१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गण्डकीको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त

पोखरा — गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल नियुक्त भएका छन् । उनले शनिबार नै प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यसमक्ष शपथ लिए । 

गण्डकीको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त

पोखरा–२६ बरालडाँडा घर भएका बराल काठमाडौंमा वकालत गर्दै आएका थिए । उनी शनिबार पोखरा आएका हुन् । मुख्यमन्त्री खगराज अधिकारीनिकटका बरालले कानुनमा स्नातक र राजनीति शास्त्रमा मास्टर डिग्री गरेका छन् ।

२०५० सालदेखि एमाले नेता सुवास नेम्बाङसँग वकालत सुरु भएका उनी २०५१ मा सर्बोच्च अदालतमा वैतनिक वकिल रहेका थिए । २०५७ मा सर्वोच्च बारको सदस्य, २०६३ मा सर्वोच्च बारकै कार्यकारिणी सदस्य भइसकेका बराल सर्वोच्च बारबाट गठित सर्वोच्च अदालतमा हुने विकृति, विसंगति एवं अनियमिततासम्बन्धी अध्ययन समिति (२०६४) को सदस्य सचिव भएका थिए । उनले केही समयअघि मात्रै वरिष्ठ अधिवक्ताको उपाधि पाएका हुन् ।

बरालले संविधान र कानुनी अधिकारको प्रयोग गर्दै प्रदेश सरकारको विकास र समृद्धिमा लाग्ने बताए । विशेष गरी कानुनी छिद्र देखाएर विकास निर्माणका काममा हुने ढिलासुस्तीको अन्त्य गर्नेतर्फ आफू लाग्ने उनको भनाइ छ । ‘प्रदेश सरकारविरुद्धका मुद्दामामिलालाई समाधान गरी कानुनतः कुनै पनि अप्ठेरो नपर्ने गरी काम गर्नेछु,’ उनले भने, ‘प्रदेशको विकास र समृद्धिमा सक्दो सहजीकरण गरी अघि बढ्नेछु ।’

प्रकाशित : माघ ७, २०७९ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?