विमान दुर्घटना : सेतीको पानी घटाएर बेपत्ताको खोजी गरिँदै


पोखरा — यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ता भएकाको खोजी गर्न सेती नदीको पानी घटाइएको छ । उद्धारमा खटिएका सुरक्षा निकायको आग्रहमा जिल्ला प्रशासन कार्यालयले ४ घण्टाका लागि पानीको मात्रा घटाउन अनुमति दिएको हो ।

प्रशासनको अनुमतिमा सिञ्चाइ कार्यालयले याम्दी नजिकै रहेको ड्यामबाट बढी मात्रामा पानी सिञ्चाइ नहरतर्फ पठाएको छ । दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्मका लागि पानी घटाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए ।
सोमबार एक शव नदीमा डुबेको अवस्थामा भेटिएको थियो । उद्धारमा खटिएका सशस्त्र प्रहरी बलको गोतखोर टोलीले उक्त शव भेटाएको थियो ।
दुर्घटनामा परेका ७२ मध्ये दुई जनाको अवस्था अझै अज्ञात छ । मंगलबार भने नदीको पानी घटाएर उनीहरुको खोजी तीव्र बनाइएको हो ।
'खोजी कार्य सहज होस् भनेर पानी घटाइएको छ,' उनले भने, 'बाँकी दुई जनाको स्थिति छिट्टै पत्ता लाग्नेमा आशावादी छौं ।' हालसम्म भेटिएका ७० शवमध्ये २२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरेर परिवारलाई बुझाउने क्रम जारी छ । बाँकी शव काठमाडौं पठाइएको छ ।
प्रकाशित : माघ ३, २०७९ १६:३८