बस्तीमा पसेको चितुवाको उद्धार - गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बस्तीमा पसेको चितुवाको उद्धार 

प्रकाश बराल

बागलुङ — बुधबार बिहान यहाँको बस्तीमा पसेको चितुवा प्रहरी र जिल्ला वनको टोलीले उद्धार गरेको छ । बागलुङ नगरपालिका वडा नम्बर–३ को गुठीस्थित रप्ता खड्काको घरमा चितुवा पसेको थियो ।

छिमेकी जुटेर हल्लाखल्ला गरेपछि फेरि उक्त चितुवा स्थानीय रामु खड्काको घरमा पुगेको थियो । प्रहरी र वनका प्राविधिक आएपछि चितुवालाई सकुसल समातेर लगेका छन् ।

‘हामीले चितुवा सकुशल समातेका छौं, प्रक्रिया पुर्‍याएर सुरक्षित स्थानमा छाड्छौं,’ प्रहरी नायब उपरप्क्षक गंगाबहादुर थापाले भने, ‘समयमा खबर भएकोले कुनै क्षति नभइ चितुवा समात्न सकियो ।’ बच्चाहरू खेल्नेक्रममा देखेपछि चिच्याएर भागेका थिए । तत्काल घरका ढोका बन्द गरेर स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

पछिल्लो समय बागलुङ नगरपालिका वडा नम्बर १, २, ३ र ४ रहेको बजार क्षेत्रमै चितुवा नियमितजसो देखिन थालेको छ । कुखुरा खाइदिने समस्या त नियमित भइरहेको स्थानीयले बताए । कालिका मन्दिर रहेको जंगल तथा स्थानीय रामरेखा सामुदायिक वन र कैलमपोखरी सामुदायिक वनमा नियमित चितुवा भेटिने गरेको हो । कालिका मन्दिरमा बेलाबेला बाघसमेत प्रवेश गरेको त्यहाँ जडान गरिएको सीसी क्यामेरामा कैद हुने गरेको छ ।

पोखरा–बागलुङ सडकखण्डको मालढुंगादेखि बागलुङ बजार आउने क्रममा पनि साँझको समयमा नियमित चितुवा देखिने गरेको यात्रीले बताए । साँझको समयमा मोटरसाइकलमा यात्रा गर्न डर लाग्ने गरेको स्थानीय महेन्द्र आचार्यले बताए । ‘घरमा नियमित आएर कुखुरा खाइदिएर हैरान बनाएको छ,’ आचार्यले भने, ‘कति पटक थाहा पाएर लखेट्छौं, बजारमा पसेको चितुवा घरभित्र, खोरमा र सडकमै पनि भेटिन्छ ।’

प्रकाशित : माघ ४, २०७९ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्

स्कुल छ तर कक्षाकोठा छैनन्, खुला चौरमा पढाइ

प्रकाश बराल

बागलुङ — झट्ट हेर्दा पुसको जाडोमा घाम तापेर पढेझै लाग्छ । तर यी बालबालिका केही समयदेखि खुला चौरमा पढ्दै छन् । चिसो मौसममा खुला चौरमा बस्दा हावाले पनि सताउँछ । कहिले धूलो उड्छ त कहिले चिसोले बालबालिकाको ओठमुख फुट्ने समस्या पनि छ ।


काठले बारेको, जस्तापाताले छाएको ३ कोठाको छाप्रोमा जैमिनी नगरपालिका–१० राङखानी किटेनीको जनता प्रावि सञ्चालनमा छ । विद्यालयको बोर्ड राख्ने स्थानसमेत नभएपछि भित्रै थन्क्याइएको छ । बाँसले बारेको २ कोठा भत्काइएकोले विद्यार्थी खुला चौरमा राखेर पढाइन्छ । भुँइमा गुन्द्री बिछ्याएर विद्यार्थी पढ्छन् । चिसो समयमा चल्ने हावाले बालबालिका घाम लाग्दा मात्रै चौरमा बसेर पढ्छन् । कक्षा ५ सम्म पढाइ हुने यस विद्यालय ३ कोठाको कच्ची छाप्रोमा सञ्चालित छ । एउटा कोठामा कार्यालय छ । त्यो पनि साँघुरो छ । बाँकी दुई कक्षाकोठामा पनि फर्निचरको अभाव छ । कहिले भित्र कहिले बाहिर गरेर विद्यार्थी पढ्छन् ।

