अयोध्या लगिने शिलाको क्षमा पूजा- गण्डकी - कान्तिपुर समाचार

अयोध्या लगिने शिलाको क्षमा पूजा

घनश्याम खड्का

म्याग्दी — बेनी नगरपालिका–६ सेतीपहिरो छेउको कालीगण्डकी नदी किनारामा भगवान रामको बाल्यकालको मूर्ति बनाउन भारतको अयोध्यामा लगिने देवशिलाको गर्भस्थल हिन्दु शास्त्रीय विधिअनुसार नदी र भूमिसँग छुट्टाछुट्टै क्षमा पूजा गरिएको छ ।

देवशिला उत्खनन स्थल (शिलाको गर्भस्थल) म्याग्दीको कालीगण्डकी नदी किनारामा जनकपुरबाट विमलेन्द्र निधि र अयोध्याबाट आएका गुरु राजेन्द्रसिं पंकजलगायत सन्तमहन्त तथा स्थानीय अगुवा क्षमा पूजामा सहभागी भएका थिए ।

‘कालीगण्डकी नदीमा पाइने शालिग्राम र देवशिलाहरू भगवान् विष्णुका स्वरूप र राम विष्णुका अवतार भएकाले धार्मिक आस्थासँग जोडिएको विषय हो । कालीगण्डकीका यी शिलाले अयोध्या–जनकपुरधाम र बेनी, कालीगण्डकी सभ्यतामा थम सम्बन्ध जोडिएको छ,’ देवशिला क्षमा पूजा कार्यक्रमका मूलकर्ता रहेका नेता विमलेन्द्र निधिले भने, ‘यो भावनात्मकसँग धार्मिक पर्यटनसँग पनि जोडिएको छ ।’ कालीगण्डकीलाई देवी तुलसी, गण्डकीमा पाइने शालिग्रामलाई भगवान् विष्णु र कृष्णा नदीले पवित्र बनेका शिलालाई देवशिला मानी पुज्ने चलन छ । शास्त्रीय मान्यताअनुसार शालिग्रामलाई भगवान् विष्णुको स्वरूप र रामलाई भगवान् विष्णुको बालअवतार मानिएकाले अयोध्यामा बन्ने रामलीला मन्दिरमा भगवान् रामको बालस्वरूपको मूर्ति बनाउन यहाँको शिला लगिएको हो ।

‘कृष्णागण्डकीका शिला अयोध्यामा रामको बालस्वरूप मूर्ति बनाउन लगिँदै छ । यी शिला अयोध्या मात्र होइन भारत र कालीगण्डकी, मुक्ति क्षेत्रको धार्मिक, सांस्कृतिक राजदूतका रूपमा रहनेछन्,’ अयोध्याबाट देवशिला लिन आएका गुरु राजेन्द्रसिं पंकजले भने, ‘भगवान् विष्णुको स्वरूप शालिग्राम हुन र बालस्वरूपका राम विष्णुका अवतार । त्यसैले कृष्णा गण्डकी नदीका यी शिलाका ठूलो धार्मिक अर्थ छ ।’

गत साउनमा जनकपुरस्थित जानकी मन्दिरका तर्फबाट कांग्रेस नेता निधिले अयोध्या पुगेर राममन्दिरमा रामको मूर्ति राख्न कालीगण्डकी नदीमा पाइने देवशिला उपलब्ध गराउने प्रस्ताव गरेका थिए । निधिको प्रस्ताव अयोध्याको राम मन्दिर निर्माण समितिले स्वीकार गरी जानकी मन्दिर प्रस्ताव रुविकार भएको लिखत जानकारी आएपछि मन्त्रिपरिषद् र गण्डकी प्रदेश सरकारको सहमतिमा कालीगण्डकीमा शिला खोज्ने काम थालिएको हो ।

बेनीदेखि करिब २.५ किमि उत्तरतर्फ गलेश्वरधाम छेउबाट ७ फिट लामो, ५ फिट चौडाइ र ३.५ फिट मोटाइ भएका २ थान क्वार्जराइट र क्यालासाइट देवशिला पठाउनुपूर्व क्षमा पूजा गरिएको हो । शिला भने उठाउने क्रेन र ट्रक आएपछि एक साताभित्र बिदाइ पूजासहित पठाइने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए ।

