कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गुम्बा जल्दा ३० करोडको क्षति

गोरखा — चुमनुव्री गाउँपालिका–२ ल्होको प्राचीन पुङची हिनाङ गुम्बामा गत मंगलबार दिउँसो आगलागीले २ सय वर्ष पुराना धार्मिक ग्रन्थ, मूर्तिलगायत बहुमूल्य सामग्री नष्ट गर्दा ३० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

गुम्बा जल्दा ३० करोडको क्षति

आगो झन्डै ६ घण्टापछि राति १० बजे नियन्त्रणमा आएको थियो । लिही र स्यो गाउँबाट पुगेका स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् । चुमनुव्री–२ का वडाध्यक्ष मिङगुर दोर्जे लामाले गुम्बा पूर्णरूपमा जल्न पुगेको बताए ।

बुधबार हेलिकोप्टरमार्फत हिनाङ पुगेका गण्डकी प्रदेशका सांसद नन्दप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, एसपी केदार खनालले आगलागीले क्षति पुर्‍याएको गुम्बाको स्थलगत अध्ययन गरे । क्षतिको यकिन विवरण आइनसके पनि ३० करोड बराबरको क्षति भएको हुन सक्ने स्थलगत अध्ययनमा पुगेका प्रहरी प्रमुख एसपी खनालले बताए । ‘त्यहाँभित्र के/कस्ता सामान थिए भन्ने अन्दाज गर्न सकिएन,’ उनले भने, ‘तर निकै बहुमूल्य मूर्ति, लिखतलगायतका बहुमूल्य सामानहरू सबै जलेर नष्ट भएका छन् ।’ प्रहरीले विद्युत् सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरेको छ ।

पुराना मूर्ति, ग्रन्थ सबै नष्ट भएको प्रदेश सांसद नन्दप्रसाद न्यौपानेले बताए । ‘पुराना धेरै मूर्तिहरू आगलागीले नष्ट भएको छ,’ उनले भने, ‘अब गुम्बा पुनर्निर्माणका लागि स्थानीय, प्रदेश र संघ सरकारसँग पनि पहल गर्छौं ।’ गुम्बाका प्रमुख लामा आगलागीको खबर पाएलगत्तै हिनाङ पुगेका छन् । ‘लामा पुगेपछि भित्र के–के र कस्ता सामग्री थिए थाहा हुन्छ,’ जिल्ला प्रहरी कार्यालयका गोरखाका डीएसपी लीलाराज लामिछानेले भने ।

प्रकाशित : माघ १३, २०७९ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?