कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

‘बादल लागेजस्तो थियो, छ्याङ्ङ भयो’

७०–८० वर्षका प्रायः वृद्धवृद्धामा मोतीबिन्दु र जलबिन्दु, महिलामा धेरै आँसु बग्ने समस्या
‘आँखा कम देख्दा कता भीरबाट खसिन्छ कि भन्ने पीर हुन्थ्यो । धन्न ! अहिलेसम्म खसिएन । अब बाटो हिँड्न सजिलो होला । पाए किताब पनि पढ्छु ।’
दीपक परियार

पोखरा — अप्ठेरो बाटो लठ्ठीको सहारामा माछापुच्छ्रे गाउँपालिका–१ ढाँडखोलाका ६९ वर्षीय नरबहादुर मगर बुधबार घाचोक आइपुगे । आँखा शिविर भइरहेको माछापुच्छ्रे स्वास्थ्य चौकी आइपुग्न उनलाई एक घण्टा लाग्यो । विशेषज्ञ चिकित्सकले उनलाई मोतीबिन्दु भएकोले शल्यक्रिया गर्नुपर्ने सुझाए । बिहीबार शल्यक्रिया भयो । शुक्रबार बिहान आँखाको पट्टी खोलेपछि उनले भने, ‘बादल लागेजस्तो थियो, अहिले छ्याङ्ङ भयो ।’

‘बादल लागेजस्तो थियो, छ्याङ्ङ भयो’

नरबहादुर गाउँमा ९९ वर्षीय आमा र श्रीमतीसँग बस्छन् । पोखरातिर काम गर्ने दुई छोरा सहरमै व्यस्त छन् । वस्तुभाउ पालेका उनले भीरपाखामा पुगेर घाँस काट्नुपर्छ । केही वर्षयता उनका दुवै आँखाले धमिलो देख्न थालेपछि उकालोओरालो गर्न अप्ठेरो भएको थियो । तर उनीसँग आँखा जचाउन जाने न खर्च थियो, न वस्तुभाउ छोडेर जाने फुर्सद नै । नजिकैको गाउँमा निःशुल्क आँखा शिविर आउन लागेको थाहा पाएपछि उनले श्रीमतीलाई घर सम्हाल्न लगाएर घाचोक आइपुगेका थिए । मोतीबिन्दुको शल्यक्रियापछि अब काम गर्न सजिलो हुने उनले ठानेका छन् । ‘आँखा कम देख्दा कता भीरबाट खसिन्छ कि भन्ने पीर हुन्थ्यो । धन्न ! अहिलेसम्म खसिएन,’ उनले भने, ‘अब बाटो हिँड्न सजिलो होला । पाए किताब पनि पढ्छु ।’

घाचोक टुसेका ५७ वर्षीय पसबहादुर गुरुङले धमिलो देख्न थालेपछि दाहिने आँखाको शल्यक्रिया ६ वर्षअघि पोखरा आएर गरे । केही वर्षपछि देब्रे आँखाले देख्नै छाड्यो । घर नजिकै आँखा शिविर आएको मौका छोपेर उनले देब्रे आँखाको पनि मोतीबिन्दुको शल्यक्रिया गरे । ‘पहिला मोबाइलको नम्बर देख्नै सक्ने थिइनँ,’ शल्यक्रियापछि उनले भने, ‘अहिले सबै प्रस्ट देख्छु । अब खेती किसानी गर्न पनि सजिलो हुने भयो ।’

माछापुच्छ्रे–३ लस्तीखोलाकी ५४ वर्षीया यामसरा राना मगरको आँखा पोल्ने, चिलाउने गर्थ्यो । हुँदाहुँदै धमिलो देख्न थालिन् । सियोमा धाँगो उन्न सकिनन् । घरमा खानेकुरा खोज्न पनि गाह्रो हुन थाल्यो । आर्थिक अवस्था कमजोर थियो । गाउँमा पहिलोपल्ट आँखा शिविर आएको उनले थाहा पाइन् । यसपल्ट फुर्सद निकालेरै आँखा जचाइन् । मोतीबिन्दुको शल्यक्रिया गरिन् । भनिन्, ‘आँखाले छर्लंग देखियो । अब सबै काम गर्न सक्छु ।’

घाचोकमा आँखा शिविरको मेसो भूतपूर्व बेलायती सैनिक दुर्गा गुरुङले मिलाएका हुन् । पोखरा–१६ अर्मलाका गुरुङको स्थायी बसोबास लामाचौरमा छ । धेरैजसो समय उनी बेलायतमै हुन्छन् । घाचोक उनको मावली गाउँ हो । गाउँमा आँखा कम देख्ने वृद्धवृद्धाको संख्या धेरै रहेको, आर्थिक अवस्था कमजोर हुँदा उपचारमा जान नसकेको चाल पाए । उनले पोखरा घर भई हाल ललितपुरको कुपण्डोलमा नेत्रधाम आँखा उपचार केन्द्र सञ्चालन गर्ने डा.सन्यम बजिमयसँग सल्लाह गरे ।

बजिमयले आफ्नो संस्था नेत्रधाम फाउन्डेसले निःशुल्क आँखा शिविरमा प्राविधिक सहयोग गर्ने वचन दिए । फाउन्डेसनका अध्यक्षसमेत रहेका उनी ६ जनाको टोलीसहित घाचोक पुगे । शिविरलाई हिमालय बैंक लिमिटेडले सहयोग गर्‍यो । माछापुच्छ्रे स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी पनि खटिए ।

शिविरमा बुधबार ३ सय ९० ले आँखा जाँच गराए । स्थानीय २६ जनाले मोतीबिन्दु र जलबिन्दुको शल्यक्रिया गरे । ‘प्राय ७०–८० वर्षका वृद्धवृद्धामा एउटा वा दुवै आँखामा मोतीबिन्दु र जलबिन्दु देखियो,’ डा.बजिमयले भने, ‘महिलामा धेरै आँसु बग्ने समस्या रहेछ ।’ गुमिसकेको आँखाको ज्योति सामान्यमा आउँदा स्थानीयमा देखिएको खुसीले सन्तुष्टि मिलेको दुर्गा गुरुङले बताए । ‘कतिपयलाई कहाँ जाने, कसरी उपचार गर्ने भन्ने पनि अन्योल रहेछ,’ उनले भने, ‘शिविरमा सोचेभन्दा बढी सहभागिता भयो । यसले जनचेतना फैलाउन पनि सहयोग पुगेको छ ।’

प्रकाशित : माघ ७, २०७९ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?