लमजुङमा पनि गोरु जुधाउने मेला

आश गुरुङ

लमजुङ — माघे सक्रांतिको अवसरमा गोरु जुधाउने मेला लमजुङमा पनि सुरु गरिएको छ । पछिल्लो समय लमजुङको राइनास नगरपालिकाका किसानहरूले पनि स्व:स्फुर्त रुपमा गोरु जुधाएका छन् ।

लमजुङमा पनि गोरु जुधाउने मेला

राइनास नगरपालिका ८ रयलेटार भेटघाट चोकमा आयोजित गोरु जुधाउने प्रतियोगितामा मित्रलाल श्रेष्ठले पालेको गोरु प्रथम भयो । फाइनलमा श्रेष्ठको गोरुले शंकर पाण्डेको गोरुलाई हराएको थियो । यस्तै मगबुल मियाको गोरु तेस्रो भयो ।

स्थानीय जगदिश पाण्डेका अनुसार राइनास नगरपालिका ८ को सहयोगमा गोरु जुधाउने प्रतियोगिता गरिएको हो । वडाले बजेट विनियोजन गरेपछि पुरस्कार वितरण गरिने उनले बताए । गत वर्ष राइनास नगरपालिकाले ५० हजार बजेट विनियोजन गरेको थियो । यस वर्ष वडा कार्यालय र नगरपालिकासँग बजेट माग गरिएको उनले बताए ।

मनोरञ्जनका लागि मात्र नभइ किसानले पालेका पशुको क्षमता र शक्ति पहिचान गर्न गोरु जुधाउन कार्यक्रम गरेको किसानहरुले बताएका छन् । ‘गोरु जुधाएपछि मनोरञ्जन प्राप्त हुने नै भयो । कसका गोरु कति बलिया छन् भन्ने पनि हुने भयो । गोरु पालेर बलिया बनाउने किसान कहलिने भए,’ पाण्डेले भने ।

किसानहरुले स्वतःस्फूर्त ३ वर्षदेखि उक्त ठाउँमा गोरु जुधाउँदै आएका छन् । यस वर्ष १० वटा गोरु जाुधाइएको थियो । वडाअध्यक्ष कृष्ण रानाभाटले गोरु जुधाइ कार्यक्रमले मेलाको रुप लिँदै आएको बताए । ‘हामी आगामी वर्षदेखि थप व्यवस्थित बनाउँछौं,’ उनले भने ।

गोरु जुधाइ हेर्न पुगेका जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङले पूर्वी क्षेत्रको तल्लो भागमा गोरु जुधाइले महत्त्व पाएको बताए । ‘यसलाई कृषक र कृषकका कर्मसँग जोड्न आवश्यक छ । यसलाई आर्थिक गतिविधिसँग जोड्न आवश्यक छ’ उनले भने ।

राइनास नगरपालिकाका निवर्तमान नगरप्रमुख सिंहबहादुर थापाले आफ्नो पालादेखि गोरु जुधाउने मेला सुरु भएको र यसको सम्वर्द्धनका लागि नगरपालिकाले अपनत्व लिनुपर्ने बताए ।

नुवाकोट, धादिङलगायत क्षेत्रमा हरेक वर्ष माघ १ गते गोरु जुधाउने मेला लाग्दै आएको छ । स्थानीय युवा प्रदिपजंग गुरुङका अनुसार भेटघाट चोकमा प्रायः भेटघाटका कार्यक्रमहरु भइरहन्छन् । माघ १ गते माघे संक्रान्तिको भेटघाट गोरु जुधाएर हुने गरेको बताए । ‘अन्यत्र पनि गोरु जुधाइ मेला नै लाग्छ । यहाँ पनि विस्तारै मेलाको रुप लिँदै आएको छ,’ उनले भने । उनले गोरु जुधाइ ऐतिहासिक परम्पराको रुपमा रहेको र यसको सम्वर्द्धन गर्न युवा अघि बढेको बताए ।

यसअघि नुवाकोट र धादिङसहितका कतिपय ठाउँमा हरेक वर्ष माघे सक्रांतिको अवसरमा गोरु जुधाउने मेला लाग्दै आएको छ । नुवाकोटको तारुकालाई भने पछिल्लो समय गोरु जुधाउने मेलाको रुपमा पर्यटकीय गन्तव्य नै बनाइएको छ ।

प्रकाशित : माघ २, २०७९ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?