बागलुङमा टिपर खस्दा चालकको मृत्यु- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बागलुङमा टिपर खस्दा चालकको मृत्यु

प्रकाश बराल

बागलुङ — बुधबार बिहान टिपर अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर–८ सिगानादेखि बजारतर्फ गइरहेको बा २ क ९२५८ नम्बरको टिपर बुधबार बिहान साढे ९ बजेतिर खसेको थियो । 

टिपर चालक ४३ वर्षीय राजु मोक्तानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर थापाले बताए । मृतक मोक्तान हेटौंडा उपमहानगरपालिका–१४ का बासिन्दा भएको खुलेको छ ।

बागलुङ–बरेङ सडकखण्ड निर्माणमा उक्त टिपर प्रयोगमा आएको थियो । निर्माण सामग्री छाडेर फर्कंदा सडकबाट खसेको प्रहरीले बताएको छ ।


प्रकाशित : माघ ४, २०७९ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्

बस्तीमा पसेको चितुवाको उद्धार 

प्रकाश बराल

बागलुङ — बुधबार बिहान यहाँको बस्तीमा पसेको चितुवा प्रहरी र जिल्ला वनको टोलीले उद्धार गरेको छ । बागलुङ नगरपालिका वडा नम्बर–३ को गुठीस्थित रप्ता खड्काको घरमा चितुवा पसेको थियो ।

छिमेकी जुटेर हल्लाखल्ला गरेपछि फेरि उक्त चितुवा स्थानीय रामु खड्काको घरमा पुगेको थियो । प्रहरी र वनका प्राविधिक आएपछि चितुवालाई सकुसल समातेर लगेका छन् ।

‘हामीले चितुवा सकुशल समातेका छौं, प्रक्रिया पुर्‍याएर सुरक्षित स्थानमा छाड्छौं,’ प्रहरी नायब उपरप्क्षक गंगाबहादुर थापाले भने, ‘समयमा खबर भएकोले कुनै क्षति नभइ चितुवा समात्न सकियो ।’ बच्चाहरू खेल्नेक्रममा देखेपछि चिच्याएर भागेका थिए । तत्काल घरका ढोका बन्द गरेर स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

पछिल्लो समय बागलुङ नगरपालिका वडा नम्बर १, २, ३ र ४ रहेको बजार क्षेत्रमै चितुवा नियमितजसो देखिन थालेको छ । कुखुरा खाइदिने समस्या त नियमित भइरहेको स्थानीयले बताए । कालिका मन्दिर रहेको जंगल तथा स्थानीय रामरेखा सामुदायिक वन र कैलमपोखरी सामुदायिक वनमा नियमित चितुवा भेटिने गरेको हो । कालिका मन्दिरमा बेलाबेला बाघसमेत प्रवेश गरेको त्यहाँ जडान गरिएको सीसी क्यामेरामा कैद हुने गरेको छ ।

पोखरा–बागलुङ सडकखण्डको मालढुंगादेखि बागलुङ बजार आउने क्रममा पनि साँझको समयमा नियमित चितुवा देखिने गरेको यात्रीले बताए । साँझको समयमा मोटरसाइकलमा यात्रा गर्न डर लाग्ने गरेको स्थानीय महेन्द्र आचार्यले बताए । ‘घरमा नियमित आएर कुखुरा खाइदिएर हैरान बनाएको छ,’ आचार्यले भने, ‘कति पटक थाहा पाएर लखेट्छौं, बजारमा पसेको चितुवा घरभित्र, खोरमा र सडकमै पनि भेटिन्छ ।’

प्रकाशित : माघ ४, २०७९ १२:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×