संघीय मन्त्रिपरिषद्ले गत पुस ३ गते शिला जनकपुरको जानकी मन्दिरमार्फत विवाह पञ्चमीको दिनमा अयोध्याबाट आउने रामका जन्तीलाई ‘दाइजो’ स्वरूप कालीगण्डकीका शिला पठाउने निर्णय गरेको थियो । त्यसपछि गण्डकी प्रदेश सरकारले पुस ६ गते सैद्धान्तिक सहमति जनाएको थियो । अयोध्यामा रामको मूर्ति बनाउन रामजन्मभूमि तीर्थक्षेत्र कार्यालयले कालीगण्डकीको शिला पठाउन जानकी मन्दिरलाई गत कात्तिक १९ गते पत्राचार गरेको थियो ।

भारतको सर्वोच्च अदालतले तीन वर्षअघि अयोध्याको विवादित जग्गा राम जन्मभूमि भएको फैसला सुनाएपछि उक्त जग्गामा रामलीला मन्दिर निर्माण थालिएको छ । सोही रामजन्मभूमिमा बन्ने रामका मूर्तिहरूमध्ये बालस्वरूपका रामको एक मूर्ति रहने भएको हो ।

विष्णु पुराणमा शंखचूड स्वरूपका भगवान् विष्णुले तुलसीलाई शिला भई बस्नु परोस् भनी श्राप दिएपछि शालिग्राम भइरहेको र बदलामा भगवान् विष्णुले तुलसीलाई कालीनदी भई बग्नु परोस् भनी बरदान दिएकाले शालिग्राम र कालीगण्डकीको जललाई पवित्र मानिएको कालीगण्डकी नदी सभ्यताका अध्येता कुलराज चालिसेले सुनाए ।

प्रकाशित : माघ १, २०७९ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्

म्याग्दी महोत्सव मापदण्ड विपरीत

घनश्याम खड्का

म्याग्दी — सदरमुकाम बेनीमा जारी सतौं म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषी, पर्यटन, औधोगिक ब्यापार मेला जिल्लामा हुनेगरी तयार पारिएको मेला तथा महोत्सव सम्बन्धी मापदण्ड ०७६ विपरीत भएको पाइएको छ ।

म्याग्दीका तत्कालीन प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको संयोजनमा स्थानीय तहका प्रमुख, राजनीतिक दलका अगुवा, प्रहरी, सशस्त्र, अनुसन्धान, सेनासमेत सुरक्षा अधिकारीहरु, प्रमुख प्रशासकीय अधिकृत तथा सामाजिक संघ/संस्थाका अगुवाहरुको भेलाले जिल्ला मेला तथा महोत्सव सम्बन्धी मापदण्ड ०७६ बनाई लागू गरेका थिए । उक्त मापदण्ड अझै जिल्ला प्रशासन कार्यालयको वेभसाईटमा उपलब्ध छ ।

जिल्लामा विभिन्न संघ/संस्थाको नामबाट हुने महोत्सव तथा ब्यापार मेला उद्देश्य विपरीत मदिरामय, रात्रि क्लव र झडागर्ने स्थल तथा अमर्यादिन बन्दै गएकोले महोत्सव तथा मेला संञ्चालन सम्बन्धी २२ बुँदे मापदण्ड बनाइएको स्थानीयले बताए ।

मापदण्ड अनुसार जिल्लाभित्र संञ्चालन हुने मेला-महोत्सव ७ दिन र साँझ ७ बजेभित्र बन्द गर्ने, राखिएको स्टलहरु अनिवार्या भ्याट/प्यानमा दर्ता भएको हुनुपर्ने, महोत्सव क्षेत्रभित्र मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री तथा सेवन पूर्ण बन्देज लगाइने, जुवा प्रकृतिका खेल पूर्ण प्रतिबन्ध लगाउनु पर्ने लगायत २२ बुँदा उल्लेख छन् । तर जारी म्याग्दी महोत्सव यी सवै विषयमा उदार देखिएको छ ।

‘राष्ट्रिय कानुन बाहेक स्थानीय तहमा बनेका मापदण्ड र सम्झौताहरु सुरक्षा व्यवस्थालाई ख्याल गरी समयानुकुल परिमार्जन हुन्छन्,’ प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले भने, ‘हामी जिल्लामा भीआईपीहरुको आगमन भएकोले त्यसकै व्यवस्थापनमा छौं, महोत्सवको अनुगमन भ्याएका छैनौं ।’

प्रकाशित : पुस ३०, २०७९ २०:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×