पानी पर्दा पढाइ हुँदैन । ‘सबै विद्यार्थीलाई दुइवटा कक्षामा राखेर पढाउनुपर्छ,’ प्रअ कृष्णकुमारी श्रीषले भनिन्, ‘पहिलाको भवन भत्किएपछि तीन वर्षदेखि दुःख गरेर पढाइरहेका छौं ।’ २०४३ सालमा बनाएको भवन भत्केपछि ३ वर्षअघि विद्यालय छाप्रोमा सरेको थियो । गाउँमा ल्याइएको मोटरबाटोमा डोजर लगाउने क्रममा थर्केर पहिरो खस्दा विद्यालय भत्केको व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर छन्त्यालले बताए । ‘यसले पढाइ सञ्चालन गर्न सास्ती खेपिरहेका छौं, धेरै पटकको आग्रह र अनुरोधपछि बल्ल दुई कोठाको भवन पाएका छौं,’ छन्त्यालले भने, ‘चैत, वैशाखभित्रै भवन बनाइसक्ने भनेर भर्खरै छाप्रो भत्काएका हौं ।’ खुला चौरमा नराखे पनि छाप्रोमा बसेर दुःखसँग बालबालिका पढेका थिए ।’ भवन समयमा बनाउन अभिभावकले काम थालेको उनले बताए ।

राष्ट्रपति शैक्षिक सुधार परियोजनामार्फत चालु वर्षको बजेटमा २५ लाख रुपैयाँ २ कोठा भवन बनाउन विनियोजन भएको छ । भवन सम्झौता भइसकेको श्रीषले जानकारी दिइन् । २५ लाखमा २ लाख ५० हजार अभिभावकले श्रमदान गर्नुपर्ने प्रावधान छ । उक्त भवन बनिसकेपछि पनि यहाँ कक्षा पुग्दैन । समयमा भवन बनाउन सकियो भने परियोजनाले अर्को दुईकोठे भवनका लागि बजेटको आश्वासन पाएको छन्त्यालले बताए । ‘हामीले यो भवन त चैत वैशाखभित्र बनाउनै पर्छ,’ उनले भने, ‘नत्र हावाहुरी र पानी पर्दा बालालिका राख्ने ठाउँ हुँदैन ।’ पक्की भवन बनाउन सकेमा एकै कोठामा दुईवटा कक्षा भए पनि चलाउन सकिने उनले बताए ।

पक्की भवन नभएकोले कतिपय सामग्री सुरक्षामा पनि समस्या भएको शिक्षकले बताए । ‘शैक्षिक सामग्री बनाएर राख्न पनि सकेका छैनौं,’ अर्का शिक्षक प्रेमकुमारी श्रीषले भनिन् । उनले पुरानो भवनको ६ कोठा सबै भत्केकोले अहिलेको बिजोग देखिएको बताइन् । किटेनी गाउँ जैमिनी नगरपालिकादेखि साढे २ घण्टाको कच्ची सडकपछि मात्र पुग्न सकिन्छ । भौगोलिक कठिनाइले नगरवासीले बल्ल गाउँमा सडक लैजाँदै छन् । जमिन कमजोर भएकोले पहिरो खसेको स्थानीयले बताए । विद्यालयमा ३१ विद्यार्थी छन् । ३ दरबन्दी र १ निजी स्रोतका शिक्षक छन् । खानेपानी र शौचालयको भने राम्रो व्यवस्था छ ।

प्रकाशित : माघ ३, २०७९ ०९:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×