हजार ९ सय २८ किलोको अनुदान दिइएको छ । हालसम्म ६ लाख २७ हजार २ सय ८ रुपैयाँ अनुदान दिइएको कृषि प्रमुख ढकालले बताए । उनका अनुसार ९ सय ७६ बोरा वितरण गरिएको छ ।

राइनास नगरपालिकाले कोदो खेतीलाई प्राथमिकता दिएको छ । कोदो खेती बढाउन उत्पादनमा आधारित अनुदान दिन थालिएको प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले बताए । तल्लो क्षेत्र राइनासटारमा धान फल्छ । माथिल्लो क्षेत्रमा भने कोदो फलाउने नगरपालिकाको योजना छ । यसको उद्देश्य राइनासको ब्रान्ड कोदो बनाउने तयारी हो ।

प्रकाशित : माघ १४, २०७९ ०७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×