३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कस्तो छ गण्डकीका सांसदको शैक्षिक अवस्था ?

पोखरा — ऐन, नियम बनाएर प्रदेशको विकास गर्ने वाचासहित गण्डकीका प्रदेश सांसदले शपथ खाइसकेका छन । संघीयतापछि दोस्रो पटक निर्वाचन भएर संघीयसँगै प्रदेश सरकार पनि बनिरहेका छन् । तर सांसदहरूको शैक्षिक अवस्था कस्तो छ ? सबैको चासो यता पनि रहने गरेको छ । गण्डकी प्रदेशका सांसदहरूको शैक्षिक अवस्था भने यस्तो रहेको छ । 

कस्तो छ गण्डकीका सांसदको शैक्षिक अवस्था ?

प्रदेशसभा सचिवालयले उपलब्ध गराएको विवरणअनुसार ६० सदस्यीय प्रदेश सांसदमा एक जनाले पीएचडी गरेका छन् । ९ स्नातकोत्तर उत्तीर्ण छन् भने १६ जनाले स्नातक हासिल गरेका छन् । यसैगरी प्लस टु वा प्रमाणपत्र तह र एसएलसी उत्तीर्णमा १६/१६ जना छन् । दुई सांसद साक्षर छन् । साक्षर सांसदमा कांग्रेसका महेन्द्रध्वज जीसी र स्वतन्त्र राजीव गुरुङ (दीपक मनाङे) रहेका छन् । कांग्रेसका डा. टकराज गुरुङले पर्यटन अर्थशास्त्रमा पीएचडी गरेका छन् । एमालेका ६, कांग्रेसका २ र माओवादी केन्द्रका १ जनाले स्नातकोत्तर गरेका छन् । स्नातकोत्तर गर्नेमा नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी, एमालेकै लिलबहादुर थापामगर, सुधिरकुमार पौडेल, सीताकुमारी सुन्दास, गोविन्दबहादुर नेपाली, देवका पहारी त्रिपाठी छन् । यसैगरी कांग्रेसका डिल्लीराम सुवेदी, जीतबहादुर शेरचन र माओवादी केन्द्रका फणीन्द्र देवकोटाले पनि स्नातकोत्तर गरेका छन् ।

यस्तै स्नातक गर्ने सांसदमा कांग्रेसका ९ र एमालेका ७ जना छन् । प्लस टु वा प्रमाणपत्र तह उत्तीर्ण गर्नेमा कांग्रेसका ९, एमालेका ५ र माओवादी केन्द्रका २ सांसद छन् भने एसएलसी उत्तीर्ण सांसदमा कांग्रेस र माओवादीका ५/५ जना, एमालेका एमाले ४ र राप्रपाका २ जना छन् । प्रदेशसभा सचिवालयले प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधिबमोजिम प्रदेशसभा सदस्यको व्यक्तिगत विवरण फाराम भर्ने क्रममा सांसदहरूले आफ्नो शैक्षिक योग्यता खुलाएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेमप्रसाद सुवेदीले बताए । ‘व्यक्तिगत विवरण फाराममा सांसदहरूले भर्नुभएको विवरणअनुसार शैक्षिक अवस्था यस्तो देखिएको हो,’ उनले भने । प्रदेशसभामा सबैभन्दा बढी कांग्रेसका २७, एमाले २२, माओवादी केन्द्र ८, राप्रपा २ र स्वतन्त्र १ सांसद छन् ।

२०७४ को निर्वाचनमा भने ८ जना स्नातकोत्तर र २१ जना स्नातक उत्तीर्ण थिए । १७ जना प्लस टु तथा प्रमाणपत्र तह र ७ प्रदेशसभा सदस्य एसएलसी उत्तीर्ण थिए । एसएलसीभन्दा कम पढेकामा ७ जना थिए ।

सांसदको शैक्षिक योग्यताले पनि ऐन, नियम बनाउनेदेखि प्रदेशको समृद्धिमा सहयोग पुग्ने राजनीतिक विश्लेषक बताउँछन् । राजनीति शास्त्रका उपप्राध्यापक कपिलमणि दाहालले तुलनात्मक रूपमा सांसदहरूको शैक्षिक अवस्थालाई सन्तोषजनक मान्नुपर्ने बताए । ‘हिजोको अवस्थामा राजनीति गर्ने मान्छे नपढेको भए पनि हुन्छ भन्ने थियो,’ उनले भने, ‘अब त्यस्तो अवस्था रहेन । राजनीति र शिक्षा अपरिहार्य रूपमा जोडिनुपर्ने अवस्था आइसक्यो ।’

प्रकाशित : माघ २, २०७९ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?